+
+

जसले भर्खर टाँका लगाएको चोट बिर्सिएर नेपाललाई जिताउन खेले

‘आधा घण्टा अगाडि उसको हातमा टाँका लगाइएको थियो । डाक्टरले खेल्न नाईं भनेको थियो’, यू–१९ का मुख्य प्रशिक्षक जगत टमाटाले अनलाइनखबरसँग भने, ‘मेन हातमा टाँका लागेको हुँदा के होला भन्ने डर थियो । तर उसले एउटा जोश देखायो, गुरु म खेल्छु भनेर गयो ।’

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ १३ गते १८:१३
अफगानिस्तानविरुद्ध विकेट लिएपछि वुद्धासनमा खुशी मनाउँदै तिलक राजभण्डारी ।

१३ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय खेलमा कुनै खेलाडी जब मैदानमा उत्रिन्छ, त्यो बेला देशभन्दा ठूलो केही हुँदैन । भोक, निद्रा, चिन्ता र चोट सबै सहन्छ, भुल्छ । देशलाई जिताउन हरप्रयास गर्दछन् । केही सफल हुन्छन्, कोही असफल ।

शुक्रबार राति आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा स्थान पक्का गर्‍यो । घाइते अवस्थामा लेग स्पिनर तिलक राजभण्डारी खेल्न नआएको भए नेपालले खेल हार्न पुग्थ्यो । किनभने नेपालको ९ विकेट गएको थियो र, उनी नआउँदा नेपाल अल आउट हुन्थ्यो ।

फिल्डिङ गर्ने समयमा घाइते भएपछि तिलकको दाहिने हातको हत्केला पछाडि दुईवटा टाँका लगाइएको थियो । अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालको ९ विकेट गएपछि उनी मैदान छिरे । उनले कुनै पनि रन जोडेनन्, तर नेपालको जितमा योगदान निकै महत्वपूर्ण दिए ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस हारेर नेपालले फिल्डिङको निम्तो पाएको थियो । आकाश चन्दले ५ विकेट लिएपछि नेपाल खेलमा हाबी भयो । तर ८८–८ को अवस्थामा रहेको अफगानिस्तानका कप्तान नसीर खान र फरीदून दाउदजईको साझेदारी तोड्न नेपाली बलरलाई निकै गाह्रो भयो ।

३६औं ओभरको तेस्रो बलमा खानले स्पिनर दीपेश कँडेललाई फाइन लेगमा चौका हाने ।

तिलकले डाइभ हानेर त्यो चौका रोक्न प्रयास गर्नेक्रममा अर्का फिल्डर आकाश त्रिपाठीले दुर्भाग्यबास उनको हातमा कुल्चिन पुगे । दायाँ हातको हत्केला पछाडि चोट लागेसँगै उनले मैदान छाडे । उनको स्थानमा फिल्डिङ गर्न बेन्चबाट विशालबिक्रम केसी आए ।

नेपालका फिजियो पुरन तिरुवा र त्यहाँ भएको मेडिकल टोलीले तिलकलाई नजिकै रहेको क्लिनिकमा लगेर उपचार गराए । उनको हातमा दुई वटा टाँका लगाइयो । उनलाई चिकित्सकले ५–६ दिन नखेल्न सुझाव दिएका थिए ।

यता खेलमा नेपालले जितका लागि १४६ रनको लक्ष्य पायो । धेरै ठूलो स्कोर नभएका कारण एक समयसम्म उनी ब्याटिङमा आउन नपर्ने देखिन्थ्यो । तर अन्त्यतिर देव खनाल र दीपक बोहरालाई गुमाएपछि नेपाली बेञ्च दबावमा पर्‍यो ।

कारण उपचार गराउन गएका तिलक आइसकेका थिएनन् । आइहाल्दा पनि खेल्न सक्छन् वा सक्दैनन् भन्ने अन्यौल पनि थियो ।

४४औं ओभरको अन्तिम बलमा आकाश चन्द बोल्ड आउट भए । उपचार गरेर आएका तिलकले हिम्मत देखाए ।

‘आधा घण्टा अगाडि उसको हातमा टाँका लगाइएको थियो । डाक्टरले खेल्न नाईं भनेको थियो’, यू–१९ का मुख्य प्रशिक्षक जगत टमाटाले अनलाइनखबरसँग भने, ‘मेन हातमा टाँका लागेको हुँदा के होला भन्ने डर थियो । तर उसले एउटा जोश देखायो, गुरु म खेल्छु भनेर गयो ।’

प्रशिक्षक टमाटाका अनुसार तिलकले राम्रोसँग ब्याट समाउन पनि सकेका थिएनन् ।  तर उनले हिम्मत हारेनन् । ननस्ट्राइकबाट सुवास भण्डारीलाई आफूमाथि विश्वास गर्न भनिराखेका थिए ।

नेपाललाई दुई रन चाहिएको थियो । पहिलो बल स्पिनर अरब गुलले वाइड फ्याले । त्यसपछि लगातार तीन बल डट गरे । चौथो बलमा सुवासले चौका हान्दै खेल जिताए । तिलकले कुनै पनि बल खेलेनन्, तर नेपालको जितमा उनको योगदान महत्वपूर्ण थियो ।

जोखिम लिएर देशका लागि खेल्ने तिलकको निर्णयप्रति आफू सलाम गर्ने मुख्य प्रशिक्षक टमाटा बताउँछन् । ‘म उनको देशप्रतिको समर्पणलाई भित्र मनदेखिनै सलुट गर्छु’, उनले भने, ‘दुई रन बाँकी थियो । विकेट ९ गएको थियो, पठाउनै पर्‍यो ।

देशका लागि केही गर्न पाएकोमा तिलक पनि खुसी छन् । ‘(डाक्टरले) टाँका तीन चार दिनमा निकाल्ने भनेको थियो’, तिलकले भने, ‘खेल्न गएपछि मैले चोटबारे केही नै सोचिन । जसरी पनि देशलाई जिताउनुपर्छ भन्ने मात्र सोचेको थिएँ ।’

जितपछि देशको लागि थोरै केही गरे जस्तो लाग्यो । अरु धेरै गर्न बाँकी छ’, उनले भने ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?