+
+

विनोदको कीर्तिमानी शतक, बसिर २ रनले चुके

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १३:०३

१४ माघ, काठमाडौं । कप्तान विनोद भण्डारीको कीर्तिमानी शतक र बसिरको उत्कृष्ट ब्याटिङमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई २८० रनको बलियो लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनायो । आर्मीका विनोद भण्डारी १३२ बलमा ६ चौका र ३ छक्कासहित १०० रनमा नट आउट रहे ।

बसिर अहमद ९२ बलमा १२ चौका र १ छक्कासहित ९८ रनमा नट आउट रहे ।

प्रकाश जैसीको अन्तिम ओभरको पाँचौं बलमा बसिरको क्याच छाडेका थिए । उनले दुई रन लिन खोजे पनि दोसो रन लिन विनोदले जोखिम लिएनन् ।

अन्तिम बलमा दुई रन बटुल्दै विनोदले शतक पूरा गरे । विनोद भण्डारीको यो प्रधानमन्त्री कप इतिहासमा तेस्रो शतक हो । उनी प्रधानमन्त्री कपमा तीन शतक हान्ने पहिलो खेलाडी बनेका छन् ।

उनीपछि पुलिसका दीपेन्द्रसिंह ऐरीले २०२२ मा एकै संस्करणमा दुई शतक हानेका थिए । विनोदको यो सिजनको दोस्रो शतक हो ।

गत हप्ता मधेशसँग ११३ रन बनाएका विनोदले गण्डकीसँग २०२१ मा १११ रन बनाएका थिए ।

छैटौं विकेटका लागि विनोद र बसिरले १६९ रनको साझेदारी गरे । यो छैटौं विकेटका लागि उच्च साझेदारी हो । २०१९ मा पुलिसका कुशल भुर्तेल र दीलिप नाथले कर्णालीविरुद्ध १३९ रनको साझेदारी गरेका थिए ।

आर्मीको सुरुवात भने त्यति राम्रो हुन सकेको थिएन । तीव्र गतिका बलर प्रकाश जैसीको बलमा ओपनर इमरान शेख पहिलो ओभरको पाँचौं बलमा एज लागेर विकेटकिपर अर्जुन घर्तीबाट ५ रनमा क्याच आउट भए ।

स्पिनर दीपेन्द्र रावतलाई ठूलो सट खेल्ने धुनमा सन्तोष कार्की ११ रनमा आउट भएका थिए ।

रावतले भीम सार्कीलाई २५ रनमा बोल्ड आउट गरे । उनले ३५ बलमा ३ चौका हाने । विवेक यादव ६ रनमा आउट भएपछि आर्मी १३ ओभरमा ७०–४ को अवस्थामा पुगेको थियो ।

कुशल मल्ल १८ बलमा २ छक्कासहित २१ रनमा आउट भए । त्यसपछि आर्मीलाई बसिर र विनोद भण्डारीले सम्हाल्लेका थिए । कर्णालीका दीपेन्द्र रावतले ९ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?