+
+

विनोदले आफूले पाएको प्लेयर अफ द म्याच अवार्ड बसिरलाई दिए

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १६:२६

१४ माघ,  काठमाडौं । त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध आफूले पाएको प्लेयर अफ द म्याच अवार्ड बसिर अहमदलाई दिएका छन् ।

कर्णालीलाई १६४ रनले हराउने क्रममा विनोदले शतक पूरा गरेका थिए । बसिर भने २ रनले शतक बनाउनबाट चुकेका थिए ।

एक समय ११०–५ को अवस्थामा पुगेको आर्मीलाई छैटौं विकेटका लागि विनोद र बसिरले १६९ रनको अविजित शतकीय साझेदारी गरेका थिए ।

जसमा विनोद भण्डारीले १३२ बलमा ६ चौका र ३ छक्कासहित १ सय रनको अविजित शतकीय इनिङ खेलेका थिए । बसिर अहमदले ९२ बलमा १२ चौका र १ छक्कासहित ९८ रनको अविजित इनिङ खेलेका थिए

खेलपछि विनोद प्लेयर अफ द म्याच चुनिए । तर उनले त्यो प्लेयर अफ द म्याच अवार्ड बसिर अहमदलाई दिएका छन् ।

एक समय ४३ औं ओभरमा विनोद भण्डारी ८६ रनमा खेल्दा बसिर ४९ रनमा क्रिजमा थिए । त्यसपछि बसिरले रनको गति बढाउदा विनोदले केहि संघर्ष गरेका थिए ।

४६ औं ओभरमा बसिरले प्रकाश जैसीलाई दुई चौका र १ छक्का हानेका थिए । बसिरले एक एन्डबाट आक्रामक क्रिकेट खेल्दै शतकको सम्भावना देखाए । एक ओभरको खेल बाँकी हुँदा बसिर ९२ र विनोद ९७ रन बनाएर खेलेका थिए ।

अन्तिम ओभरको चौथो बलमा बसिरले जैसीलाई चौका हाने । पाँचौं बलमा बसिरको क्याच छुटेपछि दुबै ९८–९८ रनमा पुगेका थिए । अन्तिम बलमा विनोदले दुई रन बटुल्दै शतक पूरा गरेका थिए ।

‘मेरो शतक भए पनि मलाई उसको इनिङ ठिक लागेको थियो । एकतर्फबाट विकेट गुमेको थियो । उ आएपछि राम्रो पनि भयो । प्लेयर अफ द म्याच हुन म भन्दा पनि उ योग्य थियो भन्ने मलाई लाग्यो, त्यसैले मेले उसलाई दिएको हुँ, विनोदले खेलपछि भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?