+
+

‘मोदीबेनी’को शीर्ष भूमिकामा वर्षा सिवाकोटी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १२:१०

काठमाडौं । ऐतिहासिक कथावस्तुको फिल्म ‘मोदीबेनी’को शीर्ष भूमिकामा वर्षा सिवाकोटी र अमरप्रताप श्रेष्ठले अभिनय गर्ने भएका छन् । मंगलबार कमलादी गणेश मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको सुरुवात गरियो ।

मुहूर्त पूजापछि फिल्म छायांकनमा निस्किएको छ । फिल्मको टिमको काम गर्ने शैली र कथावस्तु मन परेर आफू प्रोजेक्टसँग जोडिएको वर्षाले उक्त अवसरमा बताइन् ।

‘मैले यसमा गर्न लागेको भूमिका अहिलेसम्मकै भिन्न छ । यो फिल्म नयाँ प्रयोग पनि हुनसक्छ,’ उनले भनिन्, ‘अहिले दर्शकले पनि केही फरक नै खोजिरहनुभएको छ । त्यसको लागि यो फिल्म उदाहरण बन्न सक्छ ।’

सिवाकोटीले आफूसँग स्क्रिन सेयर गर्न लागेका डेब्यु अभिनेता श्रेष्ठ पनि अभिनयका लागि तयार भएको बताइन् । ओजस थिएटरका दुई नाटकमा प्रमुख भूमिकामा खेलेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रीतको रीत’ नामक वेब सिरिजमा प्रमुख अभिनय गरेका छन् । अभिनेता श्रेष्ठले आफू तयार भएर अभिनयमा होमिन लागेको बताए ।

यो फिल्मबाट ११ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले पुनरागमन गर्दैछिन् । उप्रेतीले यो फिल्ममा दिलीप केसीसँग स्क्रिन सेयर गर्नेछिन् ।

फिल्ममा सरोज खनालको महत्वपूर्ण भूमिकामा देखिनेछन् । कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय हुनेछ ।

निर्देशक शंकर कोइरालाले यो फिल्म पर्वत जिल्लाको सेरोफेरोमा भएको घटनामा आधारित हुने बताए । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने फिल्मको पटकथा आनन्दविक्रम क्षेत्रीले लेखेका हुन् । ४५ वर्ष पहिलेको र अहिलेको पर्वत मोदीबेनी क्षेत्रको कथा फिल्मले पेश गर्ने निर्देशक कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?