+
+

‘खजुरे ब्रो’को ट्रेलरमा कमेडी-एक्सन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १८:०३

काठमाडौं । रियर राई, महेश त्रिपाठी, नीति शाह र नवीन मानन्धरको शीर्ष भूमिका रहेको कमेडी–एक्सन फिल्म ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले ट्रेलर सार्वजनिक गरे ।

३ मिनेट १९ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । ट्रेलरमा फिल्मका चार शीर्ष पात्रको कथावस्तु चित्रण गरिएको छ । खजुरे ब्रो नामक पात्रको रोलमा रियर देखिएका छन्, जुन पात्र आफैंमा क्रेजी टाइपको छ ।

साबुनदेखि मःम खान तयार हुने खजुरे ब्रोलाई घरबाट पैसा कमाउन र विवाह गर्न दबाब छ । यो दबाबपछि उसले आफूलाई कसरी रुपान्तरण गर्छ भन्ने कथावस्तु यसमा छ । अर्को पात्रको रोलमा महेश देखिएका छन्, जुन पात्र सरकारी जागिरे, लेखक त हो तर लागूऔषधको दुर्व्यसनी पनि हो ।

नवीन मानन्धर फिल्ममा एक सहकारी सञ्चालकको रोलमा छन् । तर उनी अध्यक्ष रहेको सहकारी संकटमा फस्छ र उनीविरुद्ध मान्छेले प्रदर्शन गर्छन् । नीति शाह खजुरे ब्रोको प्रेममा पर्छिन् । फिल्ममा नीतिलाई रियरकी ‘लभ इन्ट्रेस्ट’को भूमिकामा देखाइएको छ । यो लाइट-कमेडी फिल्मले धरान सहरको पात्र र त्यहाँको परिवेशलाई दर्शाउने प्रयत्न गरेको छ ।

‘षडंग’ फेम्ड निर्देशक सुरज सुनुवारको यो दोस्रो निर्देशकीय फिचर हो । यो फिल्म वैशाख २८ गतेबाट प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?