+
+

‘खजुरे दाइको बारेमा धरानको साथीबाट धेरै सुनेको थिएँ’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते १३:०८

काठमाडौं । फिल्ममा फर्किन झण्डै दशक लगाएका निर्देशक सुरज सुनुवार ‘खजुरे ब्रो’लाई लिएर उत्साहित छन् । नियो-नोइर ‘षडङ्ग’पछि यो उनको दोस्रो निर्देशकीय फिचर हो ।

फिल्ममा फर्किन किन ढिला ? आयोजित फिल्मको पत्रकार सम्मेलनमा उनले उत्कृष्ट कथा नभेट्दा ढिलो भएको बताए ।

‘तपाईंसँग रोचक कथा हुनुपर्‍यो, त्यो बेला मसँग सिनेमा बनाउँछु भनेर कथा पनि भएन । यस्तोमा फिल्म बनाउँछु भनेर जबर्जस्त बनाउन पनि भएन,’ उनी भन्छन् ।

कथाको खोजीबीच उनले वास्तविक चरित्रमाथि फिल्म बनाउने निधो गरे । उनले रोजेको पात्र थियो– धरानको खजुरे । यो क्रेजी पात्रको भौतिक शरीर यो दुनियाँमा त छैन तर धेरैका लागि यो पात्र रोचक हुने सुनुवार बताउँछन् ।

राम्रै पारिवारिक स्थितिमा बाँचेको यो पात्र मदिरा र प्रेमले रित्तो भयो । उसको जीवन सडकमा सकियो । सोही पात्रलाई आधार मानेर यो फिल्म  बनाउने जमर्को गरे । यद्यपि, यो फिल्म खजुरेको बायोपिक नभएको उनी बताउँछन् ।

यो फिल्म वैशाख २८ गते प्रदर्शन तयारीमा छ । यो फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले डेब्यु गर्दैछिन् । नवीन मानन्धर, महेश त्रिपाठी र रियर राई शीर्ष भूमिकामा छन् । पत्रकार सम्मेलनमा निर्देशक सुनुवारले फिल्मबारे यसरी प्रश्नोत्तर गरे :

सामान्य मान्छेमाथि फिल्म किन ?

कमेडीको एउटा बलियो पक्ष भनेको त्यसको पात्र हो र त्यो पात्र रोचक हुनुपर्छ, किनकि त्यस्तो पात्रले नै कमेडीलाई सफल बनाउँछ । त्यही कारणले मैले खजुरे दाइको बारेमा धरानको साथीबाट धेरै सुनें । उहाँको सुनिल हाइजिन भन्ने दौंतरी हुनुहुन्थ्यो, जो राम्रो गिटार बजाउनुका साथै प्यारोडी गीत बनाउने गर्नुहुन्थ्यो ।

उहाँहरुको जुन जीवनशैली र जोक्स थियो, ती धरान र आसपासमा चर्चित छन् । ती सुन्दा मलाई पात्र रोचक लाग्यो । कमेडी जनरामा काल्पनिक पात्र लेख्नुभन्दा सुनेको, देखेको पात्रलाई नै फिक्सनमा ढाल्न अझ सजिलो भयो ।

के यो फिल्म उनको बायोपिक हो ?

उसको जीवनी देखाउन खोजेको छैन, किनभने बायोपिक बनाउन पनि त्यो मान्छेको उतारचढाव रोचक हुनुपर्छ । जुन हेर्दा मानिसलाई राम्रो लाग्ने हुनुपर्छ । खजुरे रोचक पात्र त हो तर उसको जीवनमा फिल्मलाई चाहिनेजस्तो रोचक कुरा छैन, त्यही भएर उहाँको रोचक पाटोलाई फिल्ममा राखेको छु । अहिलेलाई खजुरे काल्पनिक पात्र हो, जो उसको जीवनीबाट केही मात्रामा प्रेरित भने छ भनेर बुझ्दा ठीक होला ।

खजुरेसँग तपाईंको प्रत्यक्ष भेट भयो कि भएन ?

कहिले पनि भएन । उसको साथी सुनिल हाइजिनसँग भएको छ । सिनेमा गर्नुअघि उसको बारेमा अनुसन्धान गर्न धरान गएको बेलामा एक-दुई महिना त्यहाँ बस्दा सुनिल हाइजिनसँग भेटेर कुराकानी गरेको थिएँ । पछि काठमाडौं फर्किएर आएको एकहप्ता जस्तोमा उहाँ पनि बितेको जस्तो खबर सुने । सुनेर नरमाइलो लाग्यो । उहाँको खास नाम अनिल हो ।

षडङ्ग’पछि दोस्रो फिल्म निर्देशनमा ढिलाइ किन ?

‘षडङ्ग’ले सोचे अनुसारको प्रतिक्रिया पाएन । त्यसपछि मैले कथा वाचनमा दर्शकले खोजेजस्तो शैली दिन सकिन कि भन्ने भयो । फेरि तपाईंसँग रोचक कथा हुनुपर्‍यो, त्यो बेला मसँग सिनेमा बनाउँछु भनेर कथा पनि भएन । यस्तोमा फिल्म बनाउँछु भनेर जबर्जस्ती बनाउन पनि भएन । राम्रो कथा भेटियो अब यो फिल्म बनाउन लायक छ भनेपछि न बल्ल फिल्म बनाउने हो नि त । त्यही भएर पनि बीचमा केही अड्किए भनुँ न ।

खजुरे ब्रो’ कस्तो बनाए जस्तो लागेको छ ?

यो कमेडी फिल्म हो । कमेडी भनेर कमेडी मात्र पनि छैन, अरु रस पनि छ । समग्रमा भन्नुपर्दा यो फिल्म मनोरञ्जनको हेतुले बनाएको हुँ । गम्भीर कथावाचन छैन, रमाइलो लाग्ने सिनेमा बनेको छ ।

धेरैले ‘अनलक्की’ भनेकी अभिनेत्री नीति शाहलाई फिल्ममा लिएर तपाईंले फिल्म बनाएरै छाड्नुभयो । किन ?

यो मान्छेको सोच हो, आ–आफ्नै विश्वास हुन्छन्, सबैको सोच एकैखाले हुँदैन पनि । म चाहिं यस्तो सोच राख्ने व्यक्तिमा पर्दिनँ । बरु नीतिले मेरो चरित्र केन्द्रित भूमिका चाहिं मन नपराउलिन् कि भन्ने थियो, किनकि नीतिजस्तो एउटा सौन्दर्य प्रतियोगिताबाट आएको मान्छेले रोमान्टिक सिनेमा खोज्लिन् भन्ने डर मलाई थियो ।

उनको कारण भन्दा पनि अन्य थुप्रै संयोगका कारण सिनेमा नबन्ने स्थिति बन्छ । नीति तिनै संयोगका कारण पीडित भएको हुनसक्छिन् । हामीले अन्य कारणले फिल्म रोकिन्छ भनेर कहिल्यै सोचेनौं ।

फिल्ममा रियर राईको भूमिकालाई कसरी हेर्नुहुन्छ ?

‘खजुरे ब्रो’ व्यावसायिकरुपले सफल होस–नहोस् त्यो आफ्नो ठाउँमा छ तर रियरले जुन ‘खजुरे ब्रो’को चरित्र निर्माण गरेको छ, त्यसले ऊ नितान्त राम्रो अभिनेता भनेर नेपाली सिनेमामा स्थापित हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?