+
+

‘खजुरे ब्रो’ टिजर : सहरको नामुद डान्सर बन्ने सपना

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १६:२६

काठमाडौँ । खजुरे ब्रो नामक पात्र एकदम रोचक छ । अरुले ‘साबुन खा’ भने खान्छ । उसको सपना चाहिं सहरको नामुद डान्सर बन्ने हो । बाइकमा गर्लफ्रेन्ड घुमाउँछ । उसको पारा देख्दा साथीभाइ दंग खान्छन् ।

एउटै व्यक्तिभित्र धेरै अवतार समेटिएको त्यो पात्र फिल्म ‘खजुरे ब्रो’को शीर्ष चरित्र हो । यो चरित्रमा रेयर राईले अभिनय गरेका छन् । महेश त्रिपाठीसँग खजुरेको दोस्तीयारी जमेको छ ।

टिजरले फिल्मको कथावस्तुबारे धेरै खुलाएको छैन, यद्यपि चरित्र चित्रण भने अवश्य गर्छ । ‘षडङ’जस्तो नियो–नोइर फिल्मबाट डेब्यु गरेका सुरज सुनुवार यो लाइट–कमेडी फिल्मबाट फर्किएका छन् ।

यो फिल्म पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको डेब्यु फिल्म समेत हो । प्रमुख पात्रसँग उनको अनस्क्रिन जोडी बाँधिएको छ । केही फिल्ममा डनको भूमिकामा देखिएका नवीन मानन्धर यो फिल्ममा पनि देखिएका छन् ।

टिजरमा मित्रता, अहंकार, रोमान्स र संघर्षको कथावस्तु समेटिएको छ । धरान आसपासमा डुलिहिंड्ने ‘खजुरे ब्रो’ पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ । युट्युबमा उनी कस्ता थिए भनेर देखाउने भिडियो देख्न सकिन्छ ।

जीवनको पछिल्लो समयमा धरानका बासिन्दाको लागि हास्य पात्र बनेका उनी यो अवस्थामा आइपुग्नुका पछाडि दु:खान्त कहानी रहेको बताइन्छ । फिल्मले उनका यिनै रमाइलो र दुःखान्त घटनालाई कथा बनाएको बताइएको छ ।

फिल्ममा प्रकाश भुजेल, विपिना थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बू, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ ।

अभिनेता मानन्धर तथा निर्देशक सुनुवारको संयुक्त निर्माण रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माता छन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् । शिशिर बिसंखेको छायांकन रहेको फिल्ममा मित्र गुरूङको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?