+
+

डेब्युबारे नीति शाह : ‘चाहना त अनमोल र प्रदीपसँग थियो, भाग्यमा रेयर राई लेखेको रहेछ’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १७:२१

काठमाडौं । अभिनेत्रीको रुपमा सम्भवतः पहिलो पत्रकार सम्मेलन थियो नीति शाहको । ‘र्‍यापिड फायर’जस्ता फिल्मी प्रश्नमा उनी केही असहज पनि देखिइन् । फिल्म मात्र होइन, नीति मिडियासँगको दोहोरो संवादमा निकै कम मात्र सवालजवाफ गर्छिन् ।

सन्दर्भ थियो– फिल्म ‘खजुरे ब्रो’को । फिल्मबारे जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलन नीति प्रेरित रह्यो । उनीसामु फिल्म प्रस्तावदेखि करिअरसम्मका प्रश्न तेर्सिए ।

डेब्यु फिल्ममा नीति शीर्ष भूमिकामा छिन् । डेब्यु गर्ने मामिलामा नीतिलाई निकै सकस भइरहेको थियो । यसबारे पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘चाहना त अनमोल र प्रदीपसँगै डेब्यु गर्ने थियो । तर भाग्य रेयरसँग रहेछ ।’

यो फिल्ममा नीति र रेयर राईसहित महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल र विनिता थापाको पनि अभिनय हुनेछ । पहिलोपटक कमेडी फिल्ममा काम गर्न लागेको भन्दै महेशले खुसी व्यक्त गरे । सुरज सुनुवारले निर्देशन गर्ने फिल्मको छायांकन काठमाडौं, धरान र दार्जिलिङमा गरिने जनाइएको छ ।

सोमबारको पत्रकार सम्मेलनमा नीतिसँग मिडियाको प्रश्नोत्तरको सम्पादित अंश प्रस्तुत छ :

तपाईंलाई पहिलोपटक कहिले फिल्ममा अफर गरिएको थियो ?

सायद ‘ड्रिम्स’ होला, त्यतिबेला म बल्ल १२ कक्षा पढ्दै थिएँ । एक दशकै भयो होला । भुवन केसी सरले अप्रोच गर्नुभएको थियो । किनभने उहाँले मेरो ममीलाई चिन्नुहुन्छ । त्यतिबेला सायद फिल्म गर्छु भन्ने आत्मविश्वास थिएन होला । इमान्दारीपूर्वक भन्नुपर्दा नेपाली फिल्म उद्योगबारे एक्सपोजर पनि धेरै थिएन । पढाइमै फोकस हुन्छु भनेर फिल्मको प्रस्ताव अस्वीकार गरेको थिएँ । त्यतिबेला नै गरेको भए सायद फिल्म इन्डस्ट्रीमा मेरो १० वर्ष हुन्थ्यो होला । ढिलो भयो, राम्रो भयो भन्छन् नि ।

त्यसपछि तपार्इंलाई अरु फिल्मबाट पनि अफर आए ?

पहिलेको किन कुरा गर्नु, यति राम्रो टिमसँग काम गर्न पाएको छु । यो टिम निकै राम्रो छ । म निश्चित छु कि यो मुभी राम्रो हुनेवाला छ । कमेडी जनराको पनि भएर, दर्शकले एकदमै मन पराउनुहुन्छ होला । एक्ट्रेसको रुपमा पनि म एक वर्षदेखि सिक्दैछु ।

पहिलो अफर आएको फिल्ममा तपाईंको कन्फिडेन्स कमजोर थियो, दोस्रोमा के थियो ?

कन्फिडेन्स कमजोर थिएन भन्न मिल्दैन । म त्यतिबेला १८ वर्षकी थिएँ । मैले भनिहालें नि, त्यतिबेला नेपाली फिल्मको बारेमा एक्सपोजर थिइनँ । पढाइमै फोकस गरौं कि भनेर त्यतिबेला फिल्म नखेल्ने निर्णय गरेकी हुँ । ब्याचलर्स सकिएपछि फिल्म खेल्न रुचि पनि लाग्यो ।

‘खजुरे ब्रो’का अभिनेता रेयर राईसँग नीति शाह

खजुरे ब्रोको प्रस्ताव कसरी स्वीकार्नुभयो ?

मैले यसका लागि सुरुमा डायमण्डजीलाई भेटें । उहाँले स्क्रिप्ट सुनाउनुभयो । त्यसपछि टिमलाई भेटें । त्यसपछि सुरज सुनुवारलाई भेट्दा मलाई लाग्यो, उहाँ नै मेरो पहिलो निर्देशक । उहाँलाई भेट्दा पोजेटिभ इनर्जी आयो । उहाँले मेरो डेब्युका लागि राम्रो वातावरण बनाइदिनुभयो ।

अब तपाईंको फिल्म यात्रा कसरी अघि बढ्छ ?

योजना त त्यही हो । गरिराख्ने फिल्म । यो सुरुवात हो । आशा गर्छु, महिनौं एउटा फिल्म गर्दा पनि वर्षमा १२ वटा फिल्म हुन्छ होला । प्रस्ताव आएका फिल्म गर्ने तर स्क्रिप्ट राम्रो हुनुपर्‍यो । राम्रो मेसेज जानुपर्‍यो । सबै मुभी आयो भन्दैमा गर्ने पनि हुँदैन । एउटा राम्रो क्यारेक्टर र राम्रो स्क्रिप्ट आएमा निश्चय नै गर्ने हो ।

तपाईंले अनमोल केसी वा प्रदीप खड्काको फिल्मबाट डेब्यु गर्ने चाहना राख्नुभएको थियो भन्ने चर्चा छ नि ?

चाहना त थियो तर भाग्यमा रेयर राईसँग डेब्यु गर्ने लेखेको रहेछ । एकदमै खुसी छु म ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?