+
+

बेल्जियमको कम्पनीले किन्यो नेपाली फिल्म ‘साम्बाला’को अन्तर्राष्ट्रिय वितरण अधिकार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १२:३८

काठमाडौं । बेल्जियमको फिल्म कम्पनी ‘बेस्ट फ्रेन्ड फरेभर’ले मीनबहादुर भाम निर्देशित नेपाली फिल्म ‘साम्बाला’को अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको छ । यो फिल्मले बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विधामा मनोनित हुने पहिलो दक्षिण एसियाली फिल्मको रुपमा इतिहास रचिसकेको छ ।

सन् २०१५ को भेनिसको क्रिटिक्स सप्ताहमा पुरस्कार जितेको कथानक फिल्म ‘कालोपोथी’ निर्देशकको रुपमा भाम परिचित छन् । सन् २०१२ मा उनले बनाएको छोटो फिल्म ‘बाँसुली’ भेनिसमा छनोट हुने पहिलो नेपाली फिल्म बनेको थियो ।

यो फिल्म नेपालको हिमाली गाउँमा सेट गरिएको छ, जहाँ एक नवविवाहित र गर्भवती महिला पेमाले आफ्नो नयाँ जीवनलाई उत्कृष्ट बनाउन प्रयास गर्छिन् । विवाहलगत्तै उनको पति टासी गायब हुन्छन् । त्यसपछि पेमा भिक्षुको साथमा पतिको खोजीमा उजाड थलोमा निस्कन्छिन् ।

यो फिल्म समुन्द्री सतहबाट ४ हजार २०० देखि ६ हजार मिटरको उचाइमा रहेको विश्वको अग्लो बस्तीमा छायांकन गरिएको हो । फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा र कर्मा वांग्याल गुरुङको मुख्य भूमिका छ । थिन्लेले ‘नाका’ र तोप्देनले ‘सम्हालिन्छ कहिले मन’बाट अभिनयमा डेब्यु गरेका थिए ।

‘परम्परा र आधुनिकतालाई मिसाउँदै ‘सम्बाला’ले एक अज्ञात संस्कृति र अचम्मको हिमाली परिदृश्यलाई पर्दामा ल्याउँछ । एकै समयमा यसले बलियो र आधुनिक महिलाको रुपमा मुख्य नायिकालाई स्थापित गर्छ,’ वितरण कम्पनी बेस्ट फ्रेन्ड फोरएभरका सह–संस्थापक मार्टिन गोन्द्रे र चार्ल्स बिनले विज्ञप्तिमा भनेका छन्, ‘फिल्मले एक लोभलाग्दो दृश्य निर्माण गर्दै दर्शकलाई अप्रत्यासित यात्रामा पुर्‍याउँछ ।

‘साम्बाला’लाई भामको कम्पनी सुनी फिल्म्सले निर्माण तथा रिथी पन्ह र आमोस गिताईसँग काम गरिसकेकी क्याथरिन दुसार्टले सहनिर्माण गरेका हुन् । पाँच वर्ष पहिले सुरु भएको कम्पनी ‘बेस्ट फ्रेन्ड फरेभर’ले कान्समा विश्व प्रिमियर भएको रमाता–टौलाये साइकोले डेब्यु गरेको फिचर डेब्यु ‘बनेल’ र ‘अदामा’को पनि वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?