+
+

चितवनका १४० वटा घरेलु तथा साना उद्योग बन्द

रासस रासस
२०८० माघ १६ गते १४:२७

१६ माघ, चितवन। घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो ।

कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन् ।

सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन् । खरिदबिक्रीपछि नाम सारी गरिएको उनले बताए । ११ वटा उद्योगले ठाउँसारी गरेका छन् ।चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई सय ५८ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ ती फर्महरु दर्ता भएका हुन् ।

गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको उनले बताए । सोही समयमा व्यावसायिक फर्महरु एक सय ८१ वटाको लगत कट्टा गरिएको छ । १३ वटाको नामसारी र २२ वटाको ठाउँसारी गरिएको उनले जानकारी दिए ।

व्यावसायिक फर्मतर्फ दुई सय ७३ वटा नयाँ दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा व्यवसाय बन्द गर्नेको सङ्ख्या चार सय ३४ रहेको थियो ।यस्तै ३८ वटाले ठाउँसारी गरेका थिए । गत आर्थिक वर्ष २०७९/८० मा दुई सय ६९ वटा उद्योग बन्द भएका थिए ।

उनका अनुसार गत आर्थिक वर्षमा आठ सय ५९ वटा उद्योग दर्ता भएका थिए । सो वर्ष नामसारीका लागि ६३ वटा उद्योगका सञ्चालकहरुले निवेदन दिएका थिए भने ३४ वटाले स्थान परिवर्तन गरेका थिए ।

वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उनले बताए ।उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरुको सङ्ख्या उच्च रहेको उनले बताए ।

उनले भने, ‘पाँच लाखसम्मको उद्योग वा व्यापारिक फर्महरु पालिकामा दर्ता हुने यहाँ बन्द गराएको पाइन्छ ।’ आर्थिक मन्दी, कोरोना असरका कारण समेत साना उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उनले बताए ।

कार्यालयमा दर्ता हुन आउने उद्योगहरु अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन् । राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेहरुको सङ्ख्या बढेको खनालले जानकारी दिए ।

चालु आर्थिक वर्षमा एक सय ३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरुषका नाममा एक सय ११ वटा दर्ता भएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?