+
+

मानव–वन्यजन्तु द्वन्द्व : ५ वर्षमा २०० जनाको मृत्यु, असीमित आर्थिक क्षति

मानव–वन्यजन्तु द्वन्द्वका कारण सिर्जित खबरको पृष्ठभूमिसँगै राखेर तथ्यांक केलाउँदा यसले मानव, वन्यजन्तु र अर्थतन्त्रमा ठूलो क्षति गरिरहेको पाइएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० माघ १६ गते १९:४२

१६ माघ, काठमाडौं । बाँदरले दुःख दिएको भन्दै पोखरा महानगरपालिका–१९ ले सोमबार निकालेको एक विज्ञप्ति चर्चामा छ ।

वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जारी गरेको सूचनामा ‘आजको मितिले १० दिनभित्र मेरो रुख म काट्छु भन्ने अभियान सञ्चालन गरी आ–आफ्नो घर वरपर रहेका सम्पूर्ण रुख कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन यो सूचना प्रकाशित गरिन्छ’ उल्लेख छ ।

मंगलबार नै गुल्मीको अर्को समाचार चर्चामा छ । रेसुंगा नगरपालिका–१ तमघासमा जंगली जनावरले दुःख दिएको भन्दै रुख काटिएको छ ।

मंगलबार थप एक खबर चर्चामा छ । खबरअनुसार बन्ध्याकरणमार्फत बाँदर नियन्त्रणबारे अध्ययन गर्न चिकित्सक र सांसदको जम्बो टोली भारत हिमाञ्चल जाँदै छ । यो टोलीमा डेढ दर्जन हाराहारी सांसद छन् ।

मानव–वन्यजन्तु द्वन्द्वका कारण सिर्जित यी तीन खबरको पृष्ठभूमिसँगै राखेर तथ्यांक केलाउँदा यसले मानव, वन्यजन्तु र अर्थतन्त्रमा ठूलो क्षति गरिरहेको पाइएको छ ।

सरकारी तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा मानव–वन्यजन्तु द्वन्द्वका कारण २ सयको मृत्यु, ५ सय ६६ गम्भीर घाइते र २ सय ९७ सामान्य घाइते भएका छन् । मानवीय क्षति हरेक वर्ष बढ्दो क्रममा छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्र वन्यजन्तुका कारण ३९ को मृत्यु भएको छ । ७२ सामान्य र १ सय २४ गम्भीर घाइते भएका छन् ।

यस वर्षमात्र ५ सय ३१ घरगोठमा वन्यजन्तुबाट क्षति पुगेको छ भने १० हजार ४ सय २६ घटना रेकर्डमा छन् । वन तथा वातावरण मन्त्रालयका सहसचिव बद्रीराज ढुंगाना बदलिँदो मानवीय गतिविधि, बढ्दो विकास निर्माण र खेतीकिसानी तथा जीवनशैलीमा भएको परिवर्तनसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण थप चुनौतीपूर्ण बन्दै गएको बताउँछन् ।

विकासका गतिविधि विस्तार हुँदा त्यसले वन्यजन्तुको वासस्थानमा पारेको प्रभाव, ग्रामीण भेगमा खेती कम हुँदा थोरै बालीनालीमा धेरै वन्यजन्तुको एकसाथ आक्रमण र ग्रामीण भेगमा मानिसको घट्दो जनघनत्व र संरक्षित क्षेत्र आसपास जनघनत्व बढ्दा समेत वन्यजन्तुबाट हुने क्षति निरन्तर बढिरहेको उनको भनाइ छ । पछिल्लो समय पहाडमा बाँदर र तराई मधेशमा निलगाईले बालीनालीमा पुर्‍याइरहेको क्षति यसकै परिणाम भएको उनको भनाइ छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार संरक्षित वरपर बढेको जनघनत्व र अव्यवस्थित भू-उपयोगका कारण वन्यजन्तु वासस्थानमा भएको क्षयीकरण एवं संकुचनका कारण वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँ पस्ने गरेको पाइएको छ ।

यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरपर बसोबास गर्ने समुदायमा वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ । हात्ती, बाघ, गैंडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदर लगायत वन्यजन्तु आक्रमणबाट मानवीय क्षति (मृत्यु तथा घाइते), बालीनाली, घर, गोठ र अन्नमा क्षति भइरहेको छ ।

वन्यजन्तुका कारण कुन वर्ष कति भयो मानवीय क्षति ?

  • २०७५/७६ : ३०
  • २०७६/७७ : ३३
  • २०७७/७८ : ४०
  • २०७८/७९ : ५८
  • २०७९/८० : ३९

नेपालमा संरक्षित क्षेत्रको हिसाबले सबैभन्दा संवेदनशील क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्ज देखिएको छ । मानव–वन्यजन्तु द्वन्द्वका कारण धेरै क्षति भएको देखिएको छ । यसबाहेक कोशी टप्पु, शुक्लाफाँटा, से फोक्सुन्डो, अन्नपूर्ण, पर्सा, शिवपुरी–नागार्जुन, गौरीशंकर, मनास्लु क्षेत्र संवेदनशील देखिएको विभागले जनाएको छ ।

असीमित आर्थिक क्षति

मानव–वन्यजन्तु द्वन्द्वका कारण मानव र वन्यजन्तुको मात्र क्षति भएको छैन, यसले अर्थतन्त्रमा समेत उत्तिकै ठूलो क्षति गरिरहेको छ ।

पछिल्लो पाँच वर्षमा सरकारले वन्यजन्तुबाट भएको क्षतिपूर्तिवापत मात्र ६४ करोड ५० लाख रुपैयाँ वितरण गरिसकेको छ । २०७९/८० मा मात्र १३ करोड ५४ लाख रुपैयाँ यस्तो क्षतिपूर्ति वितरण गरिएको थियो ।

तथ्यांकअनुसार यस वर्षमात्र ४ हजार १ सय २ फसलमा क्षति भएको घटना दर्ता भएका छन् । ५ सय ३१ घरगोठमा क्षति पुगेको देखिएको छ । भण्डार भइसकेको अन्नपातमा भएको क्षतिको ३ सय २४ घटना यस वर्ष दर्ता भएका छन् । देशभरि ५ हजार २ सय ३४ पशुधन क्षति वन्यजन्तुका कारण भएको विभागको तथ्यांक छ ।

कुन वर्ष कति वितरण भयो क्षतिपूर्ति रकम ?

  • २०७५/७६ : ८ करोड ९१ लाख
  • २०७६/७७ : १० करोड ६७ लाख
  • २०७७/७८ : १४ करोड १० लाख
  • २०७८/७९ : १७ करोड २८ लाख
  • २०७९/८० : १३ करोड ५४ लाख

नेपालमा वन्यजन्तुका कारण मानिसको मृत्यु भए नजिकको हकवालालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिइन्छ । गम्भीर घाइते भई उपचाररत व्यक्ति अस्पतालबाट डिस्चार्ज भएपछि सोहीकारण ३५ दिनभित्र मृत्यु भएसमेत सोहीबराबर क्षतिपूर्ति दिने प्रावधान छ ।

सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण निर्देशिकालाई यसै आर्थिक वर्षबाट संशोधन गरी कार्यान्वयनमा ल्याएको छ । जसले पशुधनको राहत दोब्बरले बढाएको छ । पशुधन क्षतिमा ६० हजार रुपैयाँसम्म राहत दिने गरी निर्देशिका बनेको छ ।

मानवीय गतिविधिले बढाइरहेको छ वन्यजन्तुको क्षति

विभागको तथ्यांकअनुसार २०७९/८० मा मात्र ५ सय ५८ वन्यजन्तुको ज्यान गएको रेकर्ड छ । यो २० वटा संरक्षित क्षेत्रले उपलब्ध गराएको तथ्यांक हो ।

तराईका संरक्षित क्षेत्रमा वन्यजन्तुको मृत्यु संख्या बढ्दो क्रममा रहेको तथ्यांकमा छ । पहाड र हिमाली भेगमा यस्तो क्षति केही कम छ ।

तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष सबैभन्दा धेरै र मकालु वरुण राष्ट्रिय निकुञ्ज र खप्तड राष्ट्रिय निकुञ्जमा कम क्षति देखिएको छ ।

वन्यजन्तुको धेरै क्षति हुनुमा प्राकृतिक, सडक दुर्घटना, चोरी शिकारी, नहरमा डुबेर, तारजालीमा परेर, कुकुर आक्रमणमा परेर लगायत छन् ।

यस वर्ष बढी मृत्यु हुने वन्यजन्तुमा चित्तल १ सय ४९, कृष्णसार ४३, बाँदर २७, गैंडा २६, रतुवा १३ छन् । यस वर्ष बाघको मृत्यु संख्या ११ र हात्ती ८ छन् । प्राकृतिक कारण १० र कुटेर एउटा बाघको ज्यान गएको विभागको तथ्यांक छ ।

बाघको क्षति चितवन र बर्दियामा समान ३/३ छ । एक वर्ष अवधिमा ७ सय ३४ वन्यजन्तु उद्धार गरिएको विभागले जनाएको छ ।

यो वर्ष बढी वन्यजन्तु क्षति भएका ५ संरक्षित क्षेत्र

  • चितवन : ११८
  • बर्दिया : १०८
  • बाँके : ९३
  • शुक्लाफाँटा : ८७
  • कुष्णसार : ४३
लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?