+
+

वन्यजन्तुबाट हुने मानवीय क्षतिको राहत विस्तार, पशुधनको राहत दोब्बर बढ्यो

अच्युत पुरी अच्युत पुरी
२०८० साउन १४ गते १९:१५

१४ साउन, काठमाडौं । वन्यजन्तुबाट हुने मानवीय तथा पशुपालकलाई दिइने राहत रकम विस्तार र वृद्धि गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका–२०८०’ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । निर्देशिका १ साउनदेखि कार्यान्वयनमा आएसँगै राहत विस्तार तथा वृद्धि भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यसअघि ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०६९’ खारेज गर्दै नयाँ निर्देशिका कार्यान्वयनमा आएको हो । यसअघिको निर्देशिका २०७४ सालसम्म दुई पटक संशोधन भएको थियो । सो निर्देशिका अनुसार पाइरहेको राहत र क्षतिपूर्ति रकम अब नयाँ निर्देशिका अनुसार हुने भएको हो ।

गम्भीर घाइतेलाई अस्पतालको बिल अनुसार उपचार खर्च

वन्यजन्तुको आक्रमणबाट सामान्य घाइतेलाई स्वास्थ्य संस्थाको सिफारिसमा बिल अनुसार दिइने उपचार खर्च २० हजार यथावत राखिएको छ । गम्भीर घाइतेको हकमा भने राहत विस्तार गरिएको छ । यसअघि गम्भीर घाइतेको हकमा २ लाख रुपैयाँसम्म राहत दिने उल्लेख थियो । यसमा विस्तार गर्दै निर्देशिकाले २ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको जुनसुकै अस्पतालमा इमर्जेन्सी उपचार गराउँदा लागेको खर्च र त्यसपछि सरकारी अस्पतालमा उपचार गराउँदा लागेको सम्पूर्ण खर्च समेत अब अस्पतालका चिकित्सकको सिफारिसमा सरकारले उपलब्ध गराउने भएको छ ।

अङ्‍गभङ्‍ग भई जीवनभर शारीरिक रुपले असक्त हुने अवस्थाको व्यक्ति वा निजको हकवालालाई अब जिविकोपार्जनका लागि एकमुष्ट ६ लाख रुपैयाँ दिइने भएको छ । यसअघि यो प्रावधान थिएन । मृत्यु भएको व्यक्तिको हकमा नजिकको हकवालाले १० लाख रुपैयाँ पाउने पुरानै व्यवस्थाले निरन्तरता पाएको छ । गम्भीर घाइते भई उपचाररत रहेको व्यक्ति अस्पतालबाट डिस्चार्ज भएपछि सोही कारणले ३५ दिनभित्र मृत्यु भएमा वा अस्पतालमा थलिएर मृत्यु भएमा अस्पतालको खर्चसहित मृत्यु हुने व्यक्तिका हकवालाले पाउने राहत रकम समेत पाउने भएको छ । यसअघि यो प्रावधान थिएन ।

पशुधनको राहत दोब्बर बढ्यो

सरकारले वन्यजन्तुबाट पशुधनमा हुने क्षतिपूर्ति रकमलाई भने दोब्बरसम्म वृद्धि गरेको छ ।
निर्देेशिका अनुसार भैंसी वा राँगो वा गोरु, उन्नत जातको गाई, घरपालुवा चौंरी, घोडा र खच्चडको मृत्यु भएमा मूल्यांकनको आधारमा अधिकतम प्रतिपशु ६० हजार रुपैयाँसम्म दिइने भएको छ । यसअघि यो रकम अधिकतम ३० हजार रुपैयाँसम्म थियो ।

अन्य पशुको हकमा त्यसको प्रकार र मूल्यांकनका आधारमा प्रतिपशु १० हजार रुपैयाँसम्म दिने प्रावधानलाई निरन्तरता दिइएको छ । अब माछा र कुखुरा पालकले समेत वर्षको एक पटकका लागि क्षतिको राहतका लागि दाबी गर्न सक्ने भएका छन् । यस्ता कृषकलाई क्षतिको मूल्यांकनका आधारमा बढीमा १० हजार रुपैयाँसम्म उपलब्ध गराइने निर्देशिकाले उल्लेख गरेको छ ।

घरगोठको क्षतिको राहत दोब्बर बढ्यो

अब वन्यजन्तुका कारण घरगोठको क्षति भएमा मूल्यांकनमा आधारमा बढीमा २० हजार रुपैयाँसम्म राहत दिइने भएको छ । यसअघि यो रकम १० हजार थियो । भण्डारण गरिएको अन्नको क्षति भएमा मूल्यांकनका आधारमा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिइने प्रावधान यथावत राखिएको छ ।

बालिको क्षति भएको हकमा भने एक मौसममा लगाएको बालीको एक पटक र वर्षमा दुई बालीका लागि मूल्यांकनका आधारमा अधिकतम १० हजार रुपैयाँसम्म हकदाबी गर्न सकिने भएको छ । यो पुरानै प्रावधान हो ।

पशु–बालीको बीमा गरेको भए राहत कटौती हुने

सरकारी तवरबाट पशु वा बालीको बीमा गरेको अवस्थामा पशुको क्षति वा बालीको क्षतिको राहत उपलब्ध गराउँदा बीमाबाट प्राप्त रकम कटाएर मात्र उपलब्ध गराइने भएको छ । यसअघि यो प्रावधान राखिएको थिएन । मानिसको मृत्यु भएको हकमा एक लाख र गम्भीर घाइते भएको हकमा ५० हजारसम्म अग्रिम राहत उपलब्ध हुने भएको छ । त्यसपछि पूर्ण राहत दिँदा अग्रिम रकम कट्टी गरेर दिइने भएको छ ।

कुन–कुन अवस्थामा पाइन्छ राहत ?

निर्देशिका अनुसार वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी गरेको आक्रमणबाट नेपाली नागरिकको मृत्यु, गम्भीर घाइते वा सामान्य घाइते भएको हकमा राहत दावि गर्न सकिन्छ । राष्ट्रिय निकुन्ज वा आरक्षण क्षेत्रबाहेक अन्य वन क्षेत्रमा विधिपूर्वक प्रवेश गर्दा वन्यजन्तुको आक्रमणमा परी मृत्यु, गम्भीर घाइते वा सामान्य घाइते भएमा समेत राहत दिइने भएको छ । निकुञ्ज वा आरक्षण भित्र सरकारी काममा खटिएका कर्मचारी, वन तथा वन्यजन्तुको संरक्षण र व्यवस्थापनको काममा अनुमति लिई खटिएका कर्मचारी, वन हेरालु र अनुमति प्राप्त प्रकृति पथ प्रदर्शकको हकमा समेत क्षतिपूर्ति लागु हुने भएको छ ।

राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रको कार्यालय वा चिडियाखानामा पालिएका, उद्धार गरिएका वा उपचारका लागि राखिएका वन्यजन्तुले क्षति पुर्‍याएका सरकारी काममा खटिएका कर्मचारीले समेत यो दावि गर्न सक्ने भएका छन् । राष्ट्रिय निकुञ्ज वा आरक्षण बाहेक अन्य क्षेत्रमा वन्यजन्तुको आक्रमणमा घरपालुवा पशुको मृत्यु भएमा पनि क्षति दाबी गर्न सकिन्छ ।

निजी जमिनमा खनिएको पोखरीमा पालन गरेको माछा र खोरमा थुनिएका कुखुरालाई वन्यजन्तुले क्षति गरेमा समेत राहत पाइने भएको छ । प्रयोगमा रहेको घर गोठमा रहेको अन्न भण्डारणमा पुगेको क्षतिमा समेत राहत पाइन्छ । निजी जमिनमा लगाएको बालीमा वन्यजन्तुले क्षति पुर्‍याएमा समेत राहत माग्न पाइने भएको छ ।

कसरी दिने निवेदन ?

निर्देशिका अनुसार वन्यजन्तुबाट भएको क्षतिको राहतका लागि राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा माध्यवर्ती क्षेत्रको हकमा सम्बन्धित कार्यालय र अन्य क्षेत्रको हकमा डिभिजन वन कार्यालयमा निवेदन दिन सकिन्छ ।

निवेदनबारे मूल्यांकन गरी एक महिना भित्र सम्भव भएसम्म बैंकमार्फत नै राहत रकम उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?