+
+

गोरखामा सुन्तला उत्पादन घट्यो

उत्पादन बढाउन बगैंचा व्यवस्थापन र चकलाबन्दी

विकास मरहट्टा विकास मरहट्टा
२०८० माघ १७ गते १३:१३

१७ माघ, गोरखा । सुन्तला जोन कार्यक्रम लागू भएको गोरखामा यस वर्ष सुन्तला उत्पादन घटेको छ ।

गत वर्षको तुलनामा करिब तीन सय मेट्रिक टन कम उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गोरखाले जनाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष १९ सय मेट्रिक टन उत्पादन भएको थियो । तर यो वर्ष १६ सय मेट्रिक टन मात्र उत्पादन भएको छ ।

उत्पादन घटे पनि आर्थिक कारोबारमा भने धेरै भिन्नता नरहेको कार्यालयका सूचना अधिकारी रविन्द्र पौडेलले बताए । ‘यो वर्ष करिब ६ करोडको कारोबार भयो, गत वर्ष साढे ६ करोड थियो,’ उनले भने, ‘यो वर्ष मूल्य बढेकाले उत्पादन घटे पनि आर्थिक कारोबारमा खासै धेरै भिन्नता देखिएन ।’ यो वर्ष किसानहरुले प्रतिकेजी ६५ देखि १२० रुपैयाँसम्म सुन्तला बिक्री गरेका छन् ।

परियोजना कार्यान्वयन एकाइले गोरखाका गण्डकी गाउँपालिकाका सबै वडा, शहीद लखन गाउँपालिकाका सबै वडा, भीमसेनथापा गाउँपालिकाका सबै वडा, गोरखा नगरपालिकाका सबै वडा र पालुङटार नगरपालिकाका वडा नं. ९ र १० लाई समेटेर सुन्तला जात फलफूल जोन घोषणा गरी कार्यान्वयन गरिरहेको छ ।

सुन्तला जोन कार्यक्रम लागू भइरहेको गण्डकी गाउँपालिका-२ ताङ्लीचोकस्थित सुन्तला उत्पादक कृषि सहकारी संस्थाले पनि यो वर्ष उत्पादन घटेको बताएको छ ।

सुन्तला बेचेर एक करोडको कारोबार गर्ने यस संस्थाले यो वर्ष ५२ लाख मात्र कारोबार गरेको छ । पुराना बोटहरु काटेर नयाँ बिरुवा लगाइएका कारण पनि यो वर्ष उत्पादन घटेको संस्थाका अध्यक्ष एकबहादुर थापाले बताए । ‘पुरानो बोट मासेर करिब दुई सय नयाँ बिरुवा लगाएका छौं, त्यसमा फल्न थालेपछि उत्पादन बढ्छ,’ उनले भने ।

उत्पादन घट्नुमा विविध कारण रहेको कार्यालयका सूचना अधिकारी पौडेलले बताए । उनले भने, ‘एक त बोटहरुमा लाग्ने रोग भइहाल्यो, अर्काे गाईवस्तुको मल पाउनै छाड्यो, फेरि हिउँदमा खडेरी परेका कारणले पनि सिंचाइको अभाव भयो । यी कारणहरुले उत्पादन घटेको हो ।’ पुरानो बगैंचा व्यवस्थापनका लागि पुराना रुखहरु काटेकाले पनि उत्पादनमा ह्रास आएको उनको भनाइ छ ।

उत्पादन बढाउन बगैंचा व्यवस्थापन र चकलाबन्दी 

सुन्तलाको उत्पादन बढाउन कार्यालयले पुरानो बगैचा व्यवस्थापन कार्यक्रम लागू गर्दै आएको छ । जस अन्तरगत सूक्ष्म तत्व, रोगनासक विषादी, प्राङ्गारिक मललगायतमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख पूर्ण ढुंगानाले बताइन् । त्यस्तै पुराना बोट काटेर नयाँ रोप्नेलाई प्रति बिरुवा एक सय रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराउँदै आएको उनले जानकारी दिइन् ।

‘नमूना बगैंचा स्थापना कार्यक्रम पनि संचालन गर्दै आएका छौं’, उनले भनिन्, ‘न्यूनतम दश रोपनी जग्गामा कम्तिमा दुई सय बिरुवा सुन्तलाजात फलफूल (सुन्तला र कागती) रोप्ने किसानलाई बिरुवा र कृषि उपकरणमा ५० र सिंचाइमा ८५ प्रतिशत अनुदान दिदैं आएका छौं ।’

गत वर्ष जिल्लाको २३ वटा ठाउँमा नमूना बगैंचा कार्यक्रम लागू भएको उनले बताइन् । उक्त कार्यक्रमका लागि १५ लाख रकम विनियोजन भएको थियो । यो वर्ष २१ लाख विनियोजन भएको कार्यालयले जनाएको छ ।

चकलाबन्दी कार्यक्रमलाई पनि कार्यालयले निरन्तरता दिइरहेको छ । गत वर्ष १२ ठाउँमा चकलाबन्दी कार्यक्रम लागू भएको कार्यालय प्रमुख ढुंगानाले बताइन् । ‘चकलाबन्दी गरेर सुन्तला, कागती र किबीको बिरुवा लगाइएको छ, किसानलाई बिरुवा र कृषि उपकरण खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएका छौं,’ उनले भनिन् ।

गत वर्ष ८० लाख रकम विनियोजन भएको यस कार्यक्रमका लागि यो वर्ष ६० लाख विनियोजन भएको छ ।

सुन्तला जिल्लाको गण्डकी, भीमसेन थापा र शहीद लखन गाउँपालिका, गोरखा र पालुङटार नगरपालिकामा फल्ने गर्छ ।

गण्डकीको ताङ्लीचोक, भुम्लिचोक, फलाटे, फुजेल र शहीद लखनको मनकामना, ताक्लुङ, मास्केछाप, तीनमाने, अधेरीलाई सुन्तालको पकेट क्षेत्र मानिन्छ । त्यस्तै भीमसेन थापाको तान्द्राङ, पालुङटारको बाघडाँडा, शेरा र गोरखा नगरपालिकाको ताप्ले, नारेश्वर, फिनाम र भट्टवेशीलाई पनि सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा लिने गरिन्छ ।

जिल्लाको करिब ८ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?