+
+

पुनर्बीमा कम्पनीले १ वर्षभित्र २० अर्ब पूँजी पुर्‍याउनु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १४:४०

१७ माघ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको न्युनतम चुक्तापूँजी बढाएको छ । बुधबार बिहान बसेको बीमा प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीको न्युनतम चुक्तापूँजी २० अर्ब पुर्‍याउने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘पुर्नबीमा कम्पनीहरुको न्युनतम चुक्तापूँजी २० अर्ब पुर्‍याउने निर्णय भएको छ,’ पौडेलले अनलाइनखबरसँग भने, ‘पूँजी बढाउन १ वर्ष र पूँजी बढाउने योजना पेस गर्न १५ दिनको समय दिएका छौं ।’

कम्पनीहरुले नै पूँजी बढाउने योजना पेस गर्न समय दिएको र कम्पनीहरुले पेस गरेको योजनापछि मात्रै हकप्रद सेयर लगायतका विकल्पमाथि छलफल हुने पौडेलले बताए ।

पुनर्बीमा जोखिम बहन गर्नुपर्ने कम्पनी भएकोले पूँजीको आधार बलियो चाहिन्छ भनेर पूँजी बढाउन लागिएको प्राधिकरणले जनाएको छ ।

हाल नेपालमा २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् । नेपाल सकराको समेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

यस्तै निजी क्षेत्रको लगानीमा स्थापना भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १० अर्ब रहेको छ । नेपाल पुनर्बीमा कम्पनीले २०७६ मा १६ प्रतिशत सेयर सर्वसाधारणलाई जारी नेप्सेमा सूचीकृत भएको थियो । हिमालयन रिइन्स्योरेन्सले भने हालै मात्र साधराण सेयर जारी गरी नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम सहित २०६ रुपैयाँमा ३ करोडकित्ता साधारण सेयर जारी गरेको थियो । दुवै कम्पनीलाई पूँजी बढाउन १ वर्षको समय दिइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?