+
+

गैरआवासीय नेपाली संघको समानान्तर संस्था दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १७:५४

१७ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्था दर्ता भएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ (यूएनडीओ) दर्ता गरेर सम्बन्धितलाई प्रमाणपत्र प्रदान गरेको छ ।

२९ पुस २०८० को परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडीओ दर्ता गरी प्रमाणपत्र प्रदान गरिएको हो ।

यूएनडीओ सोनाम लामाको अध्यक्षतामा गठन भएको थियो । लामा एनआरएनएका पूर्वउपाध्यक्ष हुन् ।

अघिल्लो पटक २०७८ चैतको एनआरएनए निर्वाचनमा विवाद भएपछि लामाले नेपाली मूलका विदेशी नागरिक मात्रै रहने गरी यूएनडीओ दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।

तर, परराष्ट्रले उक्त संस्था दर्ता गर्न नमानेपछि लामाले गत १५ साउन २०८० मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

लगत्तै सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यूएनडीओ दर्ता गर्न आदेश दिएको थियो ।

नयाँ संस्था दर्ता भएपछि गैरआवासीय नेपालीहरुको वैधानिक रुपमै दुईवटा संस्था खुलेका छन् ।

गैर आवासीय नेपाली सम्बन्धी ऐनको दफा १६ मा ‘गैर आवासीय नेपालीहरुबीच पारस्परिक सहयोग तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गैरआवासीय नेपालीहरुले नेपालभित्र गैर आवासीय नेपाली संघ खोल्न पाउनेछन्’ भन्ने व्यवस्था छ । गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ मा गैरआवासीय नेपाली संघ दर्ता गर्न चाहनेले कम्तीमा २५ मुलुकमा ५० जना गैरआवासीय नेपालीले निवेदन दिनुपर्ने उल्लेख छ ।

ऐनको यही व्यवस्थाबमोजिम हाल गैरआवासीय नेपाली संघ दर्ता भएर सञ्चालनमा छ । यो संघ सन् २००३ मा स्थापना भएको हो ।

तर, ऐनमा गैरआवासीय नेपाली संघ एउटा मात्रै हुने भन्ने व्यवस्था छैन । त्यसैले अर्को संस्था पनि दर्ता गर्नुपर्ने लामा समूहको अडान थियो ।

तर, गैरआवासीय नेपाली भनेको नेपाली मूलका विदेशी नागरिक वा विदेशमा स्थायी बसोबासको अनुमति पाएका मात्रै (पिपुल अफ नेपाली ओरिजिन– पीएनओ) हुनुपर्ने भन्दै उनले लामो समयदेखि वकालत गर्दै आएका थिए ।

लामो समयको विवादपछि २०७८ चैतमा गैरआवासीय नेपाली संघमा तीन जना अध्यक्ष चुन्ने निर्णय भएपछि लामाले ऐनमा भएको व्यवस्थाअनुरुप नयाँ संस्था दर्ताको प्रक्रिया सुरु गरेका थिए । उनले २०७९ वैशाख ६ गते यूएनडीओ दर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । २८ मुलुकका ५८ जना गैरआवासीय नेपालीहरुले संयुक्त रुपमा दर्ताको निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?