+
+

शनिबार घाम लाग्ने, आइतबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १९:२७

१८ माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका र आसपासका जिल्लामा पनि हल्का वर्षा भएको छ ।

लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा भने वर्षासँगै हिमपात पनि भएको छ ।

पश्चिमी वायुको अहिलेको प्रणाली पूर्वतिर सर्दै जाने क्रममा काठमाडौंमा पनि छिटपुट वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पार्ने बादल पश्चिमबाट पूर्वतिर सर्ने क्रममा छ । त्यसैले पश्चिमतिर मौसममा सुधार भइसकेको छ । काठमाडौंको वर्षा पनि केही घण्टामै रोकिने महाशाखाले जनाएको छ ।

कहाँ कस्तो वर्षा ?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार पश्चिम नेपालमा प्रक्षेपण गरेअनुसारकै हिमपात र वर्षा भएको छ । महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा पश्चिम नेपालका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने उल्लेख थियो ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार सबैभन्दा धेरै डडेलधुरामा ३२.८ मिलिमिटर वर्षा भएको छ । यसैगरी कालिकोटतिर ३२ मिलिमिटर, दैलेखतिर १५ देखि २० मिलिमिटरसम्म वर्षा भएको महाशाखाको रेकर्ड छ ।

‘१० मिलिमिटर भन्दा बढी र ५० मिलिमिटरभन्दा कम वर्षालाई मध्यम वर्षा भनिन्छ, यस अनुसार पश्चिम नेपालका अधिकांश पहाडी भूभागमा मध्यम वर्षा भएको छ,’ मौसमविद झाले भने ।

पहाडी क्षेत्रको तुलनामा पश्चिमकै तराई क्षेत्रमा भने कम पानी परेको छ । उदाहरणका लागि बाँकेको नेपालगञ्ज १ मिलिमिटर मात्र वर्षा भएको छ ।

काठमाडौंको अवस्था कस्तो ?

आज अपराह्नदेखि काठमाडौं उपत्यकामा पनि पानी परेको छ । यसअघि मौसमविदले काठमाडौंमा पानी पर्ने सम्भावना कम रहेको जनाएका थिए । परिहालेछ भने पनि फाट्टफुट्ट मात्र पर्ने उनीहरुको भनाइ थियो ।

मौसमविद झाका अनुसार काठमाडौंमा अपराह्नदेखि फाट्टफुट्ट मात्र वर्षा भएको छ । उपत्यकाभित्रका जिल्लाहरुमा एकनासको वर्षा भने छैन ।

काठमाडौंमा परेको पानी केही घण्टामै रोकिने उनले बताए । ‘पश्चिमबाट पूर्वतिर बादल सर्ने क्रममा छ । त्यही भएर काठमाडौंमा पनि फाट्टफुट्ट पानी पर्यो,’ मौसमविद झाले भने, ‘अहिलेको अवस्थामा भोलिदेखि नै सुधार देखिन्छ ।’

काठमाडौंमा भोलि बिहान पानी नपर्ने तर बादल भने लाग्ने पूर्वानुमान उनले गरे ।

उनले यो वर्षासँगै काठमाडौं आसपासका अग्ला डाँडाहरुमा हिउँ पर्ने सम्भावना रहेको पनि बताए । तर त्यसको प्रकृति कस्तो हुन्छ अहिले नै भन्न नसक्ने उनले बताए । बादल कति जम्मा हुन्छ त्यसको आधारमा मात्र हिमपातको प्रकृतिबारे एकिनका साथ भन्न सकिने मौसमविदहरु बताउँछन् ।

आइतबारदेखि फेरि पानी पर्ने

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज रातिदेखि नै काठमाडौंमा पानी पर्न रोकिने छ । भोलि काठमाडौंमा बादल लाग्ने सम्भावना छ । तर शनिबार भने घाम लाग्ने गरी बादल हट्ने उनले बताए ।

आइतबार भने फेरि पश्चिमी वायुको प्रभावले हिमपात र वर्षा हुने प्रक्षेपण उनले गरे । ‘फेरि अर्को प्रणाली नेपाल आउँदैछ । त्यसको प्रभावले आइतबार र सोमबार आज जस्तो भयो, त्यस्तै खालको हुनेछ,’ डा. पोखरेलले भने ।

तर अहिलेका मौसमी प्रणालीहरु कमजोर खालका भएकाले त्यसले ठूलो असर भने नपुर्याउने पूर्वानुमान छ ।

यद्यपि पानी पर्दा चिसो बढ्ने भएकाले जनजीवन प्रभावित हुने छ । चिसोले बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र दीर्घरोगीहरुलाई बढी असर गर्ने भएकाले चिसोबाट जोगिन ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

तर यो वर्षाले प्रदूषण कम हुने, हुस्सु तथा कुहिरो छिट्टै हट्न सहयोग मिल्ने र क्रमशः तापक्रम पनि वृद्धि हुँदै जाने मौसमविदहरु बताउँछन् ।

हिउँदे वर्षा बालिनालीलाई किन आवश्यक ?

जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी हिउँदे वर्षा हुने प्रक्षेपण गत मंसिरमा सार्वजनिक गरेको थियो । तर प्रक्षेपण गरेअनुसार हिउँदे वर्षा भएको छैन ।

विभागले यस वर्षको हिउँदमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी हिउँदे वर्षा हुने प्रक्षेपण गत मंसिरमा सार्वजनिक गरेको थियो । तर हिउँदयामको एक महिना बितिसक्दा पनि प्रक्षेपण अनुसार हिउँदे वर्षा भएको छैन ।

नेपालमा मंसिर १५ गतेदेखि फागुन १७ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । यो अवधिमा ६०.१ मिलिमिटरसम्मको वर्षालाई सरदर मानिएको छ ।

तर पर्याप्त पानी नपरेका स्थानमा किसानहरुलाई मर्का परेको छ । यही हिउँदको बेला तराई क्षेत्रमा गहुँ खेती गरिएको हुन्छ । सामान्यता मंसिरमा गहुँ छर्ने किसानहरुलाई त्यसको करिब एक महिनापछि सिंचाइको आवश्यकता हुन्छ । किनभने गहुँले जरा फैलाउने र गाँज फस्टाउने बेला यही हो ।

‘गहुँ छरेको करिब २३ देखि एक महिनाको बीचमा गहुँलाई सप्रिन सिंचाइ चाहिन्छ । कुलोपानी नलाग्ने ठाउँमा आकासे वर्षा पनि भइदिएन भने बाली सप्रिँदैन,’ पूर्व वरिष्ठ कृषि प्रसार अधिकृत अम्मरराज शर्मा भन्छन्, ‘त्योभन्दा ढिला पानी पर्यो भने पनि अन्न र तरकारी खेती फस्टाउँदैन ।’

उनले भने, ‘हिउँदे बाली र तरकारी सप्रिन कम्तिमा पाँच सेन्टिमिटर भिज्ने गरी पानी पर्नुपर्छ । यदि पानी परेन र जाडो बढ्यो भने आलु, टमाटर लगायत तरकारी बालीमा पनि असर गर्छ ।’ पहाडी क्षेत्रमा परेको पानी र हिउँले त्यहाँका किसानलाई फाइदा भए पनि तराई क्षेत्रका किसानका लागि भने यो पानी अपर्याप्त रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?