+
+

हलमा शुक्रबारदेखि हलिउडको ‘अर्जिल’, थिएटरमा तीन नाटकको मञ्चन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १३:४५

काठमाडौं । शुक्रबारदेखि नेपाली हलमा नयाँ हलिउड फिल्म ‘अर्जिल’ रिलिज भएको छ । यो स्पाइ-एक्सन-थ्रीलर फिल्मलाई ‘किंग्सम्यान’ फेम्ड निर्देशक म्याथ्यू वोनले निर्देशन गरेका हुन् ।

यो फिल्ममा हेनरी क्याभिल, जोन सिना, ब्राइस डलास, स्यामुएल एल ज्याक्सन लगायतको अभिनय छ । सोही नामको पुस्तकमा यो फिल्म आधारित छ ।

यो फिल्म एक गोप्य एजेन्ट र विश्वव्यापी जासूस सिन्डिकेटको बारेमा जासुसी उपन्यास लेख्ने एक लेखकको बारेमा आधारित छ । उक्त नयाँ पुस्तकको कथाले वास्तविक विश्व घटना प्रतिबिम्बित गर्न थाल्छ । सोही पुस्तकका घटना र लेखकबारे फिल्मले कथा भन्छ ।

यो फिल्म एप्पल ओर्जिनल ओटीटी प्लाटफर्ममा स्ट्रिमिङ हुनेछ भने युनिभर्सल पिक्चर्सले हलमा रिलिज गरेको हो ।

रंगमंचमा तीन नयाँ नाटक पनि

शिल्पी थिएटर बत्तीसपुतलीले शुक्रबारदेखि नयाँ नाटक ‘गंगालाल’को मंचन थालेको छ । चे शंकरको परिकल्पना र निर्देशनमा बनेको नाटकले शहिद गंगालाल श्रेष्ठको जीवनीको चित्रण गर्छ ।

१९९१ देखि १९९७ सालसम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गङ्गालालका जीवनका घटनालाई आधार मानी नाटकको कल्पना गरिएको छ ।

नाटकमा सहिद धर्मभक्त, शुक्रराज, दशरथका साथै तत्कालीन नेताहरू टङ्कप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिने छन् । माघ २९ सम्म नाटक मंचन हुनेछ ।

रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा नयाँ नाटक ‘समयको पीडा’को मंचन भैरहेको छ । सुन्दर धितालको परिकल्पना र निर्देशनमा तयार भएको नाटकले रोजगारीका लागि नेपालबाट बिदेसिएका छोराहरू नफर्केपछि एक्लिएका बुवाआमाको पीडाको कथा यसले पेश गर्छ । माघ २२ गतेसम्म यो नाटक मंचन हुनेछ ।

मण्डला थिएटरमा अर्को नयाँ नाटक ‘दी जु स्टोरी’ पनि मंचन भैरहेको छ । एक्लोपन महसुस गरिरहेको युवापुस्ता, मानसिक रोगले पीडित र लैङ्गिक पहिचान बुझ्न नसकेका समुदायको कथा यो नाटकमा छ । अमेरिकी नाटककार एडवर्ड अल्वीको लेखन रहेको यो नाटकलाई वल्ड थिएटर नेपालले नेपालीमा रूपान्तरण गरेको हो ।

सजग रानाले निर्देशन गरेको यो नाटक माघ २८ सम्म मण्डला थिएटरमा मंचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?