+
+

एपीएफले जित्यो सुदूरपश्चिम मुख्यमन्त्री भलिबल प्रतियोगिताको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २० गते १९:३७

२० माघ, धनगढी । सुदूरपश्चिममा जारी तेस्रो संस्करणको मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफ क्लबले जितेको छ ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी तेस्रो संस्करणको मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको हो ।

शनिबार भएको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै एपीएफले प्रतियोगिताको उपाधि जित्यो । पहिलो सेट २५–२१ ले जित्दै गण्डकीले खेलमा उत्कृष्ट सुरुवात गरेको थियो । तर पहिलो सेटको लयलाई कायम राख्न नसक्दा गण्डकीले हार व्यहोरेको हो ।

एपीएफ भने लगातार तीन सेटमा जित निकाल्दै फाइनलको उपाधि जित्न सफल भएको हो । एपीएफले दोस्रो सेट २५–१६ ले जितेको थियो भने तेस्रो सेट २६–२४ र चौथो सेटमा २५–२१ ले जित्दै उपाधि उचालेको हो । एपीएफले चार लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको गण्डकीले दुई लाख रुपैयाँमा चित्त बुझाएको छ ।

यस्तै शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले जित निकाल्दै तेस्रो भएको छ । पुलिसले आर्मीलाई ३–१ को सेटमा हराएको हो । तेस्रो बनेको पुलिसले १ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आयोजना तथा कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा तीन विभागीयसहित ७ प्रदेशका १० टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?