+
+

धरहराको पार्किङ विवादमा मन्त्रालय-महानगर आमनेसामने

शहरी विकास मन्त्रालयले काठमाडौं महानगरपालिकालाई पत्र लेख्दै धरहराको पार्किङ जोखिमपूर्ण भएकाले स्थगित गर्न भने पनि महानगर पछि हट्ने संकेत देखिएको छैन ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० माघ २२ गते १८:१०

२२ माघ, काठमाडौं । सुन्धारास्थित निर्माणाधिन धरहराको भूमिगत पार्किङमा अहिले दैनिक करिब एक हजार दुई पाङ्ग्रे सवारी साधन निःशुल्क पार्किङ भइरहेको छ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि धरहराको भूमिगत पार्किङ खोलेको थियो ।

९ माघदेखि पार्किङ निषेध गरेर पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं टावरको बहुतले पार्किङको विकल्प दिइएको थियो । तर न्यूरोडका व्यवसायी आन्दोलित भएपछि महानगरपालिकाले १४ माघदेखि निर्माण कम्पनी जिआईईटीसी-रमन जेभीलाई अनुरोध गरेर धरहराको भूमिगत पार्किङको ३ तल्लामध्ये एक तलामा दुई पाङ्ग्रे सवारी साधनका लागि पनि पार्किङ खुलाएको थियो ।

धरहराको ‘प्राइम लोकेसन’मा निःशुल्क पार्किङ गर्न पाइने भएपछि त्यहाँ भीड बढेको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बताउँछन् । उनका अनुसार न्युरोडको विकल्पमा धरहराको भूमिगत पार्किङमा दुईपाङ्ग्रे सवारी साधन र पुरानो बसपार्कस्थित काठमाडौं टावरमा चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न निःशुल्क उपलब्ध गराइएको छ ।

अहिले धरहरा पार्किङ भवनमा उपलब्ध गराइएको एक तलामा मात्र १ हजार ५ सय दुईपाङ्ग्रे सवारी साधन अट्छन् । निःशुल्क पार्किङ सुरु गरेको दोस्रो दिन -१५ माघ) मा महानगरले ९ सयभन्दा धेरै सवारी पार्किङ भएको जनाएको थियो ।

धरहराको पार्किङ खुला भएको करिब एक हप्तापछि शहरी विकास मन्त्रालयले काठमाडौं महानगरपालिकालाई पत्र लेख्दै धरहराको पार्किङ जोखिमपूर्ण भएको भन्दै स्थगित गर्न भनेको छ । तर महानगरपालिका पछि हट्ने संकेत देखिएको छैन ।

मन्त्रालयले भन्यो- मानवीय दृष्टिले जोखिमपूर्ण

महानगरपालिकाले पार्किङ सुरु गरेको धरहरा क्षेत्रको निर्माण शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत भइरहेको छ । तर मन्त्रालयले भने शुक्रबार विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायी र मन्त्रालयसँग समन्वय नै नगरी पार्किङ खुलाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

साथै भूमिगत पार्किङमा भेन्टिलेसन लगायतका काम बाँकी नै भएकाले मानवीय दृष्टिले जोखिमपूर्ण भएको भन्दै पार्किङ स्थगित गर्न पनि मन्त्रालयले भनेको छ ।

भूमिगत पार्किङ सञ्चालन गर्न आवश्यक पर्ने भेन्टिेलेसन सिस्टम, फायरफाइटिङ सिस्टम, विद्युत् जडानको काम र सीसीटीभी जडान नभएकाले सुरक्षा जोखिम औंल्याउँदै मन्त्रालयले भनेको छ, ‘निर्माण कार्यसम्पन्न नै नगरी भूमिगत पार्किङ सञ्चालन गर्दा हुने मानवीय क्षतीको सम्भावना देखिएको छ ।’

पार्किङको फ्लोर फिनिसिङ र पार्किङ प्रवेशद्वारको र्‍याम्पको काम पनि बाँकी रहेको मन्त्रालयले जनाएको छ । महानगरलाई प्रश्न समेत गर्दै मन्त्रालयले भनेको छ, ‘निर्माणस्थलमा अनिगिन्ती र अनाधिकृत व्यक्तिहरु, सवारी साधनहरुको प्रवेशले निर्माण सामग्रीहरुको टुटफुट र बनिसकेको संरचनाहरुमा समेत क्षति हुन सक्छ । त्यसको जिम्मेवारी कसले लिने ?’

मन्त्रालयले निर्माण पक्षले उक्त विषयलाई देखाएर म्याद थपको समेत माग गरेको भन्दै महानगरपालिकालाई पार्किङको योजना तत्काल स्थगित गरेर निर्माण सक्न दिन अनुरोध समेत गरेको छ ।

मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्य कुँवरले महानगरपालिकाले सल्लाह नै नगरी पार्किङ गराउन दिँदा निर्माण ढिलो हुनसक्ने बताइन् । ‘भूमिगत पार्किङमा हुनुपर्ने सुरक्षा, त्यसले निर्माण व्यवसायीलाई प्रभाव पनि पार्छ । त्यहि भएर हामीले योजना रोक्न विज्ञप्ती जारी गरेका छौं । उहाँहरु सल्लाह गर्न आउनुहुन्छ की,’ अनलाइनखबरसँग उनले भनिन् ।

महानगर भन्छ- पार्किङ रोकिंदैन

 

मेयर बालेन शाहले भने मन्त्रालयको विज्ञप्तिको जवाफ सामाजिक सन्जालमार्फत् फर्काउँदै धरहराको भूमिगत पार्किङ बन्द नहुने बताएका छन् । मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उदघाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको टिप्पणी गर्दै पार्किङ बन्द नहुने जवाफ दिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उदघाटन गर्दा दिएको अभिव्यक्ति स्मरण गराउँदै बालेनले फेसबुकमा लेखेका छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा, ‘नबनेको भए म बीसौं तलामा कसरी पुगें’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

काठमाडौं महानगर पालिकाका प्रवक्ता नवीन मानन्धर शहरी विकास मन्त्रालयसँग आवश्यकता अनुसार पार्किङ खुलाउने विषयमा मौखिक छलफल भएको बताउँछन् । अति आवश्यक परेर पार्किङ खुलाएको भन्दै उनले यही कारणले धरहराको काम ढिलाइ भयो भन्ने तर्क गलत भएको बताए । ‘जसरी दशैंको बेला पार्किङ खुलाएको हो, अहिले त्यसरी खुलाएका हौं । शहरी विकास मन्त्रालयसँग आवश्यकता अनुसार खुलाउने भन्ने मौखिक छलफल भएकै थियो,’ प्रवक्ता मानन्धरले भने ।

उनले महानगरले पार्किङ गराउँदा धेरै सवारी चालकहरुलाई सहज भएको भन्दै स्थानीयको मागलाई सम्बोधन गरेको बताए । ‘पार्किङको कारण जोखिम हुने, काममा ढिलाइ हुने केही हुँदैन । यत्रो समय पार्किङ गरिएको थिएन किन काम छिटो भएन ? इस्यू डाइभर्ट गर्न खोजिएको मात्रै हो,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले पार्किङ व्यवस्थापनको जिम्मेवारी नगर प्रहरीलाई दिएको छ । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निर्माण पक्षको लिखित अनुमति लिएर नै पार्किङ खुलाइएको भन्दै मानवीय सुरक्षाको जिम्मा महानगरले लिने बताउँछन् ।

‘हामीले निर्माण पक्षको पत्र लिएर नै पार्किङ खोलेेका छौं । भूमिगत तलामा पार्किङ गर्न मिल्ने अवस्था भएपछि खोलेका हौं । सुरक्षाको जिम्मा महानगरले लिएर खोलेको हो नि, पाँच जना नगर प्रहरी स्ट्यान्डबाई छन्,’ नगर प्रहरी प्रमुख पाण्डेले अनलाइनखबरसँग भने ।

उनले मानवीय सुरक्षा हेरेर नै पार्किङ गर्न दिइएको भन्दै लाइटिङ र सरसफाइको काम महानगरले तत्काल गर्ने दाबी गरे । ‘निर्माण कम्पनीले राख्नुपर्ने सीसीटीभी महानगरले अहिले अस्थायी रुपमा राख्छ । फिनिसिङ हुन बाँकी छ तर अहिले विकल्पको रुपमा पार्किङ गर्न अयोग्य स्थान भने होइन, महानगरको यो निर्णयमा पछि हट्ने कारण छैन,’ पाण्डेले भने ।

उनले सर्वसाधारणले पार्किङ गर्दा निर्माण पक्षलाई कुनै प्रभाव नपर्ने दाबी गर्दै भने, ‘हामीले गर्दा उहाँहरुको काममा असर पर्ने केही छैन, पार्किङ भूमिगत तल्लामा हुने हो । भूमिगत तल्लाको दोस्रो र तेस्रो तल्लामा गोदाम बनाउन नपाइने पिर होला, यत्रो समयसम्म त पार्किङ थिएन तर काम समयमा किन भएन ?’

‘निर्माण व्यवसायीले क्षतिपूर्ति माग्यो’

पटक-पटक म्याद थप्दा पनि निर्माण पूरा नभएको धरहरा निर्माण गरिरहेको जीआईईटीसी-रमण जेभीले महानगरलाई देखाउँदै क्षतिपूर्ति माग गरेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख कोषनाथ अधिकारीले बताए ।

धरहरा निर्माणको भौतिकतर्फको काम अझै आठ प्रतिशत बाँकी रहेको छ । पछिल्लो समय महानगरपालिकाले धरहरामा पार्किङ खुलाएको र त्यस अगाडि निर्माण कम्पनी जीआईईटीसी-रमण जेभीका कामदार बसिरहेको टुँडिखेलको टहरोमा डोजर चलाएको थियो ।

यी दुई घटनाका कारण काममा असर पुगेको भन्दै निर्माण कम्पनीले क्षतिपूर्ति समेत माग गर्दै पत्र पठाएको अधिकारीले जानकारी दिए । ‘निर्माण सम्पन्न नभई पार्किङ खुलाउँदा काम प्रभावित बनेको भन्ने निर्माण कम्पनीको गुनासो छ, त्यसमाथि महानगरले मजदुर बसेको क्याम्पमा डोजर चलाएको विषयलाई समेत इस्यू बनाइएको छ,’ उनले भने ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?