+
+

उद्घाटन गरेकै तीन वर्ष भयो, अझै बनेन धरहरा

११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामसाथ उद्घाटन गरेको पुनर्निर्मित धरहरा निर्माण झन्डै तीन वर्ष बित्दा पनि पूरा हुन सकेको छैन ।

अच्युत पुरी अच्युत पुरी
२०८० माघ २१ गते २०:२२

२१ माघ, काठमाडौं । ११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामसाथ उद्घाटन गरेको पुनर्निर्मित धरहरा निर्माण झन्डै तीन वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । जसले गर्दा आयोजनाको म्याद मात्र ६ पटकसम्म थप्नु परेको छ । २०७२ सालको विनाशकारी भूकम्पमा ढलेको धरहरा पुनर्निर्माण तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत अगाडि बढेको थियो ।

यो आयोजना प्राधिकरणको आयुभित्र निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालयमातहत सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको छ ।

विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख कोषनाथ अधिकारीका अनुसार आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । सोहीकारण पछिल्लो पटक आयोजनाको म्याद माघ मसान्तसम्म पुर्‍याइएको छ ।

धरहरा निर्माणको भौतिकतर्फको काम अझै आठ प्रतिशत बाँकी रहँदा थोरैथोरै म्याद थपेर भए पनि काममा दबाब दिनु पर्ने अवस्था देखिएको उनी बताउँछन् । ‘यो आयोजनाले निर्माणका बेला धेरै समस्या भोग्दै आयो, त्यसमाथि निर्माण कम्पनीको ढिलासुस्ती त छँदैछ,’ उनले भने ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाले धरहरामा पार्किङ खुलाएको छ । त्यसअगाडि निर्माण कम्पनी जीआईईटीसी–रमण जेभीका कामदार बसिरहेको टुँडिखेलको टहरोमा डोजर चलाएको थियो । यी दुई घटनाका कारण काममा असर पुगेको भन्दै निर्माण कम्पनीले क्षतिपूर्ति समेत माग गर्दै पत्र पठाएको उनले जानकारी दिए ।

११ वैशाख २०७८ मा पुनर्निर्मित धरहराको उद्घाटन समारोहलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ।

‘निर्माण सम्पन्न नभई पार्किङ खुलाउँदा काम प्रभावित बनेको भन्ने निर्माण कम्पनीको गुनासो छ, त्यसमाथि महागरले मजदुर बसेको क्याम्पमा डोजर चलाएको विषयलाई समेत ‘इस्यू’ बनाइएको छ,’ उनले भने ।

त्यसो त धरहरा निर्माण गरिरहेको रमण कन्ट्रक्सन पनि काममा ढिलासुस्तीका कारण पटक–पटक राज्यबाट कारबाही भोगिसकेको कम्पनी हो । २०७६ सालमै यो कम्पनीले जिम्मा लिएको हुलाकी सडकको काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न सिफारिस भएको थियो । क्षमताभन्दा बढी ठेक्का हातमा लिने र समयमा काम नसक्ने प्रवृत्ति यो कम्पनीले देखाउँदै आएको छ ।

धरहरा उद्घाटनकै समयमा सरकारले त्यसपछिको १० महिनामा सर्वसाधारणले चढ्न पाउने दाबी गरेको थियो । तर, धरहरा ढलेको साढे आठ वर्षमा पनि सर्वसाधारण चढ्न सक्ने गरी पुनर्निर्माण हुन सकेन ।

कहाँ अड्कियो काम ?

यो आयोजनाअन्तर्गत भौतिक संरचना निर्माणको काम अन्तिमतिर पुगेको प्रमुख अधिकारी बताउँछन् । अहिले विद्युतीय उपकरण जडान प्रक्रियामा गएर काम अड्किएको उनले बताए । ‘पाँच वर्ष अगाडि अनुमान गरिएका सामानको मूल्य र वस्तु आजका दिनमा धेरै परिवर्तन भइसकेको छ,’ उनले भने, ‘आयोजनाको काम ढिला हुँदा त्यो अनुमानअनुसार सामान नपाउने र पाए पनि त्यही मूल्यमा नपाउने अवस्था देखिएको छ ।’

अर्कातर्फ, धरहरा ठडाउने काम सम्पन्न भए पनि आयोजनाअन्तर्गत धेरै संरचना बनाउन बाँकी थियो । सोहीकारण हतार–हतार उद्घाटन गरिए पनि सम्पन्न हुन समय लागेको आयोजनाको भनाइ छ । धरहरा ठडाउने समयमा तीन तले भूमिगत पार्किङ, तार तले भूकम्प र टक्सार सम्बन्धी संग्रहालय, फुडकोर्टसहितको युटिलिटी ब्लक, बगैंचा, सुन्धारासहितका संरचना बनेकै थिएनन् ।

धरहराको भूमिगत पार्किङ ।

अहिले धरहरा निर्माण स्थलमा करिब ५० जना कामदारले काम गरिरहेका छन् । जसमध्ये भिमसेन स्तम्भ निर्माणको काम जोडतोडले बनिरहेको छ ।

बगैंचामा समेत फिनिसिङको काम भइरहेको कार्यस्थलमा खटिएका कामदारले जानकारी दिए । सुन्धाराको काम अझै पनि सुरु नै भएको छैन । यहाँ २४ सै घण्टा पानी झर्ने वयवस्था मिलाउने योजना छ ।

भत्किएको तीन वर्षपछि शिलान्यास

२०७२ वैशाखमा आएको विनाशकारी भूकम्पबाट भत्किएको धरहरा पुनर्निर्माण शिलान्यास तीन वर्षपछि १२ पुस २०७५ मा मात्र भएको थियो । त्यसको तीन वर्षपछि २०७८ मा आयोजनाको भौतिक संरचना आधा पनि नपुग्दै तामझामसहित उद्घाटन गरिएको थियो ।

तर, आयोजनाको काम अर्को तीन वर्ष पुग्दा पनि पूरा हुन सकेन । यसमा जग्गा प्राप्तिदेखि स्थानीय समस्याले समेत भूमिका खेलेको इकाइ प्रमुख अधिकारीले बताए ।

साढे ३ अर्ब लागत, ८० प्रतिशतमाथि भुक्तानी

यो आयोजना जीआईईटीसी–रमण जेभीले बनाइरहेको छ । आयोजनाको वित्तीय प्रगति ८० प्रतिशतभन्दा माथि पुगिसकेको छ । धरहरा बनाउन ३ अर्ब ४९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सरकारले आयोजना निर्माण गर्न ‘म बनाउँछु मेरो धरहरा’ नामक अभियान चलाएको थियो । अभियानबाट २४ करोड रुपैयाँ उठेको थियो ।

इकाइ प्रमुख अधिकारीका अनुसार यो बजेटमा भेरिएसनका कारण समग्रमा लागत केही बढ्ने अनुमान छ । ५–६ वर्ष अगाडिको अनुमान अनुसार अहिले सामग्री खरिद गर्दा सो रकमले अपुग हुने अवस्थामा भेरिएसन गर्नुपर्ने र त्यसको अनुमान भने भइनसकेको उनले बताए ।

कस्तो बन्दैछ धरहरा ?

बाहिरबाट हेर्दा पुरानै डिजाइनको ११ तलाजस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । यसको उचाइ जमिनबाट ८३.५८ मिटर छ । १९९० सालको भूकम्पअघि धरहरा ११ तला अग्लो थियो । त्यसबेला २ तला भत्किएर ९ तलामा सीमित बनेको थियो ।

यहाँ दुइटा लिफ्ट जडान गरी धरहरा चढ्न सकिने सुविधा मिलाइँदै छ । भूकम्पले भत्किएको पुरानो धरहरा संरचना भग्नावशेष भने खुलारूपमा अवलोकन गर्न सकिने गरी राखिएको छ । धरहरा टावरमुनि तीन तले भूमिगत पार्किङ बनाइएको छ । प्रशासनिक भवन र संग्रहालयसमेत यहाँ बन्दैछ ।

सर्वसाधारणले कहिले चढ्न पाउँछन् धरहरा ?

विद्युतीय उपकरण जडान र फिनिसिङको काम बाँकी रहेको यो आयोजना सरकारलाई हस्तान्तरण भई सर्वसाधारणको पहुँचमा आउने मिति भने अझै टुंगो लागेको छैन ।

‘ठ्याक्कै मिति त आजको दिनमा पनि घोषणा गर्न सक्ने अवस्था छैन । हामी हरेक दिनजसो आयोजनालाई गति दिन लागिपरेका छौं,’ केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख अधिकारी भन्छन्, ‘हाम्रो प्रयास निकट भविष्यमै आयोजनाको काम सम्पन्न गर्ने भन्ने छ ।’

उनका अनुसार निर्माण व्यवसायीले विनाअवरोध काम हुने हो भने अबको तीन महिनामा काम सकिने बताएको छ ।

राज्यले प्राथमिकता दिएन : ज्ञवाली

सरकारले भूकम्पपछिको पुनर्निर्माणलाई लक्षित गरी स्थापना गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालीन सीईओ सुशील ज्ञवाली धरहरा पुनर्निर्माणमा उद्घाटनभन्दा अगाडिको रफ्तार र पछिको रफ्तारका बीच ठूलो अन्तर आउनुमा राज्यको प्राथमिकताले प्रभाव पारेको बताउँछन् ।

उद्घाटन हुनुभन्दा अघि यसलाई शक्तिशाली पुनर्निर्माण प्राधिकरणले काम अगाडि बढाएको थियो । गोश्वारा हुलाक सार्नेदेखि संचयकोषको भवन भत्काएर धरहराको क्षेत्र विस्तार गर्ने जस्ता काम त्यो बेला निकै रफ्तार र प्राथिमकताका साथ भएको उनले स्मरण गरे । त्यसपछि प्राधिकरणको आयु सकिएसँगै यसको विघटन भयो । धरहरा सहरी विकास मन्त्रालयको जिम्मामा पुग्यो । मन्त्रालयमा पुगेसँगै समस्या सल्टाउन अन्तर निकाय समन्वयको अभावदेखि यो संरचनाको महत्व बुझेर नेतृत्व लिने निकायको अभाव हुँदा धरहरा पुनर्निर्माण समेत सरकारका अरु आयोजनाजस्तै सुस्त बनेको उनको भनाइ छ ।

‘चुस्त अनुगमन, समस्या आउँदा तत्काल माथिल्लो निकायसँग बसेर समस्या सल्टाउने नेतृत्वको अभाव भयो,’ उनी भन्छन्, ‘त्यसबेला डेडिकेटेड जिम्मेवारी पाएको निकायका रुपमा प्राधिकरण थियो, सबै समस्या त्यहीँबाट हुँदा कामलाई गति दिन सफल भएका थियौं ।’

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?