+
+
विचार :

त्रिवि सुधार्ने अबको बाटो

त्रिभुवन विश्वविद्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्ट’ बनाउने नेपाल सरकारको उद्देश्यलाई साकार पार्नको लागि त्रिविमा हुने गरेका फोहोरी राजनीतिक खेललाई सदाका लागि अन्त्य गर्दै, बोर्ड अफ ट्रस्टी मार्फत अघि बढ्ने प्रतिबद्धता गर्नुपर्दछ।

बसन्त न्यौपाने बसन्त न्यौपाने
२०८० माघ २३ गते १७:५७

मुलुककै जेठो र केन्द्रीय विश्वविद्यालय, ३० असार २०१६ मा स्थापित त्रिभुवन विश्वविद्यालय नेपालको शिक्षा क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण शैक्षिक संस्थाहरूमध्ये एक हो। यो विश्वविद्यालयले राष्ट्रभर शिक्षा पुर्‍याउँदा महत्त्वपूर्ण भूमिका निभाएको र यसले शिक्षा तथा अनुसन्धानको क्षेत्रमा योगदान पनि प्रदान गरेको छ।

नेपालको हालसम्म उच्च शिक्षाको कुल शैक्षिक भारमध्ये ८० प्रतिशत भन्दा बढी यसले बहन गर्दै आइरहेको छ। यसको सञ्जाल मनाङ जिल्ला बाहेक ७६ वटै जिल्लामा विस्तार भइसकेको छ। मुलुककै जेठो र केन्द्रीय त्रिभुवन विश्वविद्यालय जहाँ पढेका व्यक्ति राज्यका विभिन्न निकायमा कार्यरत र आफ्नो कार्यकौशलता प्रस्तुत गर्न सफल छन्, तर यो आफैं भने दिन प्रतिदिन धरासायी बन्दै गइरहेको छ, अर्थात् अझ बनाइँदैछ।

संसारभरिका उत्कृष्ट विश्वविद्यालयमा १००० भित्र अटाउँदै आएको यो विश्वविद्यालय अहिले निरन्तर तलतिर धकेलिंदो छ। यो ओरालो यात्रालाई नरोक्ने हो भने निकट भविष्यमै हामी देश जस्तै अन्तिमतिरबाट गणना गर्दा अगाडि आउने तहमा पुग्दैछौं। तसर्थ सम्पूर्ण सरोकारवालाहरु चिन्तित हुन जरुरी छ।

त्रिवि पछिल्लो वर्षहरूमा १००० देखि १३०० बीचमा पर्न थालेको छ, एशियामा पनि १०० स्थान भन्दा हामी तल जाँदैछौं। यो गर्विलो इतिहासलाई धुलिसात् बनाउने कि बेलैमा सच्चिएर अगाडि बढ्ने भन्ने गहन प्रश्न समयले हामीलाई छाडेको छ।

बसन्त न्यौपाने

आजको विश्वभरि भएका शिक्षार्थीहरूको आवश्यकता पूरा गर्नका लागि विश्वविद्यालयहरू अझै बढी महत्त्वपूर्ण बनेका छन्। यसको परिणामस्वरूप, शैक्षिक संस्थाहरूले शिक्षामा व्यावहारिक अभ्यास, अनुसन्धानमा व्यापकता, विश्वव्यापी दृष्टिकोण र अध्यापक र विद्यार्थीबीचमा सन्तुलन र यसको दिगो संरक्षणमा राज्यको पूर्ण सहयोग र संलग्नता हुन जरुरी छ।

प्रविधि र सामाजिक जटिलताहरूको प्रगतिले विश्वविद्यालयहरूलाई अझ नवीन ढंगले आफ्नो बृहत्तर विकास गर्दै उच्च सांस्कृतिक तथा शैक्षिक दायरा फराकिलो बनाउन तथा बढाउन बाध्य बनाउँछ जुन आजको विश्वव्यापी मान्यता पनि हो।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले विश्वविद्यालय मृत हुन लागेको भनेर दिएको अभिव्यक्तिले धेरैको मथिङ्गल हल्लियो। शिक्षामा चासो राख्ने, विश्वविद्यालयप्रति चासो राख्ने, देश भित्र बाहिर सबैतिरबाट चासो र चिन्ता व्यक्त हुन थाल्यो। सदन, सरकार र सामाजिक सञ्जाल सबैतिर यसले पर्याप्त स्थान ओगट्यो। सरकार प्रमुखले यसको विषय र गाम्भीर्यलाई विचार गरेर अब हुने पदाधिकारी नियुक्तिमा भागबन्डा नगर्ने भनेर भन्दै आउनुभएको छ।

यो सकारात्मक कुरा हो तथापि सरकारको कार्यशैली त्यो अनुरुपको छैन जसको पछिल्लो उदाहरण उपकुलपति नियुक्तिको लागि जारी सूचनालाई लिन सकिन्छ। व्यापक जनदबाब र आलोचनापछि उक्त कुरा सच्याइए पनि उसको काम कारबाहीमा प्रशस्त शंका गर्नुपर्ने आधार बाँकी नै छ। नत्र भने प्रधानमन्त्री यस्ता सानामसिना कुरामा किन अड्किनुपर्छ ?

संसारभरि राम्रा विश्वविद्यालयहरुले प्रयोग गर्दै आइरहेको बोर्ड अफ ट्रष्टी बनाउन र यसैका माध्यमबाट विश्वविद्यालयका सबै पदमा प्रतिस्पर्धा गराउन यो सरकारलाई कसले रोकेको छ? तसर्थ हाम्रा विश्वविद्यालय सुधार्न गोहीका आँसु हैन सरकारको उचित पहलकदमी आवश्यक छ, यो बाटोमा हामी हिंडन जरुरी छ।

प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने परम्परा विपरीत योगमाया आयुर्वेद विश्वविद्यालयले प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी विधेयक संशोधन समेत गरेको छ।

विश्वविद्यालयले शैक्षिक क्षेत्रमा उच्च योगदान दिएका जुनसुकै व्यक्तिलाई पनि विश्वविद्यालयमा ल्याउन सकिने भएको छ। कार्यान्वयन गर्न अझै पनि केही जटिलता रहेका छन्। तर, हाम्रा विश्वविद्यालयहरु जानुपर्ने बाटो भनेको त्यही हो।

त्रिभुवन विश्वविद्यालय एउटा कारणले मात्र बिग्रिरहेको छैन, विभिन्न समस्याले यसलाई एकसाथ थिचिरहेका छन्, अझ समस्याग्रस्त बनाउँदै छन्। विभिन्न समस्याको परिणाम आज त्रिवि दिन प्रतिदिन कमजोर बन्दै गैरहेको छ।

यसको एक प्रमुख कारण त्रिविको खस्कँदो शैक्षिक गुणस्तर हो, जसले शिक्षार्थीहरूलाई उच्च गुणस्तरमा शिक्षा प्रदान गर्नमा असमर्थ बनाएको छ। विश्वविद्यालयमा हुने चरम राजनीतिक भागबन्डाका कारणले यसको समग्र पक्षमा गहिरो नकारात्मक प्रभाव त परेकै छ अझ त्यसैका आधारमा हुने विभिन्न पदाधिकारीहरूको नियुक्तिले झन् त्यो समस्यालाई बढाइरहेको पाउन सकिन्छ।

चरम राजनैतिक भागबन्डा यसको प्रमुख समस्या हो भनेर सबैले अनुभूति गर्दा पनि उक्त समस्यालाई निराकरणमा उदासीन हुने र सार्वजानिक खपतका लागि सस्ता कुरा गर्ने यो विश्वविद्यालयलाई बिगार्ने सबैभन्दा दूषित पात्रहरु हुन् भनेर भन्नलाई कुनै साइत हेरिरहनुपर्दैन।

त्रिभुवन विश्वविद्यालय अहिले समस्यामा छ र यो समस्या एकाएक प्रकट भएको होइन। हिजोका गलत निर्णय, गलत नेतृत्व, गलत नीति र राजनीतिका नाममा गरिएका गलत हस्तक्षेपको प्रभाव अहिले सघन रुपमा देखापरेको मात्र हो।

विश्वविद्यालयमा विद्यार्थी भएनन् भनेर चिन्ता व्यक्त गर्नेले यसको कारण खोज्न लागेनौं, चरम राजनीति भयो भन्नेले सुधार गर्न लागेनौं, अध्यापन अनुसन्धानमा व्यस्त हुनुपर्ने विश्वविद्यालयका प्राध्यापकहरु दुई-चार पैसाको लोभमा हामी अन्तै बहकियौं।

कुनै पनि राजनीतिक दलका बैठकमा विश्वविद्यालयको गुणस्तर सुधारको बारेमा छलफल गर्दैनौं तर बाहिर ठूलो स्वरमा हल्ला गर्दछौं, सदनमा सडकमा कहीं कतै शीर्ष नेताले यसबारे चासो, चिन्ता व्यक्त गरेको पाइँदैन। न त कुनै विद्यार्थी संगठन नै विश्वविद्यालय सुधारका लागि रचनात्मक आवाज उठाउँछ।

राजनैतिक मुद्दामा सडक तताउने विद्यार्थीहरु आफ्नै भविष्य जोडिएको यसका बारेमा गम्भीर बन्दैनन्, खासै बोल्दैनन्। र, सबैभन्दा महत्वपूर्ण कुरा, सरकार जो सबैभन्दा जिम्मेवार बन्नुपर्ने हो उ आफैं रमिते बनेर बसिरहेको छ कुनै चासो नै नभए जस्तो गरिरहेको छ। त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म अनेक चुनौती र परिस्थितिको सामना गर्दै आइरहेको छ।

यसले उच्च शिक्षा तथा अनुसन्धानको क्षेत्रमा आफूलाई स्थापित गरेको छ, तर अझ राम्रोसँग आफूलाई अब्बल बनाएर अगाडि जानको लागि केही सुधार गर्न जरुरी छ। त्रिभुवन विश्वविद्यालयको अहिलेको परिस्थितिमा आफूलाई निम्न कुरामा सुधार गरेर अगाडिको बाटो तय गर्नुपर्ने आवश्यकता छ।

१. शैक्षिक गुणस्तर तथ्यगत प्रगति

त्रिभुवन विश्वविद्यालयले शैक्षिक गुणस्तर बढाउन र तथ्यगत प्रगति गर्नका लागि आफूले नयाँ शैक्षिक योजनाहरू प्रारम्भ गरेको छ, तथापि यसले आफूलाई तथ्यगत विकासमा चुनौतीहरू देखाएको छ। शैक्षिक प्रणालीमा नै सुधार गर्दै जाने आवश्यकता छ र यो विश्वविद्यालयलाई नयाँ प्रणालीमा परिवर्तन चाहिएको छ।

२. अद्यावधिक शैक्षिक पाठ्यक्रमहरू

त्रिभुवन विश्वविद्यालयले आफ्नो पाठ्यक्रमहरूलाई अद्यावधिक गर्दै, विशेषगरी अनुसन्धान र व्यावहारिक ज्ञानलाई विकास गर्ने गरी पठ्यक्रम बनाई विद्यार्थीलाई विश्वव्यापी रुपमा प्रतिस्पर्धी बनाउन सकिने गरी प्रयास गर्न जरुरी छ।

राज्यको अल्पकालीन र दीर्घकालीन आवश्यकता पहिचान गरी सोही अनुरुपका पाठ्यक्रमहरू विकास गर्नुपर्दछ जसले ज्ञानलाई व्यवहारमा जोड्नेछ भने सीपले व्यक्तिको आवश्यकता पूरा गर्नुका साथै राज्यको संसाधन व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ। जसकारणले अहिले घट्दै गएको आकर्षणलाई फेरि पुनर्जागरण गर्न मद्दत गर्नेछ।

३. अध्ययन अनुसन्धानमा उत्कृष्टता

त्रिभुवन विश्वविद्यालयले अध्ययन र अनुसन्धानमा आफूलाई प्रमाणित गर्न सक्नुपर्दछ। विश्वविद्यालयमा अब्बल प्राध्यापकहरु हुनुहुन्छ तर विविध कारणले उहाँहरुले अवसर पाउनुभएको छैन, उहाँहरुको क्षमता पहिचान गर्दै राज्य र विश्वविद्यालयले अनुसन्धानलाई सपोर्ट गर्न जरुरी छ।

हामीसँग भएका ४ वटा अनुसन्धान केन्द्र जुन अहिले हाजिर गरेर जागिर खाने थलोको रुपमा परिचित छन् तिनीहरुलाई अझ क्रियाशील बनाएर लैजानुपर्दछ। विश्वव्यापी प्रतिस्पर्धी बनाएर ठूला–ठूला अनुसन्धान नेपालमा गर्न सक्ने व्यक्तित्वहरुलाई ती अनुसन्धान केन्द्रमा जिम्मेवारी दिन जरुरी छ।

४. विश्वविद्यालय अध्यापकहरूको विकास

उच्च शिक्षालाई उत्कृष्ट बनाए राख्नका लागि त्रिभुवन विश्वविद्यालयले आफ्ना अध्यापकहरूलाई नयाँ अनुसन्धान र शोधको क्षेत्रमा प्रोत्साहित गर्नुपर्छ। अन्तर्राष्ट्रिय अध्यापकहरूसँग समन्वय गरी उनीहरूलाई बाहिरका प्राध्यापकहरुसँगको सहकार्यमा काम गर्ने वातावरण बनाउन सके नयाँ–नयाँ सिकाइ हुने र त्यसले त्रिभुवन विश्वविद्यालयको शैक्षिक तथा अनुसन्धानात्मक क्षमता विकासमा सहयोग पुग्नुका साथै विद्यार्थीलाई राम्रा विश्वविद्यालयमा थप उच्च शिक्षाको लागि अवसर पनि खुल्नेछ।

५. अन्तर्राष्ट्रिय सहयोग विश्वविद्यालयहरूसँग सहकार्य

त्रिभुवन विश्वविद्यालयले विश्वभरि राम्रा उच्च शिक्षण संस्थाहरूसँग सहकार्य गरी योजना बनाएर अनुसन्धान, शिक्षा र प्रशासनको क्षेत्रमा अनुभव बढाउनुपर्छ। यो संस्कृतिले विश्वविद्यालयको समग्र पक्षको सुधारमा सकारात्मक प्रभाव पर्दछ।

६. सूचनाप्रविधि प्रणालीको सुधार

त्रिभुवन विश्वविद्यालयमा नयाँ सूचना प्रणाली र प्रविधि लागू गरी शिक्षा तथा अनुसन्धानमा सुधार गर्नुपर्छ। अनलाइन पाठ्यक्रम तथा अनुसन्धान प्रक्रियाहरूले विश्वविद्यालयलाई गरिमामा पुर्‍याउन सहयोग पनि गरेको हुन्छ। नेपालको शैक्षिक समृद्धिमा यसले सहयोग पुर्‍याउँछ।

नेपालको भौगोलिक एवं सांस्कृतिक विविधता र विशिष्टता अनुरुप दक्षिणएशियाको प्रमुख शैक्षिक गतव्य बनाउनको लागि विश्वविद्यालयलाई अझ बढी हवको रुपमा विकास गर्न आवश्यक छ। विश्वविद्यालयले वैश्विक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण योगदान दिन सकोस्। तथापि, यसमा पनि विश्वविद्यालयले अझ बढी शक्ति र अनुसन्धानका लागि विभिन्न क्षेत्रहरूमा सहयोग गर्न सक्ने क्षमता बनाउन आवश्यक छ। स्थानीय आवश्यकता र माग बमोजिम उच्च शिक्षामा सीमान्तकृत र विपन्न वर्गको पहुँच स्थापित गर्न आवश्यक छ।

पछिल्लो समय त्रिविका भौतिक सम्पत्तिहरू उसको स्वीकृति बेगर नेपाल सरकारले हालै घोषणा गरिएका नयाँ विश्वविद्यालयहरूमा हस्तान्तरण गर्दै जाने कार्यलाई अन्त्य गराउन पहलकदमी लिनुपर्ने देखिन्छ। त्रिविलाई ‘सेन्टर अफ एक्सिलेन्ट’ बनाउने नेपाल सरकारको उद्देश्यलाई साकार पार्नको लागि छुट्याएको बजेटलाई सही ठाउँमा प्रयोग गर्न सक्नुपर्दछ। त्रिविमा हुने गरेका राजनीतिका फोहोरी खेललाई सदाका लागि अन्त्य गर्दै, बोर्ड अफ ट्रस्टी मार्फत अघि बढ्ने प्रतिबद्धता गर्नुपर्दछ।

(गोलवि न्यौपाने नस्थित युनिभर्सिटी अफ चानिज एकेडेमी अफ साइन्सेसमा विद्यावारिधि गर्दैछन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?