+
+

राष्ट्रिय सभामा विरक्त वामदेव

सांसद गौतम भन्छन्, ‘राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ । दुवै सदन बराबर अधिकार भएको संस्था बनाऔं भन्ने विचार थियो । सफल/असफल हुनु आफ्नो ठाउँमा छ तर, राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्थामा म अहिले पनि अडिग छु ।’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० माघ २४ गते २०:५०

२४ माघ, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर वामदेव गौतमले ‘माननीय पद कहिले जाला जस्तो भएको’ बताएका छन् । गौतम राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य हुन् । २०७४ मा बर्दियाबाट प्रतिनिधि सभाको चुनाव हारेका गौतमलाई १ असोज २०७७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनित गरेकी थिइन् ।

त्यसबेला राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयनका लागि संविधानमा व्यवस्था गरिएको कोटामा प्रतिनिधि सभाको चुनाव हारेका व्यक्तिलाई लगिएको भनी आलोचना भएको थियो । उक्त आलोचनालाई वास्ता नगरी शपथ लिएका गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधनको वकालत गरिरहेका थिए ।

प्रतिनिधि सभाको चुनाव हारेपछि गौतमले प्रतिनिधि सभामै आउन जोडबल गरेका थिए । काठमाडौं–७ बाट उपचुनाव लडेर प्रतिनिधि सभा सदस्य बन्ने उनको योजना थियो । त्यसका लागि त्यहाँबाट निर्वाचित रामवीर मानन्धरलाई मनाउन सफल भए ।

मानन्धरले पत्रकार सम्मेलन गरेर गौतमका लागि छाड्न तयार भएको बताए । तर, जनविरोधका कारण सफल हुन सकेनन् । हेलिकप्टर दुर्घटनामा परी रवीन्द्र अधिकारीको मृत्यु भएपछि खाली भएको कास्की–२ बाट गौतमले चुनाव लड्न खोजे ।

तर, कतैबाट पनि प्रतिनिधि सभामा छिर्न सकेनन् । त्यसपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जोडबलमा राष्ट्रिय सभा सदस्यमा मनोनित भए । त्यसपछि आफू प्रधानमन्त्रीको दौडमा रहेको भनी उनले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधनका लागि प्रयास गरे ।

संविधानतः राष्ट्रिय सभा सदस्य उपप्रधानमन्त्रीसम्म हुनसक्छन्,  प्रधानमन्त्री हुन प्रतिनिधि सभा सदस्य नै हुनुपर्छ । तर, प्रधानमन्त्रीको आकांक्षा राख्दै राष्ट्रिय सभा पुगेका गौतमले त्यसका लागि प्रयास गरे पनि सफल नभएपछि निराश भएका हुन् ।

राष्ट्रिय सभा सचिवालयका अनुसार बुधबार बोल्छु भनी उनले समय मागेका थिए । कार्यव्यवस्था परामर्श समितिको सुझाव समेतका आधारमा संसद सचिवालयले बामदेव गौतमलाई पाँच मिनेट समय तय गरेको थियो ।

बुधबार रोष्ट्रममा बोल्न पुगेका गौतमले राष्ट्रिय सभा सदस्य पदलाई ‘अपमानित पद’को संज्ञा दिए । ‘अहिलेको आर्थिक सम्बन्धमा मात्रै म भन्न चाहन्छु । किनभने, पाँच मिनेटमा मैले बोल्नुपर्छ र यो अपमानजनक पदमा कहिलेदेखि मुक्त हुन पाइएला भन्ने पनि मलाई लाग्छ’, गौतमले भने ।

राष्ट्रिय सभा बैठक सकिएपछि अनलाइनखबरसँगको कुराकानीमा सांसद गौतमले आफूलाई राष्ट्रिय सभा सदस्य पद साँच्चै अपमानित पद महसुस भएको बताए ।

‘राष्ट्रिय सभामा मनोनित सांसदलाई बोल्न पाँच मिनेट दिइन्छ । पार्टीका लागि जति समय पनि दिइन्छ’ उनले अनलाइनखबरसँग भने, ‘पाँच मिनेटमा म विचार व्यक्त गर्न नै सक्दिनँ । यो एउटा कारण हो जसले अपमानित महसुस गराउँछ ।’

प्रतिनिधि सभा र राष्ट्रिय सभाका बीचमा अनेकन् विभेद रहेको र विभेदकै कारण आफूले कहिल्यै राष्ट्रिय सभा पद सम्मानित पद हो भनी बोध गर्न नसकेको भनी सांसद गौतमले आफू निराश हुनुको कारण सुनाए ।

उनी भन्छन्, ‘प्रतिनिधि सभालाई भन्दा राष्ट्रिय सभालाई विभेद छ । प्रतिनिधि सभाका प्रधानमन्त्री बन्न पाउँछन् । राष्ट्रिय सभाका प्रधानमन्त्री बन्न पाउँदैनन् । सरकार बनाउन पनि राष्ट्रिय सभाको भूमिका हुन्न । राष्ट्रिय सभा पूरै उपेक्षित छ ।’

आफू राष्ट्रिय सभामा मन नहुँदा नहुँदै बसिरहेको उनको भनाइ छ । ‘यस्तो सभा (राष्ट्रिय सभा)मा मन नहुँदा नहुँदै बस्नुपरेको छ । यो कुरा मैले अन्यत्र पनि भन्ने गरेको छु । आज सदनमा भनेको त्यही हो’, गौतमले अनलाइनखबरसँग भने ।

‘राष्ट्रिय सभामा मनोनित सांसदलाई बोल्न पाँच मिनेट दिइन्छ । पार्टीका लागि जति समय पनि दिइन्छ’ उनले अनलाइनखबरसँग भने, ‘पाँच मिनेटमा म विचार व्यक्त गर्न नै सक्दिनँ । यो एउटा कारण हो जसले अपमानित महसुस गराउँछ ।’

राष्ट्रिय सभा सदस्य भएलगत्तै आफूले प्रतिनिधि सभा र राष्ट्रिय सभा बराबर अधिकार भएको सभा बनाउन लागिपरेको तर सफल नभएको उनको स्वीकारोक्ति छ ।

सांसद गौतम भन्छन्, ‘राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ । दुवै सदन बराबर अधिकार भएको संस्था बनाऔं भन्ने विचार थियो । सफल/असफल हुनु आफ्नो ठाउँमा छ तर, यस्तो विचार (राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था) मा म अहिले पनि अडिग छु ।’

तपाईं आफैं संविधान सभामा हुनुहुन्थ्यो । संविधान बनाउँदा किन ख्याल गर्नुभएन भन्ने प्रश्न भने उनले पन्छाए । संविधान बनाउन भूमिका खेलेको र राम्रो संविधान बनाएको उनको दाबी छ ।

कांग्रेस र कम्युनिस्ट एकै ठाउँमा आएर संविधानको प्रस्तावनामै लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद उन्मुख नेपाल भनिएको उल्लेख गर्दै उनले यसको सही कार्यान्वयनका लागि संविधान जारी भएपछिका सरकारले ध्यान नदिएको आरोप लगाए ।

संसद सचिवालयका अनुसार राष्ट्रिय सभामा गौतमको कार्यकाल २०८२ साल फागुन २० गतेसम्म छ । यहाँ उनले तीन वर्ष बिताइसकेका छन् ।

२०५० सालमा तत्कालीन एमालेमा संगठन विभाग प्रमुखको महत्वपूर्ण जिम्मेवारी सम्हालेका गौतमले संसदबाट महाकाली सन्धि अनुमोदन गरेको विषयलाई लिएर भएको विवादका क्रममा २०५४ सालमा एमाले फुटाए ।

२०५६ सालमा भएको आम चुनावमा एमाले फुटेर बनेको मालेले एक सिट पनि जित्न सकेन । त्यसपछि २०५८ सालमा गौतम एमालेमै फर्किए ।

पहिलो संविधान सभाको निर्वाचन २०६४ मा बर्दियाबाट चुनाव हारे पनि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतमलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाए । २०७० मा चुनाव जितेर संविधान सभामा सक्रिय भूमिका खेलेका गौतम २०७४ को प्रतिनिधि सभा सदस्यको चुनावमा पराजित भए ।

त्यसयता निरन्तर शक्ति आर्जनका लागि क्रियाशील रहे पनि हरेक चाहनामा असफल हुँदै आएका गौतम राष्ट्रिय सभा पुगे । राष्ट्रिय सभामा गरेको प्रयास पनि सफल हुन नसकेपछि गौतम पछिल्लो समय निराश देखिएका हुन् ।

आफ्नो निराशालाई लिएर राष्ट्रिय सभा सदस्य पदलाई नै अपमानित पदको संज्ञा गौतमले दिंदा राष्ट्रिय सभामा उपस्थित कुनै पनि सांसदले यसलाई प्रतिष्ठाको विषय बनाएनन् । कुनै पनि सांसदले यो विषयलाई राष्ट्रिय सभाको अपमान ठानेनन् र नियमापत्ति गरेनन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?