+
+

एमसीसीको विद्युत प्रसारण लाइनका लागि हेटौंडा र कैलाशमा जग्गा अधिग्रहण गरिंदै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते ८:३६

२५ माघ, हेटौंडा । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)द्वारा सन्चालित ४०० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले मकवानपुरको साबिक नामटार, कालिकाटार (हाल कैलाश गाउँपालिका), हेटौंडा-३ र हेटौंडा-११ का जग्गाधनीलाई मुआब्जा तथा क्षतिपूर्ति लिन आउन प्रशासनमार्फत सूचना गरेको हो ।

घरगोठ, टहरा, कटेरा तथा रुख विरुवासमेत स्थानीय रुपमा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन र जग्गाको स्वामित्व फरक पर्न गएमासमेत दाबी गर्न प्रशासनले १८ माघमा सूचना जारी गरेको छ ।

साबिक बसामाडी गाविस, नामटार गाविस, कालिकाटार गाविस र हेटौंडा-११ को जग्गा अधिग्रहण गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुले जनाएको छ ।

२१ दिने सूचना प्रकाशन गरी मुआब्जा तथा क्षतिपूर्तिका लागि निबेदन माग गरिएको हो । सूचना प्रकाशित भएको मितिदेखि नै अधिग्रहण गरिने जग्गाहरु रोक्ने हुने प्रशासनले जानकारी दिएको छ ।

प्रशासनले जग्गा रोक्का हुनेहुँदा अधिग्रहण हुने क्षेत्रमा कुनै पनि संरचना थप्ने काम नगर्न पनि अनुरोध गरेको छ ।

प्रसारण लाइनको टावर निर्माण गर्ने प्रयोजनका लागि हेटौंडा-११ मा कृष्णप्रसाद सुबेदी, राममणि ढुंगाना र प्रमोदसिंह रानाभाटको जग्गा अधिग्रहरणमा परेको छ ।

साबिक नामटारमा कृष्णबहादुर नेगीको जग्गामा टावर राखिने जनाइएको छ । साबिक कालिकाटार र बसामाडीमा पनि २/२ जनाको जग्गा अधिग्रहणमा परेको प्रशासनले जनाएको छ ।

अधिग्रहणमा परेको जग्गामा निर्माण भएका घरटहरा, अन्य संरचना, रुख बिरुवाको मुआब्जाका लागि निबेदन माग गरिएको हो ।

३१५ किलोमिटर लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन अन्तर्गत हेटौंडा-११ थानाभर्‍याङमा ४०० केभी क्षमताको ‘इण्डोर ग्यास इन्सुलेटेड सब-स्टेसन’ निर्माण गरिएको छ ।

एमसीए नेपाल विकास समितिको वेबसाइटमा उल्लेख गरिएअनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकामा रातमाटे सब-स्टेसन, तनहुँमा नयाँ दमौली सब-स्टेसन र नवलपरासी पश्चिमको भुमहीमा नयाँ बुटवल सब-स्टेसन निर्माण गरिनेछ ।

आयोजनाअन्तर्गत प्रसारण लाइन काठमाडौंको लप्सीफेदी र मकवानपुरको हेटौंडा-११ थानाभर्‍याङ सब-स्टेसनमा जोडिनेछ ।

झन्डै तीन हजार मेगावाट भन्दा बढी (विद्युत) बोक्ने ४०० किलो भोल्टको हाइ क्यापासीटी (प्रसारण) लाइन हो । यो काठमाडौंको उत्तरपूर्व लप्सीफेदीदेखि नुवाकोटको रातमाटे सब-स्टेसनसम्म र त्यहाँबाट दुईवटा लाइन एउटा हेटौंडा जान्छ भने अर्को दमौली जाने एमसिए नेपालले आफ्नो वेवसाइटमा जनाइएको छ ।

‘दमौलीबाट ८० किलोमिटर दक्षिणतर्फ गएर नवलपरासीस्थित नयाँ बुटवल सब-स्टेसनमा पुग्छ र २२ किलोमिटर अझै दक्षिण हुँदै भारतसँगको सीमामा पुग्छ’, यस आयोजनाको प्रसारण लाइनसम्बन्धी अंश करिब ३१५ किलोमिटर लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन -केही क्वाड-सर्किट टावरसहित) हुनेछ ।

विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीनवटा नयाँ ४०० केभी क्षमताको इण्डोर ग्यास इन्सुलेटेड सब-स्टेशन -जीआईएस) निर्माण गरिनेछ ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रातमाटे सब-स्टेशन, तनहुँ जिल्लामा नयाँ दमौली सब-स्टेशन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सब-स्टेशन निर्माण गरिनेछ ।

निर्माणाधीन प्रसारण लाइन काठमाडौं जिल्लाको लप्सीफेदी र मकवानपुरको नयाँ हेटौंडास्थित नेपाल विद्युत् प्राधिकरणका विद्यमान सब-स्टेशनहरुमा पनि जोडिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?