+
+

लागत अनुमानभित्रै एमसीसी सबस्टेसनमा ठेकेदारको प्रस्ताव

सबस्टेसन परियोजनाको अनुमानित बजेट १३ करोड अमेरिकी डलर रहेको छ । ठेकेदारहरूको सबैभन्दा कम लागत प्रस्ताव १३ करोड १३ लाख अमेरिकी डलर छ ।

जनार्दन बराल जनार्दन बराल
२०८० चैत ६ गते २०:१४

६ चैत, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को लगानीका सबस्टेसन निर्माणका लागि ठेकेदार कम्पनीहरुले गरेको न्यूनतम मूल्य प्रस्ताव प्रारम्भिक लागत अनुमानभित्रै रहेको पाइएको छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले गत १४ फागुनमा निर्माण कम्पनीहरुको पेस गरेको वित्तीय प्रस्ताव खोलेको थियो ।

तीन वटा प्रमुख सबस्टेसन परियोजनालाई एमसीएले तीन लटमा विभाजन गरेको छ । ती सबस्टेसन निर्माणमा सात वटा कम्पनीले टेन्डर हाले पनि प्राविधिक रुपमा ६ वटा कम्पनी मात्रै योग्य देखिएका थिए ।

सबस्टेसन निर्माणका लागि कुल लागत अनुमान १३ करोड अमेरिकी डलर अर्थात १७ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान रहेको एमसीए नेपालले अनलाइनखबरलाई जानकारी दिएको छ ।

तीन वटा लटमा कम्पनीहरुले गरेको सबैभन्दा कम मूल्य प्रस्ताव एमसीएको लागत अनुमानकै सेरोफेरोमा रहेको पाइएको हो ।

पहिलो लटअन्तर्गत ४ सय केभी क्षमताको रातमाटे सबस्टेसन निर्माणका अतिरिक्त लप्सीफेदी र हेटौंडामा सबस्टेसनको काम हुनेछ । यो लटमा सबैभन्दा कम भारतको टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले ५ करोड १७ लाख ९६ हजार २ सय ६७ अमेरिकी डलर (६ अर्ब ८८ करोड ८९ लाख रुपैयाँ) मा प्रस्ताव गरेको छ ।

त्यस्तै, दोस्रो लटमा पर्ने ४ सय केभीको न्यू बुटवल सबस्टेसन निर्माणमा सबैभन्दा कम लागत प्रस्ताव भारतको लिङ्जन इन्डिया प्रालिले गरेको छ । उसले ३ करोड ९६ लाख ९१ हजार ८ सय ६९ अमेरिकी डलरमा परियोजना निर्माण गर्ने प्रस्ताव पेस गरेको छ ।

त्यस्तै, तेस्रो लटमा पर्ने ४ सय केभी न्यू दमौली सबस्टेसन निर्माण गन पनि टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले नै कम प्रस्ताव गरेको छ । उसले ३ करोड ९८ लाख २० हजार तीन अमेरिकी डलरमा परियोजना निर्माण सन्पन्न गर्ने बताएको छ ।

यस हिसाबले तीन वटा सबस्टेसन बनाउन सबैभन्दा कम लागत प्रस्ताव गर्ने कम्पनीहरुको कुल योग १३ करोड १३ लाख अमेरिकी डलर अर्थात १७ अर्ब ४६ करोड रुपैयाँ छ ।

सबस्टेसन परियोजनाको अनुमानित लागत १३ करोड अमेरिकी डलर रहेको र यो खरिद सम्बन्धी आह्वान गर्दा नै सार्वजनिक गरिएको एमसीए नेपालले जनाएको छ । यस हिसाबले सबैभन्दा कम प्रस्ताव र एमसीए– नेपालको लागत अनुमान करिब समान अंक रहेको देखिएको हो ।

तर, हरेक लटको अनुमानित लागत भने एमसीए नेपालले सार्वजनिक गर्न मानेन । ‘अब एमसीए नेपालले मूल्यांकन प्रतिवेदन तयारी गर्नेछ । र, यो बोलपत्र प्रक्रिया सम्पन्न भएपछि मात्रै थप विवरण सार्वजनिक गर्नेछौं,’ एमसीए नेपालले अनलाइनखबरलाई उपलब्ध गराएको लिखित उत्तरमा उल्लेख छ ।

तर, सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने ठेकेदारले नै यो परियोजनाको ठेक्का पाउने ग्यारेन्टी नरहेको पनि एमसीए– नेपालले जनाएको छ ।

‘यो खरिदको छनोट विधि ‘गुणस्तर र मूल्यमा आधारित छनोट (क्वालिटी प्राइस बेस्ड सेलेक्सन (क्वूपीबीएस)’ मा आधारित छ । मूल्य र प्राविधिक मूल्यांकन दुवैमा गरी जुन बोलपत्र दाताले सबैभन्दा बढी अंक पाउँछ, उसैले ठेक्का पाउँछ,’ एमसीए नेपालले भनेको छ ।

पहिलो र तेस्रो लटमा सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले प्राविधिक मूल्यांकनमा समेत सबैभन्दा बढी अंक प्राप्त गरेको छ । त्यसो हुँदा यी दुवै लटको ठेक्का यही कम्पनीले पाउने लगभग टुंगो लागेको यस सम्बन्धमा प्राविधिक जानकारी राख्ने स्रोतले अनलाइनखबरलाई बतायो ।

दोस्रो लटमा सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने लिङ्जन इन्डिया प्रालिको भने प्राविधिक मूल्यांकनमा केही कम अंक छ । प्राविधिक मूल्यांकनमा सबैभन्दा धेरै अंक रहेको टाटा प्रोजेक्ट्स लिमिटेडले यो परियोजनामा सबैभन्दा बढी आर्थिक प्रस्ताव गरेको छ । त्यसैले यसले पाउने सम्भावना कम रहेको स्रोतले बतायो ।

‘प्राविधिक रुपमा अघि रहेका नेसनल कन्ट्रयाक्टिङ कम्पनी र साइमन्स लिमिटेड इन्डियासँग यो लटमा लिङ्जनको प्रतिस्पर्धा हुनसक्छ,’ उनले भने, ‘तर, प्राविधिक रुपमा योग्य भनेर छनोट भइसकेपछि सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने लिङ्जनले नै परियोजना हात पार्ने सम्भावना छ ।’

त्यसरी संयुक्त मूल्यांकन सम्पन्न भएपछि बोलपत्र दाताहरुलाई उनीहरुले पाएको अंकसहितको नतिजाहरुबारे जानकारी गराइने र सबैभन्दा बढी अंक प्राप्त गर्ने बोलपत्र दातालाई ठेक्का प्रदान गर्ने आशयपत्र प्रदान गरिने पनि एमसीए नेपालले जनाएको छ ।

‘सम्झौतासम्बन्धी वार्ता सम्पन्न भएपछि ठेक्का पाउने बोलपत्रदाताको नाम, लागत, कामको दायरा तथा सम्झौता अवधि हाम्रो वेब पेजमार्फत सार्वजनिक गरिनेछ,’ एमसीए नेपालले भनेको छ ।

सबस्टेसन निर्माणको ठेकेदार छनोट भइसकेपछि पनि निर्माणस्थलमा काम सुरु हुन अरु चारदेखि ६ महिना लाग्ने एमसीए– नेपालले जनाएको छ ।

‘यो डिजाइन तथा निर्माण सम्झौता हो । त्यसो हुँदा छनोट भइसकेको ठेकेदारले डिजाइन बनाउन, समीक्षा गर्न तथा अन्तिम रुप दिन चार देखि ६ महिनासम्म लगाउनेछ, त्यसपछि मात्रै निर्माणस्थलमा काम सुरु हुनेछ,’ एमसीए नेपालले भनेको छ ।

एमसीए– नेपालले १० चैत ०७९ देखि २ कात्तिक ०८० सम्मको अवधि राखेर सबस्टेसन निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । त्यसमध्ये प्राविधिक रुपमा योग्य ६ कम्पनीको आर्थिक प्रस्ताव १४ फागुनमा खोलिएको एमसीए–नेपालले जानकारी दिएको छ ।

प्रसारण लाइनको पुनः ठेक्का प्रक्रिया सकेसम्म चाँडो सुरु गर्छौं : एमसीए नेपाल

एमसीए नेपालले यसअघि नै विद्युत् प्रसारण लाइनको टेन्डर खोलेको थियो । तर, कम्पनीहरुले गरेको प्रस्तावित मूल्य एमसीएको लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो टेन्डर प्रक्रियालाई गत २६ असोजमा सम्पूर्ण रुपमा रद्द गरिएको थियो ।

त्यसमध्ये बुटवल–गोरखपुर १८ किलोमिटर प्रसारण लाइनलाई प्राथमिकताका साथ निर्माण गर्ने निर्णय एमसीए– नेपालको बोर्डले गरेको छ । सोहीअनुसार एनसीएले २ चैतमा सो खण्ड निर्माणका लागि टेन्डर आह्वान गरिसकेको छ ।

बाँकी २ सय ९७ किलोमिटर प्रसारणलाइन परियोजनाका लागि यही वर्ष (सन् २०२४) भित्र नयाँ टेन्डर खुलाउने तयारी रहेको एमसीए– नेपालले जनाएको छ ।

‘एमसीए नेपालले अर्थ मन्त्रालय र एमसीसीको सहयोगमा २ सय ९७ किलोमिटर खण्डको पुनः टेन्डरका लागि आवश्यक काम गरिरहेको छ,’ उसले अनलाइनखबरलाई उपलब्ध गराएको लिखित उत्तरमा भनेको छ, ‘त्यो ठेक्का प्रक्रियाको पुनः डिजाइन गर्ने र पुनः शुरुआत एक प्राविधिक प्रक्रिया हो । यसअघिको टेन्डरका प्रमुख लागतका अंगहरुलाई सम्बोधन गर्न डिजाइन मापदण्डहरु र निर्माण प्रावधानहरुको समीक्षा गर्न एमसीए नेपालले एक सुपरभाइजरी इन्जिनियरिङ फर्मलाई नियुक्त गरेको छ ।’

परिमार्जित डिजाइनअनुसार नयाँ टेन्टर आह्वान गरिने पनि एमसीए नेपालले जनाएको छ ।

लेखकको बारेमा
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?