+
+

एमसीसीको सबस्टेसन बनाउन ६ कम्पनी योग्य, न्यूनतम प्रस्ताव साढे १७ अर्ब

परियोजना निर्माण गर्न भारत, साउदी अरब, अफगानिस्तान तथा टर्कीका सात कम्पनीले आवेदन दिएकोमा ६ वटा प्राविधिक रूपमा सफल भएको एमसीए–नेपालले उल्लेख गरेको छ ।

जनार्दन बराल जनार्दन बराल
२०८० फागुन ३० गते १९:५८

३० फागुन, काठमाडौं । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)  अनुदानमा बन्न लागेका तीन सबस्टेसन परियोजनाको बोलपत्र खुलेको छ ।

‘मिलेनियम च्यालेन्ज एकाउन्ट’ (एमसीए) नेपालले तीन लटमा निर्माण हुने सबस्टेसनका लागि प्राविधिक रूपमा योग्य ६ कम्पनीको आर्थिक प्रस्ताव पनि खोलेको हो ।

एमसीसी सहयोगअन्तर्गत नुवाकोट रातमाटे, बुटवल र दमौलीमा ४ सय केभी क्षमताका तीन सबस्टेसन निर्माण हुँदै छन् । त्यसबाहेक काठमाडौं लप्सीफेदी र हेटौंडामा पनि सबस्टेसनको काम हुनेछ ।

ती परियोजना निर्माण गर्न भारत, साउदी अरब, अफगानिस्तान तथा टर्कीका सात कम्पनीले आवेदन दिएकोमा ६ वटा प्राविधिक रूपमा सफल भएको एमसीए–नेपालले उल्लेख गरेको छ ।

प्राविधिक रूपमा सफल भएका कम्पनीमध्ये पाँच भारत र एक साउदीको छ ।

पहिलो लट (लट–१) मा ४ सय केभी क्षमताको रातमाटे सबस्टेसन निर्माण गर्नुपर्ने छ  । यही लटअन्तर्गत लप्सीफेदी र हेटौंडामा सबस्टेसनको काम गर्नुपर्ने एमसीए–नेपालले जनाएको छ ।

यो लट निर्माण गर्न तीन कम्पनीले प्रस्ताव पेस गरेका छन् । सबैभन्दा कम भारतको टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले ५ करोड १७ लाख ९६ हजार २ सय ६७ अमेरिकी डलर (६ अर्ब ८८ करोड ८९ लाख रुपैयाँ) मा परियोजना निर्माण प्रस्ताव गरेको छ ।

त्यसपछि भारतकै साइमेन्स लिमिटेड इन्डियाले ६ करोड ७६ लाख ३८ हजार ९ सय ७६ डलर र तेस्रोमा केईसी इन्टरनेसनल लिमिटेडले ७ करोड २९ लाख ४५ हजार ६ सय २१ डलरमा परियोजना निर्माण प्रस्ताव गरेका छन् ।

यो लटमा प्राविधिक रूपमा पनि टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेड नै सबैभन्दा अघि छ । उसले ८३.६७ अंक पाएको एमसीए–नेपालले जनाएको छ ।

त्यसपछि क्रमशः साइमेन्सले ८१.४७ र केईसीले ८०.५८ अंक प्राप्त गरेका छन् ।

दोस्रो लट (लट–२) मा ४ सय केभी क्षमताकै न्यु बुटवल सबस्टेसन निर्माण हुनेछ । यो लटमा सबैभन्दा धेरै पाँच कम्पनीले निर्माण प्रस्ताव हालेका छन् ।

तीमध्ये सबैभन्दा कम प्रस्ताव भारतको लिङजन इन्डिया प्रालिले गरेको छ । उसले यो सबस्टेसन ३ करोड ९६ लाख ९१ हजार ८ सय ६९ डलर अर्थात् ५ अर्ब २८ करोड रुपैयाँमा निर्माण गर्ने प्रस्ताव गरेको छ ।

दोस्रो नम्बरमा रहेको केईसी इन्टरनेसनल लिमिटेडले ४ करोड ३९ लाख ५ हजार १ सय १७ डलर र तेस्रोमा साइमेन्स लिमिटेड इन्डियाले ४ करोड ५४ लाख ७१ हजार ६ सय ७९ डलरमा परियोजना सम्पन्न गर्ने प्रस्ताव पेस गरेका छन् ।

प्राविधिक रूपमा भने लट–२ का लागि सबैभन्दा बढी अंक टाटा प्रोजेक्ट्स लिमिटेडले ८५.७३ प्राप्त गरेको छ, तर आर्थिक प्रस्ताव पनि सबैभन्दा महँगो उसकै छ । उसले ६ करोड २५ लाख ३६ हजार १ सय ७९ डलरमा परियोजना निर्माण गर्न सक्ने प्रस्ताव गरेको छ ।

लट–३ अन्तर्गतको ४ सय केभी न्यु दमौली सबस्टेसन निर्माण गर्न चार कम्पनी इच्छुक देखिएका छन् । त्यसमध्ये सबैभन्दा सस्तोमा परियोजना बनाउने प्रस्ताव पनि टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडकै छ । यसले यो परियोजना ३ करोड ९८ लाख २० हजार ३ डलर (५ अर्ब ३० करोड रुपैयाँ) मा बनाउने प्रस्ताव गरेको छ ।

दोस्रो सस्तो प्रस्ताव केईसी इन्टरनेसनल लिमिटेडको छ । उसले यो परियोजना ४ करोड ८४ लाख १८ हजार ६ सय ६४ डलर र साइमेन्स लिमिटेड इन्डियाले ५ करोड २३ लाख २२ हजार ४ सय ४७ डलरमा यो लट निर्माण सम्पन्न गर्ने प्रस्ताव गरेका छन् ।

यो लटका लागि प्राविधिक रूपमा टेक्नोइलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले नै सबैभन्दा धेरै अंक प्राप्त गरेको छ । यो कम्पनीले लट–३ का लागि ८४.११ अंक प्राप्त गरेको छ । त्यसपछि साइमेन्स लमिटेड इन्डियाले ८१.३४ अंक प्राप्त गरेको छ ।

आर्थिक रूपमा सबैभन्दा कमको प्रस्तावको हिसाब गर्दा एमसीसीको सबस्टेसन बनाउन कम्तीमा पनि १७ अर्ब ४७ करोड रुपैयाँ खर्च हुनेछ ।

एमसीए–नेपालले १० चैत २०७९ देखि २ कात्तिक २०८० सम्मको अवधि राखेर सबस्टेसन निर्माण गर्न ग्लोबल टेन्डर आह्वान गरेको थियो । त्यसमध्ये प्राविधिक रूपमा योग्य ६ कम्पनीको आर्थिक प्रस्ताव १४ फागुनमा खोलिएको एमसीए–नेपालले जानकारी दिएको छ ।

एमसीए–नेपालले यसअघि नै विद्युत् प्रसारण लाइनको टेन्डर खोलेको थियो । तर, कम्पनीहरूले गरेको प्रस्तावित मूल्य एमसीएको लागत अनुमानभन्दा अत्यधिक उच्च भएपछि उक्त टेन्डर प्रक्रियालाई सम्पूर्ण रूपमा रद्द गरिएको थियो । अब प्रसारणलाइन परियोजनाका लागि नयाँ टेन्डर खुलाउने तयारी एमसीए–नेपालको छ ।

एमसीए–नेपालका टेन्डरहरूमा गुणस्तर तथा मूल्यमा आधारित छनोट प्रणाली अवलम्बन गरिएको जनाइएको छ । ‘यस्तो ठेक्कामा सबैभन्दा कम लागत प्रस्ताव गरेकै आधारमा ठेक्का प्रदान गरिँदैन, कम्पनीको गुणस्तर तथा काम गर्ने क्षमता पनि हेरिन्छ,’ एमसीए नेपालले भनेको छ ।

लेखकको बारेमा
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?