+
+

बागमती प्रदेशस्तरीय ट्राफिक सप्ताह सुरु

चालकहरूको स्वास्थ्य परीक्षणदेखि रक्तदानका कार्यक्रम गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १९:५१

२५ माघ, चितवन। दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताह आज विहिवारदेखि सुरु भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको आयोजनामा प्रदेश भित्रका १० जिल्लाका ट्राफिक कार्यालयहरुमार्फत सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो ।

सबैभन्दा बढि सवारी दुर्घटना हुने प्रदेशमा उपल्लो तहमा रहेको बागमतीमा सवारी दुर्घटनालाई घटाउन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्न सप्ताहको आयोजना गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख एसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार फागुन २ गतेसम्म चल्ने यो अभियानमा धूलो धुँवा हुने ठाँउमा चालक, सहचालक र यात्रुलाई मास्क वितरण गर्ने, सवारी साधानहरुमा सचेतनामूलक नारा लेखिएका स्टीकर टाँस्ने, माइकिङ्ग गर्ने, ज्रेवा कसिङ्ग नभएका ठाँउहरुमा बाटो काट्न सिकाउने, छतमा मान्छे नराख्न चालक र सहचालकलाई सचेत गराउने, विद्यालय, आमा समूह, टोल सुधार समितिहमा ट्राफिक नियम र दुर्घटना हुन सक्ने कारणहरुका बारेमा सचेतनामूलक कार्यक्रम गर्ने, रक्तदान गर्ने लगायतका कार्यक्रम तय गरिएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको कार्यक्षेत्र भित्र पर्ने बागमती प्रदेशका १० वटा जिल्लाहरुमा (काठमाण्डौं, ललितपुर र भक्तपुर बाहेक) कच्ची, ग्राबेल तथा पक्की सडक गरी जम्मा ११ हजार १ सय १ कि.मि. सडक सञ्जाल रहेको छ । जसमध्ये कालो पत्रे सडक १ हजार ९ सय ७९ कि.मि., ग्रावेल २ हजार ९ सय२ कि.मि. र कच्ची ६ हजार २ सय २० कि.मि रहेको छ ।

सप्ताहलाई बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सहयोग गरेको छ भने बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले सहकार्य तथा समन्वय गरेको छ । दुर्घटनाका समाचार नबन्ने वातावरणको लागी सवारी चालक, आम सडक प्रयोगकर्ता, सचेत नागरिक तथा सम्पूर्ण सरोकारवाला निकायहरु जिम्मेवार भई दुर्घटनाबाट परिवार, समाज र राज्यलाई हुने अपुरणीय क्षतिलाई न्यूनीकरण गर्न लाग्न सबै जना लाग्नुपर्ने एसपी खत्रीले बताए ।

ट्राफिक प्रहरीको जनशक्ति सवारी संख्या र बाटोको अनुपातमा निकै कम भएकोले सबैतिर उत्तिकै ध्यान दिन मुस्किल परेको एसी खत्रीले बताए । सडकको अवस्था हेर्दा एक जना ट्राफिक प्रहरीले बागमती प्रदेशमा २८.७६ कि.मि. सडकको दूरी हेर्नु पर्ने बाध्यता छ ।

सडकमा सरदर दैनिक सवारी साधन आवागमनको औसत संख्या ६२, हजार रहेका छन् । एक जना ट्राफिक प्रहरीले १६१ वटा सवारी साधनहरु हेर्नु पर्ने अवस्था छ ।
नेपालमा सवारी दुर्घटना बाट सरदर दैनिक १२ जना मानिसले ज्यान गुमाउने गरेको पाइन्छ । गत आर्थिक बर्ष २०७९÷०८० मा बागमती प्रदेशभर १ हजार ९ सय ४२ वटा दुर्घटनाबाट ३०४ जनाको मृत्यु भएको थियो ।

चालु आ.ब.को पुस मसान्तसम्म ९ सय २० वटा सवारी दुर्घटना भई १५३ जना मानिसको मृत्यु भएको । बागमती प्रदेशमा गत आर्थिक बर्षको तथ्याङलाई बिश्लेषण गर्दा सरदर दैनिक ५.३ वटा सबारी दुर्घटना हुने गरेको छ । गत आ.ब.मा भएका सवारी दुर्घटना मध्ये सवारी चालकको लापरवाहीले गर्दा सबैभन्दा बढि ७६% ,यात्रुका कारण ४%, यान्त्रिक कारण (बिग्रीएको सवारी चलाउदा) ५% ,ओभरलोड ३% र मौसम र सडकको कारण १२% प्रतिशत सवारी दुर्घटना हुने गरेको पाइएको छ ।

तथ्याङक अनुसार प्रत्येक वर्ष, विश्वभर १.३५ मिलियन मानिसहरू सडक दुर्घटनामा परि ज्यान गुमाई रहेका छन् । विश्वभर कार, बस, मोटरसाइकल, साइकल, ट्रक, वा पैदल यात्रीहरू सम्लग्न भएका दुर्घटनाहरूमा हरेक दिन लगभग ३,७०० मानिसहरू रूपमा ज्यान गुमाउने गर्दछन । यसरी ज्यान गुमाउने आधाभन्दा बढी पैदलयात्री, मोटरसाइकल चालक वा साइकल चालक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?