+
+

एकदिवसीय सिरिज : आज नेपाल र क्यानडाको अन्तिम खेल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते ७:१०

२९ माघ, काठमाडौं । क्यानडासँगको एकदिवसीय सिरिजमा नेपालले तेस्रो तथा अन्तिम खेल आज खेल्दैछ । खेल बिहान ९:१५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपाल अन्तिम खेलमा विजयीका साथ सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

उता क्यानडा अन्तिम खेलमा जितका साथ क्लिन स्वीप हुनबाट बच्न चाहन्छ ।

नेपालले आजको खेलमा तीव्र गतिका बलर हेमन्त धामीलाई डेब्यु दिने सम्भावना छ । सम्भवत अनुभवी तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिंदै हेमन्तले डेब्यु गर्न दिनसक्छ ।

सोमपाललाई विश्राम नदिए रिजन ढकाललाई बाहिर राख्ने सम्भावना छ। त्यस्तै कुशल भुर्तेल फर्किंदा आसिफले विश्राम पाउने सम्भावना छ ।

पछिल्लो खेलमा २० बलमा ५० रनको आक्रामक इनिङ खेलेका अनिललाई नेपालले थप मौका दिने देखिन्छ । ७६ रन बनाएका देव खनालले पनि मौका पाउनेछन् । लिग २ मा नभएका देव र अनिल अन्तिम खेलमा सानदार प्रदर्शन गर्ने सोचमा हुनेछन् ।

क्यानडाले दुवै खेलमा ब्याटिङमा राम्रो सुरुवात गरेको छ । तर, अन्तिम २० ओभर भने लगातार विकेट गुमाउँदा विशाल योगफलमा पुग्न सकेको छैन । सिरिज हारिसकेको अवस्थामा आज विना दबाब झन् राम्रो गर्न सक्छ ।

ओपनर आरोन जोनसनले पछिल्लो खेलमा ६५ रनको इनिङ खेलेका थिए । आक्रामक ब्याटर उनी नेपाललाई घातक बन्न सक्छन् । परगत सिंह, निकोलस किर्तोन र नवनित धलिवाल राम्रो ब्याटर हुन् ।

क्यानडाको तीव्र गतिको बलिङ आक्रामण त्यति बलियो छैन । तर स्पिनर साद बिन जफरले भने नेपाली ब्याटरलाई खुलेर खेल्न दिएका छैनन् ।

नेपालले बिहीबारदेखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको लागि क्यानडासँग खेलेको हो ।

उता क्यानडा लिग-२ अन्तर्गत नै यूएई र स्कटल्यान्डसँग दुबईमा खेल्नुअघि तयारीको लागि नेपाल आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?