+
+

नाटकीय रुपमा विकेट पतनसँगै अफगानिस्तानको फराकिलो हार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते ७:३९

२९ माघ, काठमाडौं । अफगानिस्तानले दोस्रो ओडीआई खेलमा नाटकीय रुपमा विकेट गुमाएपछि घरेलु टोली श्रीलंकासँग १५५ रनको फराकिलो अन्तरले पराजित भएको छ । योसँगै तीन खेलको सिरिज श्रीलंकाले एक खेल अगावै जितेको छ ।

जितको लागि ३०९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३३.५ ओभरमा १५३ रनमा अल आउट भयो । अफगानिस्तानका रहमात साह ६९ बलमा ७ चौकासहित सर्वाधिक ६३ रनमा आउट भए । इब्राहिम जद्रान ७६ बलमा ६ चौकासहित ५४ रनमा आउट भए ।

एक समय अफगानिस्तान २९ ओभरमा १४३/२ को अवस्थामा थियो । तर, बाँकी ८ विकेट मात्रै १० रन जोड्दा गुमाएको थियो । अन्य कुनै पनि अफगानी ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकाका वानिन्दु हसरंगाले ६.५ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । दिलशान मदुशानका र असिथा फ्रेनान्डोले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३०८ रन बनाएको थियो । श्रीलंकाका चरिथ असलंका ७४ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ९७ रन बनाका थिए । कप्तान कुशल मेन्डिस ६५ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६१ रन जोडे ।

जनिथ लियानागे ४८ बलमा २ चौका र २ छक्कासहित ५०, ओपनर पाथुम निसांका १८, अविष्का फ्रेनान्डो ५ र वानिन्दु हसरंगा १४ रनमा आउट भए ।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । फजलहक फारुकी, नुर अहमद र क्वास अहमदले १/१ विकेट लिए । पहिलो खेलमा श्रीलंका ४२ रनले विजयी भएको थियो । तेस्रो खेल बुधबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?