+
+
प्रणय दिवसको कथा :

फाँसीको सजाय सुनाइएपछि सन्त भ्यालेन्टाइनले लेखेका थिए हृदयस्पर्शी प्रेम-पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते ६:४१

अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । तर्क गर्नेहरूले त भन्छन्, ‘यो पश्चिमा, आयातित संस्कृति हो ।’ तर अर्काथरी भन्छन्, ‘प्रेमको कुनै भूगोल हुँदैन, यो त भावनाको कुरा हो ।’

आखिर जे भए पनि यो एउटा प्रेम विमर्श गर्ने उत्सव हो ।

त्यसो त प्रणय दिवस रोमन पर्वमा आधारित एउटा पुरानो परम्परा मानिन्छ । रोमनहरुले बसन्त ऋतुको आरम्भ मानी फेब्रुअरीको मध्यतिर लुपरकालिया भन्ने पर्व मनाउने गरेका थिए । यसै दिवसको नाम एकजना प्रशिद्ध ईशाई सन्तको नाम राखिएको हो भनिन्छ । यद्यपि ती सन्त को थिए भन्ने बारेमा विभिन्न किवंदन्ती छन् । सबैभन्दा चल्तीको कथा ‘सन्त भ्यालेनटाइन’को हो, जो ईशाको तेस्रो शताब्दीताका रोमका पादरी थिए । प्रणय दिवसको सम्बन्धमा एउटा घतलाग्दो कथा छ ।

तेस्रो शताब्दीमा रोममा एक शासक थिए, ‘क्लोडियस’ नामका । उनको मान्यता थियो, जब विवाह गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । घरजम गरेपछि, पारिवारिक जिम्मेवारी बढेपछि पुरुषहरूले आफ्नो सामथ्र्य गुमाउँछन् । त्यही कारण उनले एउटा अनौठो उद्घोष गरिदिए— ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले विवाह गर्न पाउने छैन ।’

क्लोडियसको यो उद्घोष सर्वमान्य हुने कुरै भएन । कतिले यसमा असहमति जनाए । त्यसैमध्येका थिए, सन्त भ्यालेन्टाइन । सन्त भ्यालेन्टाइन रोमका एक पादरी थिए । उनले क्लोडियसको खुलेर विरोध मात्र गरेनन् सबैलाई विवाहका लागि उक्साए पनि । यही क्रममा केही अधिकारी र सैनिकले विवाह गरे ।

जब सन्त भ्यालेन्टाइनले आफ्नो मान्यता विपरीत प्रेम र विवाहका लागि अरूलाई प्रेरित गरे, उनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो । आखिरमा सन्त भ्यालेन्टाइनलाई फाँसी दिने भइयो ।

कति इतिहासकारका अनुसार फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनि लेखे, ‘फ्रम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनू ।’

सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी  दिइयो । समयक्रममा यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरूले भ्यालेन्टाइन डे मनाउन सुरु गरे ।

प्रेम सप्ताह

पहिला एक दिन अर्थात् फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे भनिन्थ्यो । अहिले साताव्यापी रूपमा यो पर्व मनाइन्छ । यसको सुरुवात रोज डेबाट सुरु हुन्छ । गुलाब दिने, प्रस्ताव राख्ने, चकलेट दिने, टेडी दिने, प्रमिस गर्ने, हग गर्ने र आखिरमा भ्यालेन्टाइन डे मनाउने । यो सिलसिला फेब्रुअरी ७ बाट सुरु हुन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे र अन्य दिन एवं रितले मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?