+
+

काठमाडौंका स्वास्थ्य संस्थाले अनिवार्य मासिक प्रतिवेदन बुझाउनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १५:३७

२ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र निजी अस्पताल, सामुदायिक अस्पताल, पोलि क्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने भएको छ ।

यसका लागि महानगरले एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (आईएचएमआईएस) को ‘युजर नेम’ र ‘पासवर्ड’ उपलब्ध गराउन थालेको छ ।

युजर नेम र पासवर्डसँगै प्रणाली कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्वास्थ्य विभागले प्रशिक्षण दिने गरेको छ ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशनालयले गत ७ साउनमा पत्र पठाउँदै स्थानीय तहको स्वास्थ्य विभाग/शाखाबाट स्वास्थ्य संस्थाको मासिक प्रतिवेदन प्रविष्ट गराउने युजर नेम र पासवर्ड उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको थियो ।

यसका लागि विभागले १ फागुन (मंगलबार) मा ६० संस्थालाई बोलाएको थियो । जसमध्ये ४८ सहभागी भएर आफैं प्रणाली चलाउन सक्ने भएका छन् । बुधबार पनि ६० संस्थालाई बोलाइएको छ । एउटा समूहमा ३० राखेर दुई समूहमा प्रशिक्षण दिँदै युजर नेम र पासवर्ड दिने गरिएको छ ।

स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनका अनुसार यसअघि एचएमआइएस कार्यान्वयनमा थियो । त्यसलाई विकसित र परिष्कृत गर्दै एकीकृत प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।

‘यसरी बुझाइएको प्रतिवेदनबाट प्राप्त तथ्यांकबाट सहरमा मुख्य स्वास्थ्य समस्या र सेवा क्षमता थाहा हुनेछ,’ महर्जनले भनिन्, ‘यो तथ्यका आधारमा नीति तर्जुमा र सेवा सुधारका योजना बनाउँदा वास्तविक हुनेछ ।’

महानगरले अस्पताल दर्ता तथा नवीकरणलाई पनि अनलाइन प्रणालीमा आबद्ध गर्ने तयारी गरेको छ । लक्षित वर्गलाई उपलब्ध गराइने निःशुल्क उपचार प्रणालीलाई अनलाइनबाट उपलब्ध गराउने, नियमन र नियन्त्रण गर्न मिल्ने बनाइँदै छ ।

विभागकी वरिष्ठ अनमी निरीक्षक लक्ष्मी पौडेलका अनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्र निजी, सामुदायिक अस्पताल, पोलिक्लिनिक र फार्मेसीसहित करिब ३ हजार स्वास्थ्य संस्था छन् ।

विशेषज्ञ स्वास्थ्य सेवा दिने अस्पताल संख्या करिब ७० छन् । यसलाई अद्यावधिक गराएर वास्तविक संख्या यकिन गर्ने काम भइरहेको छ ।

यो प्रणालीले औषधि पसलबाहेक रोग परीक्षण र उपचार गर्ने संस्थालाई समेटेको छ । यसबाट प्राप्त विवरणले सहरमा कति बिरामीले स्वास्थ्य परीक्षण गराए, कुन–कुन रोगको कति बिरामीले उपचार गराए, उनीहरूको उमेर समूह कुन थियो, प्रयोगशाला परीक्षण कति जनाको भयो, एक्स रे कति जनाले गराए, ओपीडी सेवा कतिले लिए जस्ता सेवा र रोगसँग सम्बन्धित विवरण थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?