+
+

ललितपुर महानगरमा थपिए ५० नगर प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १९:४८

२ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी थप गरेको छ । महानगरपालिकाले सशस्त्र प्रहरी बल ललितपुरबाट एक महिना तालिम लिएका नगर प्रहरीलाई बुधबार प्रमाणपत्र दिएको हो ।

महानगरले लिखित, शारीरिक र अन्तर्वार्ताबाट भर्ना लिएका नयाँ ५० र पुराना ९ नगर प्रहरीलाई सार्वजनिक सुरक्षा, भीड, दंगा नियन्त्रण, विपद् व्यवस्थापन तालिम, जनसम्पर्क, आपतकालीन सेवा लगायत विषयमा एक महिना तालिम दिन सशस्त्र प्रहरीको क्याम्पमा पठाएको थियो ।

तालिम लिएका नयाँ नगर प्रहरीको छनोट पनि सशस्त्र प्रहरी बलमार्फत् नै भएको थियो । नयाँ नियुक्त भएर तालिम प्राप्त नगर प्रहरीलाई मेयर चिरीबाबु महर्जनले प्रमाणपत्र दिएसँगै भोलिबाट काममा खटिने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

महानगर प्रमुख महर्जनले ललितपुरले विपद्का घटनामा छिमेकी नगरपालिकामा आवश्यक नगर प्रहरी पठाएर सहयोग गरेको बताए ।

‘सहयोग आदान प्रदान गर्न ललितपुर महानगर, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाबीच सहकार्य गर्ने कुरा भएको छ,’ महर्जनले भने, ‘छिट्टै समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्छौं ।’

मेयर महर्जनले नगरवासीको सेवाका लागि नगर प्रहरी थप गरिएको जानकारी दिए । नगर प्रहरी थप गरिएपछि नगर विकासका लागि पनि सहयोग हुने उनले दाबी गरे ।

थप भएका नगर प्रहरीले विकास निर्माण र नगरवासीको हितका लागि काम गर्ने विश्वास उनको छ । नयाँ प्रहरी थप गरेसँगै ललितपुर महानगरपालिकामा १ सय २३ नगर प्रहरी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?