+
+

गगनको प्रतिवेदन : सरकारको प्रतिरक्षा गर्ने कि प्रश्न ?

‘निर्वाचन जितेको छ, सरकारमा छ तर पनि अबको गन्तव्य नै नदेखिरहेको जस्तो भएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो मिसन के हो भन्ने मै पार्टी अलमलमा रहुञ्जेल आफ्ना सदस्यलाई अलमलबाट बाहिर निकाल्न नसकिने रहेछ ।’

लिलु डुम्रे लिलु डुम्रे
२०८० फागुन ३ गते १५:११

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा भएको महसुस पार्टी सदस्यले गर्न नपाएको बताएका छन् ।

सोमबार सुरु हुने कांग्रेसको महासमिति बैठकमा पेश गर्न महामन्त्री थापाले ४६ पृष्ठको प्रतिवेदन तयार गरेका छन्, जसमा तीनै तहको सरकारमा पार्टी नेतृत्वदायी भूमिकामा भएपनि पार्टी सदस्यहरुले कांग्रेस सरकारमा भएको महसुस गर्न नसकेको उल्लेख छ ।

सरकारका नीति, प्राथमिकता र कार्यक्रमसँग पार्टी जोडिएको अनुभूत गर्न नसकेको विषय महामन्त्री थापाले प्रतिवेदनमा लेखेका छन् । ‘यस्तो अवस्थामा जताततै पार्टीभित्र एकखालको अलमल छ– हामीले सरकारको प्रतिरक्षा गर्ने कि प्रश्न ?’ उनले प्रतिवेदनमा भनेका छन् ।

कांग्रेस पार्टी सदस्य संगठन, संरचना सबै किसिमले सबैभन्दा ठूलो पार्टी बनेको थापाको निष्कर्ष छ । अनि आफ्नै नेतृत्वमा बनेको संविधान र आफैंले परिकल्पना गरेको राजनीतिक प्रणालीमा निर्वाचनबाट पहिलो पार्टी बनेर सबै तहको सरकारमा नेतृत्वदायी भूमिकामा हुँदा ठूलो उत्साह र विजयभाव मात्र हुनुपर्नेमा पार्टी सदस्यमा अलमल देखिएको उनको निष्कर्ष छ ।

‘पार्टीका सदस्यको ठूलो पङ्क्तिमा समेत कताकता एक किसिमको अलमल र संशय देखिन्छ’, महामन्त्री थापाको प्रतिवेदनमा भनिएको छ, ‘किन यस्तो भइरहेको छ ? यसलाई हामीले अनदेखा गर्न मिल्दैन ।’

निर्वाचनको अंकगणितमा कांग्रेस ठूलो पार्टी बनेपनि एक्लै चुनाव लड्दा जस्तै विजयी भाव नभएको उनको निष्कर्ष छ । कांग्रेसका क्रियाशील सदस्यले आफ्नो चुनाव चिह्नमा मत हाल्न नपाएको मात्र होइन, अन्य दलको निर्वाचन चिह्न र झण्डा बोकेर मत माग्न हिँड्नुपर्ने बाध्यात्मक अवस्थामा बनेको भन्दै थापाले प्रतिवेदनमा भनेका छन्, ‘तीनै तहको निर्वाचनमा कतिपय स्थानमा आफ्नो आस्था प्रकट गर्ने ‘रुख’ चिह्न नै नहुँदा कांग्रेसजनले आज पर्यन्त आफ्नो असन्तुष्टि व्यक्त गरिरहेको हामीले देखेका छौं ।’

निर्वाचनपूर्व भएको गठबन्धनलाई समर्थक र शुभेच्छुकले कांग्रेसको वैचारिक क्षयीकरणको रुपमा बुझेको र उनीहरु पार्टीसँग रुष्ट बनेको थापाको विश्लेषण छ ।

पार्टीले गरेका यस्ता कैयन निर्णयलाई सदस्यले बाध्यताको रुपमा लिएपनि समर्थकको ठूलो तप्कामा कांग्रेसले आफ्नो मूल्य मान्यतामा नै सम्झौता गर्न त थाल्यो भन्ने संशय पैदा भएको प्रतिवेदनमा उल्लेख छ ।

महामन्त्री थापाले पार्टीमा विधान कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन् । पार्टी सञ्चालन गर्दा निरन्तर विधानको उपेक्षा गर्ने अलोकतान्त्रिक परम्पराले पार्टी थलिएको प्रतिवेदनमा उल्लेख छ ।

‘अहिले हरेक तह र तप्कामा विधानलाई उपेक्षा गर्ने बानी लागेको छ’, महामन्त्री थापाले भनेका छन्, ‘अधिवेशनको मुखमा विधानका धारा निलम्बन गरेर काम गर्ने परिपाटीले त त्यसलाई झन् मलजल गर्ने नै भयो ।’

पार्टीमा आन्तरिक शक्ति संघर्ष, आफैंभित्रको अस्वस्थ प्रतिस्पर्धा र एक आपसमा निषेध गर्ने प्रवृत्ति जरैसम्म फैलिएको समेत उनको विश्लेषण छ । पार्टीका अधिकांश सदस्यहरूको ऊर्जा त्यस्तै निरर्थक कर्ममा खर्च भएको र इमान्दारिपूर्वक संगठनमा लाग्न चाहने सदस्यलाई यो प्रवृत्तिले निरुत्साहित र व्याकुल बनाएको स्वीकारोक्ति छ ।

कतिपय ठाउँमा पार्टीको तल्लो तहसम्म बैठक बस्न नसकेको, कतै सांगठनिक गतिविधि नियमित नभएको, कतै सदस्यतामा समस्या, कतै पदाधिकारीमै समस्या रहेको थापाले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

पार्टीको आन्तरिक संरचनामा देखिएको समस्याबारे प्रतिवेदनमा भनिएको छ, ‘बहुमतले फरकमत राख्नेलाई बेवास्ता गर्ने, पराजितले जितेकोलाई असहयोग गर्ने प्रवृत्तिले संगठनलाई कमजोर बनाएको छ ।’

टुट्दै गएको भरोसा पुनर्स्थापित गर्न पाँचवर्षसम्म अहिलेको गठबन्धनप्रति इमान्दार रहने, तर भविष्यमा हुने आवधिक निर्वाचनमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने महामन्त्री थापाले बताएका छन् ।

गुटका कारण जो कोही व्यक्तिगत लाभका लागि सहजतापूर्वक कुनै उद्योगमा जीविकाका लागि आएजस्तो गरी पार्टीमा आवद्ध हुने प्रवृत्ति बढेको महामन्त्रीको निष्कर्ष छ ।

हरेक राजनीतिक परिवर्तन र संविधान निर्माणको बेला मिसन बनाएको कांग्रेस पछिल्लो समय मिसनविहीन भएको महामन्त्री थापाको ठम्याइ छ ।

‘निर्वाचन जितेको छ, सरकारमा छ तर पनि अबको गन्तव्य नै नदेखिरहेको जस्तो भएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो मिसन के हो भन्ने मै पार्टी अलमलमा रहुञ्जेल आफ्ना सदस्यलाई अलमलबाट बाहिर निकाल्न नसकिने रहेछ ।’

उनले पार्टीमा नेता कार्यकर्ताको सम्बन्ध समान र स्व–परिचालित हुनुपर्नेमा ब्युरोक्रेटिक र कर्मकाण्डी जस्तो देखिएको चिन्ता व्यक्त गरेका छन् । छलफल संस्कृति र दोहोरो संवादप्रति धेरै रुची नहुने क्रम तल्लो तहसम्म फैलिएको प्रतिवेदनमा लेखेका छन् ।

‘पार्टीभित्र संघर्षकालमा जस्तो विचारको मंथनका लागि प्रेरित हुने अभिरुची घट्दो छ’, प्रतिवेदनमा भनिएको छ ।

अपारदर्शी निर्णय प्रक्रियाले पार्टीमा निष्पक्ष मूल्याङ्कन र न्याय नहुने ठूलो संशय कार्यकर्तामा रहेको उनले बताएका छन् । पार्टी अनुशासन र जवाफदेहीता चुनावका बेला मात्रै उठ्ने समस्या रहेको भन्दै उनले तोकिएको जिम्मेवारी पूरा नगर्नुलाई अनुशासन उल्लंघन भएको बताएका छन् ।

‘तोकिएको समयमा तोकिएको जिम्मेवारी पूरा नगर्नु पनि अनुशासन उल्लङ्घन हो, तर त्यसको जवाफदेहीता छैन’ प्रतिवेदनमा भनिएको छ, ‘काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई सजाय नहुँदा काम गर्ने उत्साहमा कमी हुँदै जानु स्वभाविक छ ।’

भ्रष्टाचार नियन्त्रण, राज्य संस्था र संयन्त्रको संस्थागत विकासमा नागरिकले कांग्रेसबाट जस्तो अडानको अपेक्षा गरेका थिए, त्यस अनुरूप नभएको थापाको स्वीकारोक्ति छ ।

तीन तहको सरकारले सेवाप्रवाहमा तदारुकता नदेखाएको र बेथिति विसंगतिको अन्त्यमा प्रभावकारी भूमिकाको अपेक्षा गर्ने तप्कामा छटपटाहाट देखिएको उनले बताएका छन् ।

पछिल्लो समय प्रोपोगाण्डाको राजनीतिले सिर्जना गरेको ‘विगतमा केही पनि भएन’ भन्ने भाष्यले पनि आम जनता र खासगरी समर्थक शुभेच्छुकहरूलाई समेत दिग्भ्रमित बनाएको महामन्त्री थापाले उल्लेख गरेका छन् ।

पार्टीले जे गरिरहेको छ वा जे भइरहेको छ ठीक भइरहेको छैन भन्ने आत्मनिन्दा र सबै ठीकठाक छ भन्ने आत्मश्लाघा दुवै पार्टी संगठनका निम्ति अत्यन्तै घातक भएको महामन्त्री थापाको निष्कर्ष छ ।

उनले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘अब हामीले आत्मश्लाघा वा आत्मनिन्दा होइन, इमान्दारितापूर्वक आत्मसमीक्षा, आत्मनिरीक्षण र आत्मसंकल्प गर्नुपर्दछ ।’

टुट्दै गएको भरोसा पुनर्स्थापित गर्न पाँचवर्षसम्म अहिलेको गठबन्धनप्रति इमान्दार रहने, तर भविष्यमा हुने आवधिक निर्वाचनमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने महामन्त्री थापाले बताएका छन् ।

भ्रष्टाचार, महिलामाथि हुने हिंसा लगायतमा शून्य सहनशीलताको नीति लिने, राज्यका संस्थाहरुको दलीयकरण नगर्ने जस्ता संकल्प गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘तत्कालका लागि यति गर्न सकियो भने मात्र पार्टीका समर्थक, शुभेच्छुक र लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध जनसमूहको पुरानै स्नेह प्राप्त हुनेछ ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?