+
+

संगीत ऐनमा प्रतिलिपि अधिकार सुनिश्चित गरिने, सरकारलाई संगीतकारका ६ प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते ११:४५

काठमाडौं । बन्न लागेको संगीत ऐनमा स्रष्टालाई न्याय हुनेगरी प्रतिलिपि अधिकारको सुनिश्चित हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । राजधानीमा आयोजित संगीतकार संघ, नेपालको १२ औं वार्षिक साधारणसभा तथा प्रतिलिपि अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा स्रष्टामैत्री संगीत ऐन बन्नुपर्ने खाँचो औंल्याइयो ।

प्रतिलिपि अधिकार रजिष्टार तथा संगीत ऐन मस्यौदा समितिकी सदस्य सचिव पुण्यमाया गुरागाईंले अधिकारका लागि संगीतकर्मी एकजुट हुनुपर्ने बताइन् । ‘जबसम्म हामी एक हुन सक्दैनौं तबसम्म स्रष्टालाई न्याय मिल्न कठिन छ,’ उनले भनिन् । बन्न लागेको ऐनका लागि सुझाव पेश गर्न उनले संगीतकर्मीलाई आग्रह गरिन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको संस्कृति महाशाखाका सहसचिव सुरेश श्रेष्ठले संगीतकर्मी छिन्नभिन्न हुन नहुने बताए । उनले संगीतकर्मीले व्यक्ति रुपमा भए पनि नयाँ ऐनका लागि मन्त्रालयमा सुझाव दिन सकिने बताए ।

वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले आफ्ना गीतहरुलाई टुक्रा–टुक्रा पारेर संगीत उत्पादन भइरहेको गुनासो गर्दै कानुन र नियम बलियो हुनु जरुरी रहेको बताए । ‘जबसम्म संगीत क्षेत्रलाई हेर्ने सरकारको नजरिया बलियो हुँदैन तबसम्म केही हुँदैन,’ उनले भने, ‘नयाँ ऐन कार्यान्वयन होस् र हाम्रा अधिकार स्थापित होऊन् ।’

उनले रोयल्टीको पैसा आउनु जरुरी रहेको उल्लेख गर्दै भने, ‘मिटरब्याज पीडितको कानुन बन्न लागिसक्यो, अहिलेसम्म संगीतमा कानुन छैन । पहिला हाम्रो रोयल्टीको पैसा आउनुपर्‍यो,’ बास्कोटाले भने, ‘सरकारको दृष्टिकोण बदलिनुपर्छ ।’

वरिष्ठ गायिका मीरा राणाले संगीतबाट पैसा कमाइन्छ भन्ने कुरा अहिलेसम्म आफूले नसुनेको बताइन् । ‘आज यो कार्यक्रममा थाहा पाएँ कि संगीतबाट पैसा कमाइ हुन्छ भनेर । म अत्यन्त खुसी छु । यो कुरा कानुनको रुपमा बनोस्,’ उनले भनिन् ।

संगीतकार संघका अध्यक्ष तथा प्रतिलिपि अधिकारको मस्यौदा समितिका सदस्य चेतन सापकोटाले अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रतिलिपि अधिकारको कानुन बनाइने बताए । भारतीय रियालिटी शोको उदाहरण दिंदै उनले नेपालका टेलिभिजन कार्यक्रमले सर्जकको रोयल्टी नतिरेको बताए । उनले संगीतकारको लागि अक्षयकोष बनाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पेश गरेको बताए ।

रोयल्टी संकलन समाजका अध्यक्ष सुरेशसरस अधिकारीले अघिल्लो ऐन अस्पष्ट हुँदा सर्जकले न्याय पाउन नसकेको बताए । ११ वर्षदेखि आफूहरु कपीराइट मुद्दामा लडिरहेको बताउँदै उनले अघिल्लो ऐनले संगीतलाई गलत व्याख्या गरेको आरोप लगाए ।

संगीतकार लक्ष्मण शेषले राजन इशान र प्रमोद खरेलका कपीराइटसम्बन्धी कानुनी लडाइँले सर्जकलाई न्यायिक आशा प्रदान गरेको बताए । वरिष्ठ संगीतकार भरत जंगम, गायक स्वरुपराज आचार्य, गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापा, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान लगायतले पनि यसबारे चर्चा गरे ।

संगीतकार संघले सरकारलाई बुझायो प्रस्ताव

संघले गत साता सरकारलाई विभिन्न मागसहितका प्रस्ताव पेश गरेको जानकारी सभाको बन्द सत्रमा दिइएको थियो । अध्यक्ष चेतन सापकोटाले सर्जकको हक र अधिकारका लागि केही महत्वपूर्ण प्रस्ताव सरकारलाई बुझाइएको जानकारी दिए ।

रेडियो नेपालले उत्पादन गरेका सिर्जनाहरु अन्य मिडियामा भइरहेको बिक्री वितरण कार्यलाई तत्काल रोक्नुपर्ने र त्यसबाट प्राप्त रोयल्टीको खोजी गर्नुपर्ने मुख्य प्रस्ताव छ ।

प्रारम्भिक कक्षादेखि नै संगीत विषयमा शिक्षकको दरबन्दी सिर्जना गर्नुपर्ने र पाठ्यक्रममा संगीतको पठनपाठनको व्यवस्था हुनुपर्ने माग शिक्षा मन्त्रालयमा पेश गरिएको छ ।

रेडियो नेपालको स्थापनामा योगदान दिएका गायक भक्तराज आचार्य ३० वर्षदेखि दूधको भरमा बसिरहेको र उनको उपचारमा मासिक डेढ लाख रुपैयाँ खर्च भएको संगीतकार संघले जनाएको छ । आचार्यसहित गुरुदेव कामत डीपी खनाल, प्रल्हाद बोगटी, घनश्याम गौतम लगायतका स्रष्टालाई राज्यले निःशुल्क उपचार गरिदिनुपर्ने प्रस्ताव पनि पेश गरिएको छ ।

संगीतकार कल्याणकारी कोषले खडा गरेको अक्षयकोषमा पाँच करोड दिन पनि संघले सरकारलाई प्रस्ताव गरेको छ । प्रधानमन्त्री कार्यालयमा यो प्रस्ताव पेश भएको र सकारात्मक जवाफ आएको अध्यक्ष सापकोटाले बताए । मृत्युपर्यन्त स्रष्टालाई प्रेक्षालय, राष्ट्रिय सम्मान र शवयात्रा गर्न राज्यले निकाय र मापदण्ड सिर्जना गर्नुपर्ने प्रस्ताव पनि छ ।

राज्यले संगीत विकास बोर्ड गठन गरेर संगीतलाई सेन्सर गर्नुपर्ने प्रस्ताव पनि सरकारलाई गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्सहित संस्कृति, शिक्षा, संचार, अर्थ र गृहमा यी प्रस्तावहरु पेश गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?