+
+

तस्वीरमा काठमाडौं–तराई मधेश ‘फास्ट ट्र्याक’

सरकारले २०७४ सालमा नेपाली सेनाको जिम्मा लगाएको द्रुत मार्ग ७ वर्षमा ३१ प्रतिशत मात्र प्रगति सहित सुस्त गतिमा छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० फागुन ७ गते १९:३५

७ फागुन, काठमाडौं । नेपाली सेनाले कार्यान्वयन गरिरहेको काठमाडौं–तराई मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) को प्रगति ३१ प्रतिशत पुगेको छ ।

सरकारले २०७४ सालमा नेपाली सेनाको जिम्मा लगाएको द्रुत मार्ग ७ वर्षमा ३१ प्रतिशत मात्र प्रगति सहित सुस्त गतिमा छ ।

फास्ट ट्र्याकको गति कतिसम्म सुस्त छ भने यसको प्रस्थान बिन्दुसमेत अझ टुंगो लागेको छैन । भलै यो जिम्मेवारी सेनाको मात्र नभएर राज्यकै हो ।

२०८३ साल चैतभित्र सक्ने गरी नयाँ लक्ष्य पाएको सेनालाई निर्धारित समयमा गाडी मात्र गुडाउन सके पनि यो ठूलो उपलब्धी हुनेछ । किनकि, अहिलेसम्म यहाँ तीन खण्डको ठेक्का लाग्नै बाँकी छ ।

२१ वैशाख २०७४ मा बसेको मन्त्रिपरिषद् बैठकले चार वर्षमा फास्ट ट्र्याकको कामभ सक्ने लक्ष्य तोकेर सेनाको जिम्मा लगाएको थियो । सोही वर्ष १४ जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गरेका थिए ।

प्रारम्भिक लक्ष्य अनुसार काम भएको भए यो आयोजना २०७८ भदौमा सम्पन्न हुनुपर्ने थियो । कोभिड महामारी लगायत कारण देखाउँदै आयाजनाको म्याद २०८१ सम्म पुर्‍याइयो । उक्त समयमा पनि सम्पन्न नभएपछि आयोजनाको म्याद चैत २०८३ पुर्‍याइएको हो ।

अर्थ मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार आयोजनाको लक्ष्य अनुसार प्रारम्भिक लागत १ खर्ब ७५ अर्ब थियो । म्याद थप्दै जाँदा लागत २ खर्ब ११ अर्ब रुपैयाँ पुगिसकेको छ । जसमध्ये चालु आव पुससम्म १९.३७ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।

सेनाले भने माघ मसान्तसम्म वित्तीय प्रगति ३१.५७ प्रतिशत र भौतिक प्रगति ३०.९६ प्रतिशत पुगेको दाबी गरेको छ । चालु आवका लागिमात्र यस आयोजनालाई सरकारले २२ अर्ब ५० करोड विनियोजन गरेको छ ।

कुल ७०.९७७ किलोमिटर लामो फास्ट ट्र्याक निर्माणलाई सेनाले ११ खण्डमा विभाजन गरेको छ । जसमध्ये १ देखि ७ खण्ड र १० मा ठेक्का लागेर कामसमेत जारी छ । जसको लम्बाई ४४.६२७ किलोमिटर हो ।

तर, मुआब्जा वितरण र जग्गा अधिग्रहण नै नभएको खोकना क्षेत्र र अदालतमा मुद्दा परेर रोकिएका ठेक्का प्रक्रियाका कामले भने सेनालाई अझै पनि टाउको दुखाइरहेको छ । यस आयोजनाको ४.६ किलोमिटर काठमाडौंमा पर्छ ।

यस आयोजनाको प्याकेज नम्बर ८ क, ९ क र ९ खको खरिद प्रक्रिया विवादमा रहेको सेनाले जनाएको छ । प्याकेज ११ को खोकना क्षेत्रको प्रस्थान बिन्दुमै समस्या छ । यहाँ सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहण सम्बन्धी विषय विवादमा छ ।

आयोजनामा अहिले सुरुङ निर्माणको कामले भने गति लिएको देखिएको छ । लामो सुरुङको तीन प्याकेजका कुल ६.४ किलोमिटरमध्ये ४.३२ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ । जुन ६७.४३ प्रतिशत भौतिक प्रगति भएको सेनाले जनाएको छ ।

सेनाले लेनडाँडा सुरुङ वैशाख, धेद्रे सुरुङ जेठ र महादेवटार सुरुङ असोजमा ब्रेक थ्रु गरिसक्ने लक्ष्य रहेको जनाएको छ । यो आयोजनामा सुरुङले मात्र कुल १०.५५ किलोमिटर दूरी ओगट्ने छ ।

६ स्थानमा सुरुङ बन्दैछन् । आयोजनामा ८९ पुल बन्नेछन् । जसले १२.८८ किलोमिटर ओगट्छ । आयोजनाका लागि अझै ३ सय ९५ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?