+
+

नयाँ दलप्रति पूर्णबहादुरको कटाक्ष : गौरवपूर्ण इतिहास न विश्वस्त भविष्य

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १२:४१

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ दलहरुमा हालको शासकीय व्यवस्थाप्रति अपनत्व नभएको बताएका छन् ।

पार्टीको महासमिति बैठकमा नीति प्रतिवेदन पेश गर्दै उनले नयाँ दलहरु दायित्व र जिम्मेवारीबाट पन्छिने, कुनै विषयमा प्रष्ट दृष्टिकोण नभएको तर लोकप्रियताका लागि जे पनि बोल्ने गरेको टिप्पणी गरेका हुन् ।

‘त्यही लोकरिझ्याइँ गर्नेहरूको हालको शासन व्यवस्था तथा प्रणालीप्रति कुनै पनि अपनत्व छैन । न त गौरवपूर्ण इतिहास छ, न त विश्वस्त भविष्य । न त लोकतन्त्रप्रतिको प्रतिवद्धता छ, न त भावी यात्राको प्रष्ट मार्गचित्र नै’ खड्काले प्रतिवेदनमा लेखेका छन् ।

नयाँ दलहरुले सस्तो लोकप्रियताको नाममा समाजमा वितृष्णा र निराशाको राजनीतिक खेती गर्न प्रयत्न गरिरहेको पनि खड्काले बताएका छन् । नयाँ दलहरुले निराशा बेचेर काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्टाउन र एकाधिकार लाद्न खोजेको पनि उनले बताएका छन् ।

‘अधिनायकवादीहरू रूपमा भिन्न देखिएता पनि सारमा लोकतन्त्र विरोधी नै हुन् । उनीहरूको पनि प्राप्त उपलब्धिमा कुनै अपनत्व छैन, न त राष्ट्रको वृहत्तर हितको दायित्व बोध छ, न जिम्मेवारी’, खड्काले नयाँ दलहरुको चरित्र अधिनायकवादी देखिएको टिपणी गर्दै भने ।

भर्खरै स्थिरताको लय समात्दै गरेको लोकतान्त्रिक शासन व्यवस्थाको विरुद्धमा घृणाको राजनीति र त्यही घृणाको आवरणमा केही तत्वहरू फेरि अधिनायकवाद लाद्ने असफल गरिरहेको पनि खड्काले बताए ।

राजनीतिक दल र सरकारको काम गर्ने तौरतरिका तथा शैलीप्रति आम नागरिकको गुनासो, असन्तुष्टि तथा चित्त दुखाइ रहेको स्वीकार गर्दै उनले यस्ता समस्यालाई व्यवस्थासँग जोडेर परिवर्तन विरुद्ध आवाज उठाउनेहरु पनि देखिएको बताएका छन् । ‘राजनीतिक पुनरुत्थानको यो कुचेष्टा गैरजिम्मेवार र असान्दर्भिक सोच हो । इतिहासको अपव्याख्याले केवल भ्रम दिन्छ, सत्य दिँदैन’, उपसभापति खड्काले प्रतिवेदनमा भनेका छन् ।

खड्काले आफ्नो प्रतिवेदन ६४ बाट बढाएर ९७ पृष्ठको बनाएका छन् । गत हप्ता केन्द्रीय समितिमा प्रस्तुत गरिएको प्रतिवेदनबाट गठन्धनको प्रसङ्ग हटाएका छन् ।

केन्द्रीय समितिमा प्रस्तुत गरिएको प्रतिवेदनमा निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत नपुग्ने हुँदा गठबन्धन बाध्यता रहेको उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?