+
+

कांग्रेसको विश्लेषण : इलाममा आफ्नो भोट बचाउन सके चुनाव जित्छौं

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १८:३२

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ को उपनिर्वाचनमा आफ्नो मत बचाउन सके चुनाव जित्न सकिने आकलन गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा विहीबार बिहानको छलफलमा सहभागी उपसभापति पूर्णबहादुर खड्काले सो आकलन सुनाएका हुन् ।

उपसभापति खड्काले इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा कांग्रेसको प्रचारात्मक अभियानसहित अघिल्लो चुनावको मत संख्याबारे ब्रिफिङ गरेका थिए ।

उपनिर्वाचनमा पार्टी एक ढिक्का भएर व्यापक रुपमा परिचालित भएको सुनाउँदै खड्काले आफ्नो मत जोगाउन सके चुनावको परिणाम आफूहरुको पक्षमा आउने बताएका थिए । ‘कांग्रेसको मत बचाउन सके हामीले चुनाव जित्छौं । भोट जोगाउन पार्टी भित्रका सबै फ्याक्टर मिल्न पर्‍यो । अहिले मिलेको देखिन्छ,’ खड्काको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी शीर्ष तहका एक नेताले भने ।

गत निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुवास नेम्वाङ निर्वाचित भएका थिए । गत भदौमा उनको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेसका पराजित उम्मेदवार डम्बर खड्काले २९ हजार ९०६ मत पाएका थिए । उनी एमालेका नेता नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । उपनिर्वाचनमा पनि सभापति देउपा पक्षका डम्बर खड्का नै उम्मेदवार बनेका छन् । कांग्रेसले उक्त क्षेत्रमा समानुपातिकतर्फ २२ हजार ३३३ मत पाएको थियो ।

महामन्त्री विश्वप्रकाश शर्मालाई कांग्रेसले इलाम–२ को चुनावी परिचालनको संयोजक बनाएको छ । उम्मेदवारी दर्तादेखि नै शर्मा चुनावी क्षेत्रमा क्रियाशील छन् ।

दुई महामन्त्रीले सम्बोधन गर्ने गरी कांग्रेसले शनिबार चुनावी सभा राखेको छ । नेता शेखर कोइराला र उपसभापति धनराज गुरुङ चुनावी कार्यक्रमको सिलसिलामा इलाम पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?