+
+

राष्ट्र बैंकले भन्यो : नेपालका बैंकहरु सबल छन्, सर्वसाधारणको निक्षेप सुरक्षित छ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १८:३८

८ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको बताएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको बताएको हो ।

‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको व्यहोरा अनुरोध छ’, राष्ट्र बैंकले  मंगलबार जारी विज्ञप्तीमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण तथा सुपरीवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरेको पनि उल्लेख गरेको छ ।

बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकले अपिल गरेको हो ।

कानुनले दिएको जिम्मेवारी बैंक तथा वित्तीय संस्थाहरूमा नियमित रूपमा निरीक्षण र सुपरीवेक्षण  गरिरहेको जनाएको छ ।

‘अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा राष्ट्र बैंकले दिएको निर्देशनको अधिनमा रही सञ्चालनमा रहने बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकबाट निरीक्षण र सुपरीवेक्षण  भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पूँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू राष्ट्र बैंकको निर्देशनअनुरूप नै रहेको जनाएको छ ।

कुनै बैंक तथा वित्तीय संस्थामा पूँजीकोष, तरलता र सीडी  रेसियो जस्ता परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको राष्ट्र बैंकले प्रस्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?