+
+

भाइरलको दबाब नलिई संगीतमा निखारिन चाहने सोना

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १८:१८

काठमाडौं । गायिका सोना अमात्य जुनसुकै जनरामा गीत गाउनुलाई आफ्नो रुचि मान्छिन् । यो रुचिलाई पछ्याउँदै उनले गिरीश खतिवडा र बुलेट फ्लोसँग गत साता हिपहप संस्करण ‘सुपरस्टार’ ल्याइन् । दुई वर्षअघिको ‘मेरो माया करोडमा’ उनको धेरै रुचाइने डान्सिङ गीतमध्ये पर्छ । उनी भजन पनि गाउँछिन् ।

उनै सोनाले अनलाइनखबरसँग संगीतका विभिन्न आयाममा रहेर कुरा गरिन् । पछिल्लो समय भाइरल गीतको दबदबा चलिरहँदा आफूले भने त्यसको दबाब नलिने उनको भनाइ छ ।

‘आफ्नो गीत सबैले सुनिदियोस् भन्ने लाग्छ । तर भाइरल होस् भन्ने प्रेसर लिन्न । त्यो नेगेटिभ इमोसन हो । म आफूले कर्म त गरिराख्या छु । यो भाग्यको कुरा पनि हुनसक्छ,’ के संगीतकर्मी भाइरलप्रेरित भएका हुन् भन्ने प्रश्नमा उनको जवाफ छ, ‘भाइरल होस् या नहोस्, गायिकाको रुपमा म निखारिन चाहन्छु ।’

दशकभन्दा लामो करिअरमा आफूले संगीतबाट सिकेको सबैभन्दा ठूलो कुरा अनुशासन रहेको उनको बुझाइ छ । यसबाहेक संगीतलाई उनी साधना मान्छिन् । ‘संगीत गर्नु भनेको ध्यान गर्नुजस्तै हो । जतिपटक रियाज गर्छु, आफूलाई शान्त पाउँछु,’ उनी भन्छिन् ।

सांगीतिक सिर्जनाको क्रममा शब्दलाई आफूले विशेष ध्यान दिने सोना बताउँछिन् । उनी संगीतको शब्द र त्यसले दिने सन्देशलाई महत्वपूर्ण ठान्छिन् । ‘संगीतमार्फत हामीले समाजमा कस्तो सन्देश पुर्‍याइरहेका छौं भन्ने महत्वपूर्ण कुरा हो । संगीतमा मेरो लागि महत्वपूर्ण कुरा लिरिक्स हो । शब्द कस्तो छ यसमा म एकदमै धेरै ध्यान दिन्छु । भावना बुझेपछि त्यसलाई न्याय दिएर गाउन सजिलो हुन्छ,’ उनी भन्छिन् ।

वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको व्यक्तित्व र सरलताबाट आफू प्रभावित भएको उनको भनाइ छ । ‘उहाँबाट मैले संगीत र व्यक्तिगत रुपमा धेरै कुरा सिकेको छु । उहाँलाई देखेपछि मान्छे यस्तो पो हुनुपर्छ भन्ने लाग्छ,’ उनी भन्छिन् ।

मदनकृष्णजस्तै सांगीतिक सहकार्य गरेका व्यक्तिबाट आफूले सकारात्मक गुण ग्रहण गर्ने र यसले आफ्नो ‘ग्रोथ’मा पनि मद्दत गरेको सोनाको अनुभव छ । उनी नारायणगोपाल, तारादेवी र अरुणा लामालाई सुन्छिन् । लता मंगेशकर, किशोर कुमार, मोहम्मद रफी उनका मनपर्ने भारतीय गायक-गायिका हुन् । संगीतमा आउन चाहने नयाँ पुस्तालाई उनी आधारभूत ज्ञान सिकेर मात्र आउन सल्लाह दिन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?