+
+
गफ स्टेसन :

प्रवासमा संगीतको कखरा सिकाइरहेका केशव : ‘चर्चाको भोक कहिल्यै जागेन’

खेम रिसाल खेम रिसाल
२०८० चैत २२ गते १८:२५

काठमाडौं । कलाकारितामा लाग्ने अधिकांशलाई चर्चा र नामको भोक हुन्छ । तर यो कुरामा अपवाद जस्तै लाग्छन् केशव पौडेल । गायन र संगीत सिर्जना दुवैमा पोख्त केशव २५ वर्षदेखि निरन्तर संगीतमा सक्रिय छन् । हाल अमेरिकामा बसोबास गर्ने उनी त्यहाँ पनि संगीतकर्म नै गर्छन्, नेपाली विद्यार्थीलाई संगीतको कखरा सिकाउँछन् ।

यो साता अनलाइनखबरको गफ स्टेसनमा अन्तर्वार्ताका लागि आइपुगेका केशवले देश बाहिर बसेर संगीत सिर्जना गर्नुको मज्जा र असुविधा दुवै अवस्थाबारे कुरा गरे । २०० भन्दा बढी गीत-गजलमा संगीत तथा केही दर्जन गीतमा स्वर भरेका उनले एकमहिने नेपाल बसाइमा १० वटा गीत रेकर्ड गर्न भ्याए । भोलिपल्ट अमेरिका फर्किने हतारोमा रहेका केशवलाई गफ स्टेसनमा सोधियो- नेपाल आएर यति हतारिएर गीत रेकर्ड गर्नुपर्ने अहिले पनि बाध्यता छ र ?

उनले भने, ‘अहिलेको डिजिटल युगमा जुनसुकै देशमा बसेर पनि संगीत सिर्जना गर्न, रेकर्ड गर्न सकिन्छ । अमेरिकामा नेपालीले नै खोलेका केही स्टुडियो पनि छन् । तर म्युजिसियनको उपलब्धता भनेसहज छैन । त्यहाँका स्थानीय प्राविधिकहरुले नेपाली जनरा र शैली नबुझ्ने, स्टुडियो पनि आफ्नो पायकमा नहुँदा अप्ठ्यारो भइरहेको हुन्छ । नेपाल आएको बेला सहज ढंगले काम गर्न पाइने भएकाले गीत रेकर्डको दौडधुप बढ्ने गर्छ ।’

आठ वर्षअघि अमेरिका पुगेका केशव त्यहाँस्थित भुटानी र नेपाली मूलका व्यक्तिहरुको सामाजिक संस्था इन्ट्रा फाउन्डेसनमा आबद्ध भएर नेपाली विद्यार्थीहरुलाई संगीत प्रशिक्षण दिन्छन् । नेपालमा हुँदा संगीतमा लामै संघर्ष गरेका उनले अमेरिका पुगेपछि सुरुमा अरु नै काम गरे । पहिलो तलबले हार्मोनियम किने । अमेरिकामा संगीतमा सौखको रुपमा गर्न सकिएला भन्ने सोचेका उनले आईटी पढेर सोही पेशामा जम्ने योजना बनाइरहेका थिए । तर त्यसैबेला इन्ट्रा फाउन्डेसनले केशवलाई संगीत शिक्षक बन्न प्रस्ताव गरेपछि उनको बाटो मोडिएर फेरि संगीततिरै लाग्यो ।

‘एक वर्ष अरु काम गरेपछि इन्ट्रा फाउन्डेसनमा जोडिने अवसर पाएँ । त्यसका अध्यक्ष डिल्ली अधिकारीले संगीत प्रशिक्षकको रुपमा काम गर्न आग्रह गर्नुभयो । त्यसअघि आईटी पढेर त्यतै लाग्ने सोच बनाइरहेको थिएँ, त्यसैबेला डिल्ली अधिकारीका कारण मुभ भइयो,’ केशवले भने, ‘प्रवासमा पनि नेपाली संगीतकै लागि काम गर्ने कमै भाग्यमानीमा म पर्छु । परदेशमा बसेर नेपाली संगीतका लागि केही गर्न पाउँदा गर्वको अनुभूति हुन्छ ।’

केशवले अमेरिकाबाट देखेको नेपालबारे पनि कुरा गरे । नेपालको राजनीतिक परिस्थितिका कारण हरेक युवाले विदेशिन खोजिरहेको देख्दा उनको पनि मन खिन्न हुन्छ ।

‘नेपालको एयरपोर्ट झर्ने बित्तिकै माया लाग्छ । यहाँको सिस्टम, कोलाहल देख्दा र उताको सिस्टम, सरकारको जिम्मेवारीसँग तुलना गर्दा केही दिक्क लाग्छ,’ उनी भन्छन्, ‘गर्छु भन्नेले यहाँ मौका पाएजस्तो लाग्दैन । राजनीतिक खिचातानी उस्तै छ । यति भन्दैमा उताका सबै नेपाली खुसी छन् भन्ने होइन । आर्थिक रुपमा जीवन चलाउन चाहिं गाह्रो छैन । सबै खुसी छन् भन्ने होइन जहाँ बस्यो त्यहाँ खुसी लिने हो । हाम्रो देश पनि सिस्टममा आओस् भन्ने हो ।’

गफ स्टेसनमा केशवले इलामदेखि काठमाडौंसम्मको सांगीतिक संघर्ष, अमेरिकामा जानुपरेको परिस्थिति, अमेरिकामा नेपाली संगीत र नेपाली समाज, नेपालको राजनीतिक परिवेशलगायतका विषयमा खुलेर कुराकानी गरेका छन् । प्रस्तुत छ, संगीतकार तथा गायक केशव पौडेलसँग गरिएको भिडियो अन्तर्वार्ता :

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?