+
+

महासमिति बैठकमा गगन थापाले राखे कांग्रेसले एक्लै चुनाव लड्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १८:२४

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरुमा एक्लै चुनाव लड्ने प्रस्ताव गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै उनले कांग्रेसको समर्थक र शुभेच्छुकमा पार्टीप्रतिको भरोसा टुट्न नदिन आवधिक निर्वाचनहरुमा रुख चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने प्रस्ताव राखेका हुन् ।

‘निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस  यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ- हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’, थापाले आफ्नो प्रतिवेदनमा भनेका छन् ।

उनले आफ्नै संगठनलाई  उर्जाशील बनाउँदै नागरिकको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन:स्थापित गर्ने पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

यसअघि २०७९ सालमा भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा धेरै क्षेत्रमा गठबन्धन गर्दा कांग्रेसका समर्थक र शुभेच्छुकले आफ्नो चुनाव चिह्नमा मतदान गर्न नपाएको महामन्त्री थापाले बताएका छन् । संघ र प्रदेशको निर्वाचनमा गठबन्धनका कारण ७४ प्रतिनिधिसभा क्षेत्रमा र नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई मत हाल्न नपाएको उनले बताएका छन् ।

‘यसरी एकातर्फ कांग्रेसका क्रियाशील सदस्यले आफ्नो चिन्हमा मत हाल्न पाएनन् नै, अर्को तर्फ अन्य दलको निर्वाचन चिन्ह र झण्डा बोकेर मत माग्न हिड्नुपर्ने बाध्यात्मक अवस्था सृजना भयो’ थापाले भनेका छन् ।

हेर्नुहोस् महामन्त्री गगन थापाको प्रस्ताव : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?