+
+

कांग्रेस महासमिति प्रतिनिधि भन्छन् : कांग्रेसले एक्लै लड्न सामर्थ्य राख्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १३:२३

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सर्वाधिक चर्चाको विषय भावी गठबन्धनको सन्दर्भमा रह्यो । आगामी निर्वाचनमा एक्लै चुनावमा जानुपर्ने संकल्प प्रस्ताव अघि सारेका महामन्त्री गगन थापाको प्रतिवेदन बैठकमा पेश भएको छ । रुख चुनाव चिह्न बाहेक अन्यमा मत दिने बाध्यता बनाउँदैनौं भनी महामन्त्री थापाले प्रतिवेदन वाचन गर्दा प्रतिनिधिले तालीले समर्थन जनाए ।

पार्टी संस्थापन पक्ष चार वर्षपछिको चुनावमा अहिले नै निर्णय लिनुपर्ने अडानमा थियो । महामन्त्री थापा पछि नहटेपछि अन्ततः भावी चुनावमा आफ्नै बलमा कांग्रेस चुनाव लड्ने प्रस्ताव पेश भएको छ ।

महासमिति बैठकमा सहभागी हुन आएका केही प्रतिनिधिहरुसँग अनलाइनखबरले प्रतिक्रिया लिंदा उनीहरु चुनावी तालमेलको विपक्षमा देखिए ।

गठबन्धन गर्नु सैद्धान्तिक रुपमा जायज छैनः नृप साउद (अछाम)

गठबन्धन सैद्धान्तिक रुपमा बेठिक छ । पार्टी भनेकै सिद्धान्तले चल्ने हो । सैद्धान्तिक रुपले बहसको विषय बन्दैन भनिसकेपछि गठबन्धन गर्नु जायज हुँदैन ।

४ वर्ष पछिको निर्वाचनका लागि अहिले निर्णय लिने कि भोलि निर्णय गर्ने भन्दा पनि गठबन्धन कहिले पनि गर्न हुँदैन भन्ने हो । गठबन्धन गर्न हुँदैन भनिसकेपछि पछि निर्णय लिने कुरा स्वाभाविक हुन्न ।

पार्टीमा लाग्नेले टिकटको अपेक्षा गरेको हुन्छ । आज पार्टीमा खटिएको व्यक्ति जसले टिकटको आशा राखेको हुन्छ । उसको ठाउँमा गठबन्धन भयो भने त्यो व्यक्तिले सहज लिन्छ ? मेरो क्षेत्र अछाम–१ मा कांग्रेसको भोट १९ हजार थियो । एकीकृत समाजवादीको २७ सय थियो । एकीकृत समाजवादीलाई हामीले भोट दिनुपर्ने अवस्था बन्यो ।

कांग्रेसमा एउटा डर छ । भोलि कम्युनिष्ट–कम्युनिष्ट मिल्छन् भन्ने । मिले मिल्छन् । एक्लै लड्ने सामर्थ्य कांग्रेसले राख्नुपर्छ ।

महासमिति बैठकले गठबन्धन नगर्ने निर्णय गरे यसको प्रभाव अरु दलमा पनि पर्नसक्छ । भोलि एमालेले पनि कुनै दलसँग तालमेल नगर्ने निर्णय लिन दबाब पर्छ । कांग्रेसले गठबन्धनको विरुद्धमा निर्णय लियो भने माहोल नै अर्को बन्न सक्छ ।

नेतृत्वमा दुई थरी कुरा छ । जनताको विचमा जाने एक थरी होलान् । जनताको जनमतमा विश्वास गर्नुपर्यो । पार्टीको कार्यक्षमता बढाएर आफूप्रति विश्वास बढाउनु पर्यो । जनताको आकर्षण भएको नेता भयो भने मतदाताकहाँ जाँदा डराउनु पर्दैन ।

गठबन्धन गरिराख्ने एउटा सोंच र त्यसबाट लाभ बारम्बार लिइरहनका लागि होला । दृष्टिकोण र सही भिजन लिएर आएका व्यक्तिहरुलाई त पार्टी कसरी राम्रो बनाउने भन्ने हुन्छ । अरुको चुनाव चिह्नमा किन भोट हाल्ने भनी आम कार्यकर्तालाई सैद्धान्तिक रुपमा तयार गर्नुपर्दछ । सैद्धान्तिक रुपका कार्यकर्तालाई तयार गर्नका लागि नीति महाधिवशेनको रुपमा रहेको यो महासमिति बैठकले निर्णय लिनुपर्दछ । त्यस्तो संकल्प गरियो भने पार्टी कार्यकर्ता निश्चिन्त भएर संगठन बलियो बनाउन लाग्छन् ।

चुनावमा बहुमत आएन भने सरकार बनाउने कुरा तत्कालीन अवस्थामा भर पर्दछ । भारतमा पनि चुनाव पछि गठबन्धनको सरकार बनेको छ । हारिन्छ भनेर चुनावमा जान डराउने त लोकतान्त्रिक पार्टी नै हुनसक्दैन ।

पार्टी बलियो बनायौं भने गठबन्धन गर्न पर्दैन : किरण सरकार (पर्सा)

पार्टीले मधेसलाई पछि पारिरहेको छ । अहिलेसम्म मधेशबाट पार्टी सभापति कोही बन्न पाएको छैन । मधेशी महिला पनि अवसरबाट वञ्चित भएका छन् । तलको कार्यकर्ताको केन्द्रका नेतासँग पहुँच पुगेको छैन ।

अवसरबाट वञ्चित हुनुमा गठबन्धन पनि हो । परिस्थितिबस गठबन्धन गर्नु अलग कुरा हो । गठबन्धन गर्नैै नपर्ने परिस्थिति कसरी बनाउने त ? त्यसका लागि संगठनलाई सुदृढ र राम्रो बनाउनुपर्दछ । केन्द्रीय नेताहरु गाउँ–गाउँ पुगेर संगठन बनाउनुपर्दछ । महासमिति बैठकले नेताहरु गाउँ जाने नीति पारित गर्नुपर्दछ । गाउँमा संगठन बलियो बनायौं भने गठबन्धन गर्नै पर्दैन । अहिले नयाँ नयाँ दलहरु आएका छन् । हामीसँग छुट्टिएर गएकाहरुले पनि दल बनाएका छन् ।

गठबन्धनका कारण सक्षम व्यक्तिले पनि मधेसमा टिकट पाएनन् । गठबन्धन गर्नुभन्दा संगठन बलियो बनाएर एक्लै चुनाव लड्ने पार्टी बनाउनका लागि महासमितिले निर्णय गर्नुपर्दछ । पार्टी बलियो बनायौं भने २०८४ मा गठबन्धन गर्न पर्र्दैन ।

कांग्रेस एक्लै हिंड्न लर्बराएको हो कि !: विमला राई (खोटाङ)

भावी दिशा कांग्रेसले कस्तो तय गर्छ भनी ठूलो जमातले नीति महाधिवेशनका रुपमा रहेको महासमिति बैठकलाई हेरिरहेको छ ।

आगामी चुनावमा कांग्रेस एक्लै लड्न वा अरु दलसँग सहकार्य गरेर लड्ने पनि जिज्ञासा छ । व्यक्तिगत विचारमा कांग्रेस एक्लै लड्नका लागि इमान्दारपूर्वक लाग्नुपर्ने देखिन्छ । जनप्रतिनिधि म दुई पटक भएँ । अघिल्लोपटक एकल प्रतिस्पर्धा गरेको हुँ ।

हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा अरु चार दल मिले पनि चुनाव जितें । राजनीतिमा इमान्दारिता प्रस्तुत गरियो भने निर्वाचन जित्न सकिने रहेछ । पार्टीले दिएको म्याण्डेट भन्दा जनताले दिएको म्याण्डेट जितिराख्नका लागि महत्वपूर्ण हुने रहेछ ।

सिंगो कांग्रेस एकजुट हुने हो भने हामीलाई अरु दलको सहयोग चाहिँदैन । हामीमा द्विविधा छ । एक्लै हिँड्न अलि लर्बराएको हो कि जस्तो देखिन्छ । अनुशासनलाई कायम राख्न सकेनौं भने राजनीतिलाई विकाससँग जोड्न सकिन्न । कहिलेकाहीँ पार्टीले गल्ती गरिरहेको अवस्था छ ।

कतिपय ठाउँमा कांग्रेसले स्थानीय तहमा एक्लै लडेर जितेको छ । केही ठाउँमा गठबन्धनका कारणले पनि जित्नेहरु हुनुहुन्छ । एक्लै चुनाव लड्नुमा डराउनु भनेको आफ्नो क्षमतामा शंका हो । त्यो शंकाले पनि हामी कमजोर हुन्छौं । सरकारमा जानका लागि मात्रै गठबन्धन हो भने त्यसले शंका उत्पन्न गर्दछ । संघीयता कार्यान्वयन र कार्यसम्पादनमा सबल गठबन्धनबाट हुनुपर्दछ ।

कार्यकर्ताले रुखमा भोट हाल्न बिर्सन लागे : नितिशकुमार गुप्ता (रौतहट )

गठबन्धनका कारणले गर्दा कांग्रेसलाई धेरै घाटा पुगेको छ । कांग्रेसमा सक्षम कार्यकर्ताहरु छन् । गठबन्धनका कारणले नै मधेशमा कांग्रेसमा क्षति पुगेको छ ।

मधेशमा ३२ संघीय क्षेत्र छन् । कांग्रेसका लागि मधेश आधार भूमि हो । त्यहाँबाट समानुपातिकमा पनि राम्रो मत हाम्रो पार्टीले पाउँदै आएको छ । पार्टीमा योगदान गरिरहेका नेता–कार्यकर्ता चुनावमा कांग्रेसबाट टिकट पाएनन् । टिकट नपाउँदा निराश भएका थिए ।

मधेशमा स्थानीय तहमा पहिलो पार्टी कांग्रेस बनेको छ । मेयरमा ४५ ठाउँमा कांग्रेसले जितेको छ । ५५ उपमेयर कांग्रेसले जितेको छ । स्थानीय तहमा पहिलो पार्टी भएपनि प्रदेशमा कांग्रेस दोस्रो भयो ।

यो महासमिति बैठकले अबको चुनावमा गठबन्धन गर्नुहुँदैन भन्नेमा हामी छौं ।  गठबन्धनले गर्दा धेरै साथीहरु पीडित भएका छन् । नयाँ कार्यदिशामा लैजानका लागि महासमिति बैठकले चुनावमा रुखमा मात्रै भोट हाल्ने निर्णय लिनुपर्दछ । कांग्रेसका कार्यकर्ताले रुख चुनाव चिह्नमा भोट हाल्न बिर्सने अवस्था भइसकेको छ । कांग्रेसले कांग्रेसको उम्मेदवारलाई नै भोट हाल्ने वातावरण बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?