+
+

मुख्यमन्त्री कार्कीले बनाउँदैछन् नयाँ कार्यकक्ष, निवासमा पनि वेटिङ रुम

हरि अधिकारी हरि अधिकारी
२०८० फागुन ८ गते १९:३३

८ फागुन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कार्यकक्ष सार्ने तयारी गरेका छन् । पाँच जना मुख्यमन्त्रीले प्रयोग गरेको कार्यकक्ष साँघुरो भएको भन्दै मुख्यमन्त्री कार्कीले कार्यकक्ष सार्ने तयारी गरेका हुन् ।

मुख्यमन्त्रीको इच्छा अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको दोस्रो तलामा कार्यकक्ष निर्माण धमाधम भइरहेको छ । मुख्यमन्त्री कार्यालयको सभाकक्ष अगाडिको भागलाई मुख्यमन्त्रीको कार्यकक्ष बनाउन लागिएको हो । सभाकक्षलाई मुख्यमन्त्रीको भेटघाट कक्षको रुपमा प्रयोग गर्ने तयारी छ ।

सहरी विकास तथा भवन निर्माण कार्यालयले तयार पारेको डिजाइन अनुसार संरचना निर्माणका लागि ९ लाख ४८ हजार रुपैयाँमा ठेक्का लगाइएको छ । सहरी विकास तथा भवन कार्यालय मोरङका सूचना अधिकारी प्रदीप घिमिरेले मुख्यमन्त्री कार्यालयबाट डिजाइनका लागि पत्र आएपछि कार्यालयले कार्यकक्षको डिजाइन गरिएको बताए ।

संरचना निर्माणको काम मुख्यमन्त्री कार्यालयबाटै भइरहेको छ । सभाहल रेनोभेट शीर्षकमा मुख्यमन्त्री कार्यालयले चालु आर्थिक वर्षको बजेटमा १० लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

मुख्यमन्त्रीको निवासमा पनि संरचना निर्माणका लागि प्रदेश सरकारले बजेट छुट्याएको छ । चालु आर्थिक वर्षको बजेटमा मुख्यमन्त्री निवासमा पाहुना प्रतिक्षालय (गेष्ट वेटिङ रुम) निर्माणका लागि भन्दै २० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यो योजना चालु आर्थिक वर्षको बजेटमा नै समावेश थियो । मुख्यमन्त्रीको सरकारी निवास सुनसरी मोरङ सिँचाइ आयोजनाको भवनमा छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव केदारनाथ शर्माले अहिले भएको कार्यकक्ष साँघुरो भएका कारण मुख्यमन्त्रीका लागि फराकिलो कार्यकक्ष बनाउन लागिएको बताए । ‘म आउनुभन्दा अगाडिदेखि नै काम सुरु भएको थियो, मैले बुझ्दा मुख्यमन्त्रीको कार्यकक्ष हो’, उनले भने ।

नयाँ कार्यकक्ष बनेपछि हाल मुख्यमन्त्रीले प्रयोग गरेको कार्यकक्षमा प्रमुख सचिव बस्नेछन् । यसअघिका मुख्यमन्त्री शेरधन राई, भीम आचार्य, राजेन्द्र राई, हिक्मतकुमार कार्की र उद्धव थापाले भने यही कार्यकक्षबाट काम गरेका थिए ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार अहिलेको कार्यकक्ष वास्तु नमिलेका कारण मुख्यमन्त्रीले नयाँ कार्यकक्ष बनाउन लगाएका हुन् । मुख्यमन्त्री केदार कार्कीका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरले वास्तुको कारण नभई कार्यकक्ष साँघुरो भएका कारण माथि सार्न लागिएको बताए ।

‘मुख्यमन्त्रीज्यूले वास्तु मान्नु हुन्न, कार्यकक्ष साँघुरो भएकाले सार्न लागिएको हो’, उनले भने ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?