+
+

सुरु भयो बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १९:५४

८ फागुन, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सैनिक मुख्यालय टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त तालिमको उद्घाटन गरे ।

शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि सुनिश्चित गर्ने उद्देश्यले आयोजित तालिम काभ्रेस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सञ्चालन हुनेछ ।

संयुक्त राज्य अमेरिका ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवं नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन भएको हो ।

नेपालमा सन् २००० मा पहिलोपटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । त्यस्तै, सन् २०१३ र सन् २०१७ मा  दोस्रो तथा तेस्रो संस्करणका अभ्यास सञ्चालन भइसकेका छन् । यस पटकको अभ्यास फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।

अभ्यासबाट शान्ति स्थापनामा देखापरेका चुनौतीबारे सहभागी राष्ट्रका सैनिकबीच अनुभव आदानप्रदानका साथै चुनौती सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

तालिम उद्घाटन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वशान्ति प्रयासका लागि संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय सहभागितालाई महत्व दिँदै आएको बताए ।  उनले भने, ‘नेपाली सेनाले शान्ति मिसनमा समावेशी संग्लनतालाई प्राथमिकता र महत्व दिँदै आएको छ, शान्ति स्थापनाका हिसाबले अति संवदनशील गोलनहाइटदेखि अफ्रिकाको सहारा मरुभूमिसम्म पुगेर देखाएको बहादुरीलाई विश्वले प्रशंसा गरेको छ । हाम्रो विश्वशान्तिमा लामो अनुभव र ऐतिहासिक उपस्थिति छ ।’

शिलर

अमेरिकको राजनीतिक तथा सैन्य मामिला ब्यूरोकी योजना तथा कार्यक्रमसम्बन्धी उपसहायक विदेशमन्त्री रेचल  शिलरले  अमेरिकाले विश्वशान्ति र सुरक्षामा संलग्न देशलाई क्षेत्रीय शान्तिका सन् २००५ देखि हालसम्म डेढ अर्ब डलर खर्च गरिसकेको बताए ।

उनले भने, ‘विगतका तुलनामा शान्ति मिसनमा शान्ति सुरक्षाकर्मीप्रति बहुआयामिक सुरक्षा चुनौती बढ्दै गएको छ । अमेरिका शान्ति मिसनको प्रभावकारिता बढाउन कटिबद्ध छ ।’

नेपालका शान्ति स्थापनाप्रतिको प्रतिबद्धताका कारण आज हामी यहाँसम्म आइपुगेको बताउँदै उनले नेपालको शान्ति कायम गर्ने कार्यमा उत्कृष्ट उपलब्धिका लागि प्रशंसा गर्न चाहेको बताए ।

सो अवसरमा नेपाली मौलिकता झल्कने भेषभूषासहितको गीत-सङ्गीत र नृत्य प्रस्तुत गरियो भने जीवित देवी कुमारीको झझल्को दिने संस्कार र संस्कृति प्रस्तुत गरियो ।

नेपाली सेनाको हेलिकोप्टरले समारोहमा पुष्पवृष्टिसहित अभ्यास शान्ति प्रयास चार लेखिएको ब्यानर हेलिकोप्टरबाट प्रदर्शन गरियो । नेपाली सेनाको एक टुकडीले त्यस अवसरमा सैनिक ब्यान्ड सो अवसरमा प्रस्तुत गरिएको थियो ।

समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव डा बैकुण्ठ अर्याल, रक्षासचिव किरणराज शर्मालगायत सहभागी थिए ।

अभ्यासका क्रममा स्थलगत परिचालन, कार्यालयसम्बन्धी काम र अनुभव आदानप्रदानसम्बन्धी विषय सञ्चालन हुनेछ । संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्विलो साथ र सहयोग रहँदै आएको छ  ।

नेपालले कुनै गुट वा उपगुटमा संलग्न नभई राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेना उपलब्ध गराउने सिलसिलामा संयुक्त राष्ट्रसङ्घको झन्डामुनि मात्र जाने राष्ट्रिय नीति अवलम्बन गरेको छ ।

सन् १९४५ अक्टोबर २४ राष्ट्र सङ्घको स्थापना भएकामा नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको थियो ।

नेपालले सन् १९६९–१९७० र सन् १९८८–१९८९ मा दुईपटक राष्ट्रसङ्घको शक्तिशाली सुरक्षा परिषद्को अस्थायी सदस्यको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरिसकेको छ ।

राष्ट्रसङ्घको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता साढे छ दशकभन्दा बढीको छ । सन् १९५८ मा लेवनानमा पाँच सैनिक पर्यवेक्षकको तैनाथबाट सेनाको राष्ट्र सङ्घ शान्ति सहायता अभियानसँगको सहकार्य सुरु भएको हो ।

नेपाल तत्कालीन समयदेखि नै राष्ट्रसङ्घका अधिकांश शान्ति ‘मिसन’मा सक्रिय सहभागी हुँदैआएको छ ।

यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ६७ हजार नेपाली शान्ति फौजले भाग लिइसकेका छन् । त्यसमध्ये नेपाली सेनाको सङ्ख्या एक लाख ४९ हजार आठ सय ९० रहेको छ ।

नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसङ्घलगायत निकायबाट उच्च प्रशंसा हुँदै आएको छ । शान्ति स्थापनार्थ खटिएका नेपाली सैनिकले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन जिम्मेवारी बहन गर्दै आएका छन् ।

विश्व शान्ति स्थापनामा संलग्न हुने सिलसिलामा हालसम्म ७३ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने ६८ जना घाइते भएका छन् ।

शान्ति सैनिक खटाउने मुलुक सूचीमा नेपाल हाल पहिलो वरियतामा भएको राष्ट्र हो । महिला सैनिक खटाउने सूचीमा पनि नेपाल यसअघि नै पहिलो नम्बरमा रहिआएको छ ।

विश्वका १२ मिसनमा हाल छ सय ३२ महिला सुरक्षाकर्मीसहित छ हजार एक सय ३१ सुरक्षा फौज तैनाथ छन् । त्यसमध्ये नेपाली सेनाको सङ्ख्या पाँच हजार आठ सय ८५ रहेको छ ।

राष्ट्रसङ्घको आह्वान भएको खण्डमा नेपालले शान्ति कार्यमा दश हजारसम्म तालिम प्राप्त शान्ति सेनालाई परिचालन गर्न सकिने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ ।

राष्ट्रसङ्घले नेपालमा भएको दशवर्षे सशस्त्र द्वन्द्व समाधानका लागि नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय मिसन (अनमिन) पठाएरसमेत सहयोग पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?