+
+

सेनाको क्याप्टेन हुँ भन्दै ठगी धन्दा, अमेरिका लाने र भर्ती गराइदिने आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १६:४८

२१ चैत, काठमाडौं । नेपाली सेनाको मेजर भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दोलखाको चरिकोट नगरपालिका–४ का २८ वर्षीय बालकुष्ण श्रेष्ठले कतै सेनाको मेजर र कतै सेनाको क्याप्टेन हुँ भन्दै मानिसहरुलाई सेनामा भर्ती गराइदिने र अमेरिका पठाइदिने नाममा ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीमाथि अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो । न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले बुधबार उनलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

श्रेष्ठले एक महिलाहरुलाई आफू डिभी परेर अमेरिका जान लागेकाले विवाह गरेर अमेरिका लैजाने प्रलोभन गरेर ठगी गरेको प्रहरीको भनाइ छ ।

नेपाली सेनाको छाउनीस्थित अस्पतालमा बिरामी कुरुवा एक महिलालाई श्रेष्ठले आफू सेनाको क्याप्टेनको जागिर छाडेर अमेरिका जान लागेको भन्दै विवाह गरेर लैजाने प्रलोभन देखाएका थिए । ती युवतीसँग पटक पटक गरेर २ लाख ३० हजार रुपैयाँ लिएको पाइएको अनुसन्धानमा संलग्न एक अधिकारीले जनकारी दिए ।

पछि फेरि जग्गा किन्नुप¥यो भन्दै थप रकम माग्न थालेपछि श्रेष्ठको बारेमा बुझ्दा उनी सेनाको क्याप्टेन नभएको खुलेपछि महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

श्रेष्ठले अर्की एक युवतीलाई आफू सेनाको क्याप्टेन रहेको भन्दै सेनामा भर्ना गराइदिने आश्वासन दिएर रकम ठगी गरेको अनुसन्धानबाट खुलेको थियो । श्रेष्ठले कमाण्डो नेपाली नामको फेसबुक बनाएर युवतीसँग म्यासेन्जरमा कुराकानी गरेका थिए ।

श्रेष्ठसँग कुराकानी गर्ने क्रममा युवतीले आफ्नो भाइ सेनाको सिपाही पदमा भर्ना हुनका लागि आवेदन दिएको बताएकी थिइन् । त्यसपछि श्रेष्ठले सेनामा भर्ना गरिदिने तर त्यसका लागि रकम चाहिने भन्दै माग गरेका थिए ।

श्रेष्ठले ती युवतीसँग बैंक खातामा १ लाख ३० हजार र नगद नै १० हजार रुपैयाँ लिएका थिए । त्यतिले पनि नपुग्ने भन्दै उनले थप रकम पनि माग गरेका थिए । रकम नभएपछि एक तोलाको सुनको सिक्री समेत श्रेष्ठले लगेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ । सुनको सिक्री र नगद गरेर २ लाख ६० हजार रुपैयाँ लिएपछि श्रेष्ठ सम्पर्कविहीन भएका थिए ।

दोलखाकी अर्की युवतीलाई पनि श्रेष्ठले यस्तै शैली अपनाएर ठगी गरेको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् । कमाण्डो नेपाली नामको फेसबुक आइडीबाट कुराकानी गर्दा उनले आफू सेनाको मेजर रहेको परिचय दिएका थिए । ती युवतीलाई नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै उनले पटक पटक गरेर १ लाख ७० हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।

दोलखाकी युवतीलाई श्रेष्ठले आफू नेपाली सेनाको दोलखाको तारा गणको मेजर भएको बताउँदै प्रलोभनमा पारेर ठगी गरेको खुलेको छ । ती युवतीको भाइलाई सेनाबाट भागेका भगौडा खाली भएको ठाउँमा सोझै भर्ना गराइदिन्छु भन्दै १ लाख रुपैयाँ लिएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि पनि ५० हजार रुपैयाँ बैंक खतामा राख्न लगाएका श्रेष्ठ सम्पर्कविहीन भएका थिए ।

श्रेष्ठले सेनामा भर्ना गराइदिने भन्दै एक युवकसँग १ लाख ५० हजार रुपैयाँ लिएका थिए । उनीविरुद्ध प्रहरीमा ५ जनाले जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?