+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares
ब्लग :

विद्यार्थीले राजनीति किन बुझ्नुपर्छ ?

सबै विद्यार्थी राजनीतिक गतिविधिमा सहभागी हुनुपर्छ भन्ने होइन तर छिटो विषयवस्तु बुझ्न र त्यसलाई तत्काल ग्रहण गर्न सक्ने चरित्र वा क्षमता विद्यार्थी वर्गमा हुने भएकाले उनीहरू सबैलाई राजनीतिक चेतनाबाट अलग गर्नुहुँदैन ।

प्रकाश सी प्रकाश सी
२०८० फागुन १० गते १४:०९

राजनीति सबै नीतिहरूको मूल नीति हो अथवा राजनीतिले सबै क्षेत्रहरूको अगुवाइ गर्दछ । मानव जीवनको सुरुवातदेखि अन्त्यसम्म राजनीतिक प्रक्रिया चलिरहन्छ । कोक्रोदेखि चितासम्म प्रभाव पार्ने भएकाले व्यक्ति, परिवार र मानव समाज राजनीतिभन्दा अलग रहन सक्दैन ।

यदि कसैले आफू राजनीतिभन्दा टाढा रहेको मान्दछ भने त्यो ढोंगी हुन्छ । त्यसैले भनिन्छ, ‘तपाईं राजनीति चाहनुस् वा नचाहनुस् राजनीतिले तपाईंलाई चाहन्छ ।’

नेपालको शैक्षिक वृत्तमा पछिल्लो केही वर्षदेखि शिक्षालयलाई राजनीतिबाट अलग गर्नुपर्छ भन्ने बहस जबर्जस्त सतहमा ल्याइयो र अझै विद्यार्थी आन्दोलनको सान्दर्भिकता नै समाप्त भइसक्यो यसको अन्त्य गरिनुपर्छ भन्ने विचारहरू पनि आइरहेका छन् ।

तर, के यो तर्क वस्तुवादी हुन सक्दछ ? यदि मानव राजनीतिक प्राणी हो भनेर स्वीकार पनि गर्ने र उसलाई राजनीतिबाट अलग पनि गर्नुपर्दछ भन्ने मान्यता राख्ने हो भने यो कसरी सम्भव हुन्छ ? आम विद्यार्थी मात्र होइन कि सबै बौद्धिक समुदायले यसतर्फ संकेन्द्रित बहस गर्न जरूरी छ ।

नेपालको आजसम्मको राजनीतिक इतिहासमा धेरै ठूला–ठूला दरबारिया षड्यन्त्र, भाइभारदारबीचको काटाकाट, सत्ता छिनाझपटी र दाउपेच, विदेशीको दलाली र अवसरवाद तथा राष्ट्रघातले भरिएको छ ।

पछिल्लो ३० वर्षको बहुदलीय संसदीय प्रतिस्पर्धामा आधारित राजनीतिक अभ्यासलाई हेर्दा पनि राष्ट्रिय उद्योगधन्दाको निजीकरण, प्राकृतिक स्रोत-साधनको दुरुपयोग, भ्रष्टाचार र दलालीकरण, नातावाद, कृपावाद, राजनीतिक दास मनोवृत्ति, शिक्षा र स्वास्थ्यमा निजीकरण, व्यापारीकरण हुँदै अपराधीकरण, व्यक्तिवादी स्वार्थकेन्द्रित अराजकतावादी राजनीतिले निश्चय नै आम युवा विद्यार्थीलाई विकर्षण गरेको कुरा सत्य हो ।

तर, राजनीतिको विकल्प राजनीति नै हुन्छ भन्ने सत्यताबाट जुनसुकै तहको विद्यार्थी किन नहोस् उनीहरूलाई राजनीतिक चेतनाबाट पर धकेल्ने कुरा वैज्ञानिक हुन सक्दैन । पहिलो संविधान सभाको निर्वाचनताकादेखि विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने प्रक्रियासँगै विशेषगरी शिक्षामा व्यापार गरेर सम्पत्ति थुपार्न पल्केका राजनीतिक, गैरराजनीतिक सबै शैक्षिक माफियाहरू आजको दिनसम्म पनि आफ्ना शैक्षिक संस्थाको हाताभित्र आफ्ना विद्यार्थीले राजनीतिक शब्द नै उच्चारण नगरुन् भन्ने चाहन्छन् ।

तर उनीहरू भने राजनीतिकै आडमा कमाउ धन्दामा लिप्त भएका हुन्छन् । यदि विद्यार्थीमा राजनीतिक चेतना जागृत भयो र उनीहरू संगठित हुन पुगे भने विद्यार्थीको शैक्षिक मुद्दाहरू उठान गर्ने, विद्यालय प्रशासनसँग सामूहिक सौदाबाजी गर्ने, प्रशासनको एकल निर्णयमाथि प्रश्न खडा गर्ने र शैक्षिक व्यापारमा धक्का पुग्ने डरले निजी शैक्षिक कम्पनीले त सबै राजनीतिक क्रियाकलापलाई नै निषेध गरेको हुन्छ ।

यता, सामुदायिक शिक्षालयले समेत ‘यो तेरो राजनीति गर्ने उमेर होइन, नेता बनेर के गर्छस् ? बरु राम्रोसँग पढ् अनि जागिर गरेर पैसा कमा’ भन्ने स्कुलिङ पो गर्ने गरेको पाइन्छ । यसले विद्यार्थीमा राजनीतिप्रतिको थप वितृष्णा भर्ने काम गरेको छ ।

यहाँ भन्न खोजिएको सबै मानिसले राजनीति गर्नुपर्छ अथवा सबै विद्यार्थी राजनीतिक गतिविधिमा सहभागी हुनुपर्छ भन्ने होइन तर छिटो विषयवस्तु बुझ्न र त्यसलाई तत्काल ग्रहण गर्न सक्ने चरित्र वा क्षमता विद्यार्थी वर्गमा हुने भएकाले उनीहरू सबैलाई राजनीतिक चेतनाबाट अलग गर्नुहुँदैन भन्न खोजिएको हो ।

चाहे विद्यालय तहका विद्यार्थी होउन् चाहे विश्वविद्यालय तहका; यदि उनीहरूमा आफ्नो समाज कता जाँदैछ, मानव समाजको इतिहास के हो, आफ्नो परिवार र देशको स्थिति के हो, विश्व कता जाँदैछ, परिवार र समाजमा आफ्नो भूमिका के हो, राजनीतिले मानव जीवनमा के अर्थ राख्दछ भन्ने जस्ता पक्षहरूमा चासो र चिन्ता छैन भने उनीहरूले जति धेरै अंक ल्याए पनि, जति राम्रो अंग्रेजी बोले पनि समाज र राज्यको लागि के नै अर्थ राख्दछ र ?

तसर्थ राजनीतिलाई शिक्षाबाट अलग गरेर होइन विद्यार्थीलाई राजनीतिक शिक्षाको अध्ययन गराउनुपर्दछ । यसले आफ्नो समाज, राज्य, देशभक्ति, नेतृत्व, राजनीतिक इतिहास जस्ता विषयहरूमा विद्यार्थीको दृष्टिकोण निर्माण गर्न सहयोग पु¥याउँदछ र राज्यको राजनीतिक भविष्यप्रति समेत चिन्तन–मनन गर्ने राजनीतिक संस्कारको विकास गराउँदछ ।

आजको विद्यार्थी भोलिको नेतृत्व हो । राज्यका प्रशासनिक, वित्तीय, कूटनीतिक, सुरक्षा, राजनीतिक सबै क्षेत्रमा कुनै न कुनै प्रकारको नेतृत्वको त आवश्यकता नै पर्दछ, आजको राजनीति र नेतृत्व खराब भयो भन्दैमा विद्यार्थीलाई राजनीतिबाट बाहिर राख्नु त मुहानै बन्द गर्नु जस्तो हुँदैन र ?

त्यसो भएकाले भोलिको उत्तराधिकारी निर्माण गर्नको लागि पनि विद्यार्थीलाई जुनसुकै विचारधारामा आधारित भए पनि छलफल र बहसमा सहभागी हुने वातावरण बनाउनुपर्दछ । माक्र्सवादी या गैरमाक्र्सवादी जुन दर्शनमा पनि विद्यार्थी सहमत भएर वैचारिक प्रतिस्पर्धामा उभिन सक्दछ ।

तर, हामीले शान्ति क्षेत्रको नाममा या व्यापारको नाममा शिक्षा क्षेत्रमा राजनीतिक नाकाबन्दी गरिदिने हो भने प्रतिभाहरू कसरी जन्मन्छन् ? नेतृत्वको विकास कसरी हुन्छ ? समाज अध्ययन कसरी गर्न सक्छ ? राजनेताको जन्म कसरी हुन्छ ?

आजसम्मका नेपाली नेतृत्वहरूले राजनेताको भूमिका पूरा गर्न सके सकेनन् एउटा बहस हुन सक्ला तर नेपाललाई वर्तमान अवस्थासम्म ल्याइपु¥याउन केही न केही योगदान त गरेका छन् नि ! विद्यार्थीकालमा नै उनीहरूमा नेतृत्वको जग नबसेको भए के यो सम्भव थियो त ? अवश्य थिएन ।

पछिल्लो दशकको विद्यार्थी आन्दोलनलाई तटस्थ भएर हेर्ने हो भने कुनै पनि एकल वा संयुक्त विद्यार्थी संगठन र आन्दोलनले आम विद्यार्थीमा राजनीतिक, शैक्षिक आन्दोलनप्रति आशा र विश्वास भर्न नसकेको यथार्थ हो ।

मूलतः आफ्नो मातृ पार्टी सरकारमा गएसँगै शैक्षिक एजेण्डाहरूलाई सौदाबाजीमा थाती राखेर मन्त्री, सांसद र जनप्रतिनिधिहरूको पीए बन्नको लागि होडबाजी गर्ने, ठेक्कापट्टा र टेन्डरमा लडाइँ गर्ने, सरकारी नियुक्ति र विभिन्न प्रकारका देशभित्र र बाहिरका शैक्षिक छात्रवृत्तिहरूमा लेनदेन गर्ने जस्ता राजनीतिक कुसंस्कारमा तल्लीन हुनाले पनि विद्यार्थी आन्दोलन बदनाम हुन पुग्यो ।

आज पनि मूल रूपमा विद्यार्थी आन्दोलनले आफ्नो अनौपचारिक स्थायी प्रतिपक्षको चरित्र गुमाएको छ भने यसले सत्ता र नेतृत्वको गुणगान गाएर आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने यात्रा तय गरेको छ ।

यस्ता कारणहरूले गर्दा विद्यार्थी आन्दोलनले नयाँ राजनीतिक संस्कारको विकास गर्न सकेको छैन भने पुराना इतिहासलाई पनि निरन्तरता दिनसकेको छैन जसका कारण आम जनताले विद्यार्थी आन्दोलनलाई कर्मकाण्डी रूपमा मात्र बुझेका छन् ।

विद्यार्थी आन्दोलनको ओरालो लाग्दो लोकप्रियताले गर्दा पनि नयाँ पुस्ताका विद्यार्थीमा आन्दोलनप्रति वितृष्णा जागेको हुन सक्दछ । तर, आन्दोलनको गति सुस्ताएको, गलत प्रवृत्ति हावी भएको, पार्टीको दास भएको, अभिभावक र विद्यार्थीबाट कटेको जस्ता कारण देखाएर मात्र विद्यार्थी आन्दोलनको औचित्य समाप्त भएको मान्ने हो भने के राज्यको नेतृत्व अब भविष्यमा गैरराजनीतिक व्यक्तिहरूबाट खोज्ने हो ? त्यो कदापि हुन सक्दैन ।

बरु विद्यार्थी आन्दोलनलाई नयाँ ढंगबाट संगठित गरेर अगाडि बढाउने दिशामा बहस केन्द्रित गर्नुपर्दछ । पार्टीको विचारबाट निर्देशित हुन सक्दछ तर ‘झोले’ संगठन बनाइनुहुँदैन । विद्यार्थीले आफ्नो दैनिकी सांगठनिक प्रशासन स्वायत्त ढङ्गबाट नै आफ्नो चरित्र अनुसार सञ्चालन गर्नुपर्दछ ।

आजको मुख्य चुनौती नयाँ युवा विद्यार्थीमा कसरी राजनीतिक सचेतना भर्ने भन्ने नै हो । नेपालमा कुन राजनीतिक व्यवस्था चाहिन्छ भन्ने विषयमा बहस गर्ने वातावरण सृजना गर्नु हो । नेपालमा कस्तो प्रकारको शिक्षा नीति, संरचना र उद्देश्य निर्धारण गर्नुपर्दछ भन्ने विषयमा परिणाममुखी छलफल गर्नु हो । आजसम्म हामीले अभ्यास गरेका राजनीतिक अभ्यास र त्यसको नकार र सकार तथा विकल्पको सन्दर्भमा चिन्तनमनन गर्ने वातावरण बनाउनु हो ।

यस्तो वातावरणको सृजना शिक्षालयमा राजनीतिक प्रतिबन्ध लगाएर वा विद्यार्थी आन्दोलनको विघटन गरेर सम्भव छैन । बाटो बिराएको विद्यार्थी आन्दोलनलाई आफ्नो चरित्र अनुसारको लिकमा हिंडाएर मात्र यो सम्भव हुन्छ ।

उसो त विद्यार्थी आन्दोलन स्खलित हुनुमा विद्यार्थी नेतृत्वको मात्र दोष भने होइन । मातृ पार्टीले युवा विद्यार्थीलाई आफ्नो स्वार्थमा मात्र प्रयोग गर्ने, आन्दोलनको भन्दा पनि नेतृत्वको मात्र सेवक ठान्ने प्रवृत्तिले नै प्रमुख भूमिका निर्वाह गरेको छ ।

एकातिर शैक्षिक माफियाको जाल, परिपञ्च अर्कोतिर पार्टीको तन्नम झोले कार्यकर्ता र चरम उपभोक्तावादी संस्कृतिले आजको विकृत अवस्था सिर्जना गरेको छ । चरम अवसरवादले कुनै राजनीतिक सिद्धान्त र वैचारिक प्रतिस्पर्धाको जगमा उभिएको कार्यक्रम र परिणाममा होइन आफू अनुकूलको परिस्थितिको निर्माणमा जोड गर्दछ ।

आज विद्यार्थी आन्दोलनमा आलोचनात्मक चेत हराउँदै जानु भनेको अवसरवादको संकेत मात्र होइन प्रमाण नै हो । युवा विद्यार्थीलाई राजनीतिमा आकर्षण गर्ने, राजनीतिमा आकर्षण गरेर पनि सही राजनीतिक विचारधारा र संस्कारमा सहभागी गराउने, देशको स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक न्याय सहितको समृद्धिको आधार र सम्भावनाहरूको खोजी गर्ने जस्ता विषयहरूमा विद्यार्थी आन्दोलनलाई केन्द्रित गराउनु आवश्यक छ ।

यसको लागि विद्यार्थी संगठनको भूमिका त आफ्नो ठाउँमा छँदैछ राज्यले समेत अनिवार्य राजनीतिक शिक्षाको व्यवस्था शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्दछ । सधैं आन्दोलन गरेर मात्र हुँदैन भन्ने र विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो भनेर ठान्नेहरूले राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्य कोठामा बसेर लेखेर मात्र भएको होइन अथवा स्वस्पूmर्त रूपमा परिवर्तन भएको होइन भन्ने कुरा बुझ्नुपर्दछ ।

यसमा युवा विद्यार्थीको भौतिक उपस्थिति, ठूलाठूला मेसिनगन र सशस्त्र फौज विरुद्ध ढुंगामुढाको प्रतिरोध तथा टायर र चक्काजामको पनि ठूलो भूमिका छ । यो सत्यलाई कसैले छिपाउन सक्दैन ।

अबको विद्यार्थी आन्दोलनको बाटो पक्कै पनि हिजोकै सोचाइ र प्रवृत्तिबाट अगाडि बढ्न सक्दैन तर यसको अर्थ आन्दोलन नै विघटन गर्नुपर्छ भन्ने मतसँग कुनै पनि दृष्टिकोणबाट सहमत हुन सकिंदैन ।

बरु जनताको जीवन, समाज, देश, परदेश नजिकबाट पढ्न र बुझ्नको लागि नयाँ आयाम सहितको विद्यार्थी आन्दोलन संगठित गर्ने र त्यसको लागि आम विद्यार्थीले राजनीति बुझ्नुपर्दछ भन्ने जनमत निर्माण गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?