+
+
Shares
ब्लग :

देश अब त फेरिएला कि !

पोर्चुगल युरोपेली मुलुकहरूमध्ये गरिब देशका रूपमा चिनिन्छ, तर यहाँ जे-जति विकास र पद्धति छ, त्यसको केही प्रतिशत मात्र नेपालमा भइदिएको भए हामी जस्ता लाखौँ पौरखी नेपालीले विदेसिनु पर्ने थिएन ।

डा. निरञ्जन सापकोटा डा. निरञ्जन सापकोटा
२०८२ चैत ७ गते १७:४६
Listen News
0:00
0:30
🔊

हामीले जे चाहेका थियौँ, त्यो प्राप्त गरेका छौँ। साढे तीन दशक लामो सत्ता खिचातानीबाट आक्रान्त नेपालीले सायद म जस्तै सुखको लामो श्वास फेरे होलान् । भोलि के होला भन्ने कुरा अझै स्पष्ट छैन, तैपनि हामी खुसी छौँ

वास्तवमा देश कहिल्यै पनि जनताको थिएन । देश केवल राज्यसत्तालाई कुनै न कुनै हिसाबले दोहन गर्नेहरूको कब्जामा जकडिएको थियो ।

न्याय र समानताका कुरा रट्ने तथाकथित साम्यवादी (कम्युनिष्टको खोल ओढेका) हरू त यो मामिलामा झन् एक कदम अगाडि थिए। जनतामाझ भ्रम छर्न र अल्मल्याउन उनीहरू नै सबैभन्दा सिपालु रहेछन्।

अब प्रश्न उठ्ला— देश कसले दोहन गर्थे ? उत्तर सहज छ। तपाईंहरुकै छरछिमेकमा रहेका पुराना राजनीतिक दलका ‘जबर्दस्त’ कार्यकर्ताको जीवनशैली हेर्नुहोस्, उनीहरूको रवाफ हेर्नुहोस् र उनीहरूले पाएको न्यायको पहुँच मूल्याङ्कन गर्नुहोस् । मिल्यो त उत्तर ? हो, देश उनीहरूको मात्र थियो, जसको कोही आफन्त कांग्रेसमा थियो वा एमालेको उपल्लो तहमा। सत्तादेखि सत्तासम्मको सैद्धान्तिक बाटो र अघिल्लो चुनावदेखि पछिल्लो चुनावसम्मको गन्तव्य बोकेकाहरूबाट शासित हुनु नेपालीका लागि अभिशाप बनेको थियो । अब भने केही नयाँ हुन्छ कि भन्ने आशा गर्न पाइएको छ।

कतै पनि नटाँसिएका हामीहरू ‘टुहुरा’ जस्तै थियौँ। हामी जो कसैको दास हुन चाहँदैनथ्यौँ, हाम्रा लागि कोही थिएन। सरकारी कर्मचारीले यता र उता झुलाउँदा हामी आदेश मान्न बाध्य हुन्थ्यौँ।

कर्मचारीको माग अनुसारको ‘भाग’ नपुर्‍याएसम्म हाम्रो काम बन्नेवाला थिएन। तर ‘झोले’हरूलाई भने यो समस्या थिएन, किनकि उनीहरूका लागि ‘माथि’बाट फोन गरिदिने मान्छे हुन्थे।

देश गुण्डाहरूको तजबिजमा चल्थ्यो, अनि गुण्डाहरू नेताको इसारामा । यी दृष्टान्तहरू अब इतिहास बनुन् भन्ने कामना छ। विगतले तर्साइरहेको र भविष्य कस्तो होला भन्ने दोसाँधमा यो पत्र लेखिँदै छ।

सधैँ उही, सधैँ उस्तै केही थियो भने त्यो नेपालको राजनीति थियो। एउटै नारा, उस्तै शैली र उही मान्छेबाट ३५ वर्षसम्म पिल्सिनु एकबारको जुनीमा कम सास्ती थियो र ? आज होला भन्यो हुँदैन, यो साल यस्तै भयो भन्यो अर्को साल झन् कठिन बनेर आउँथ्यो । संसारमा नेपालीभन्दा सहनशील प्राणी कतै पाइँदैन, तपाईँलाई यस्तो लाग्दैन ? साम्यवाद नै आइहाल्छ कि भनेर पत्याउने हामी नेपालीलाई एक पटक होइन, कैयौँ पटक झुक्याइयो। हुँदाहुँदा झुक्याइने बानी नै परेको हामीले पत्तै पाएनौँ। हामीले भेउ नपाएको उनीहरूले थाहा पाएरै त हामीलाई यति धेरै नजरअन्दाज गरेका होलान् नि, होइन त?

नत्र मिल्नै नसक्ने विचारधारा बोकेका दुई दल मिलेर भोट माग्न आउँदा पनि हामीले शङ्का नगरी जिताएरै पठायौँ।

‘यो समीकरण भएन, अब अर्को बनाउँछौँ’ भन्दै ‘ढोक्सो’ थाप्दा पनि हामीले पत्याइदिइरह्यौँ। नेताहरूले गरेका हरेक कुकृत्यलाई आफ्नै परिवारको सदस्यको गल्ती जस्तै गरी ढाकछोप गरिदियौँ । जघन्य अपराधमा दोषी ठहर भएका ‘लठुवा’हरूलाई काँधमा बोकेर सुनपानी छर्किने काम पनि भयो।

नेताहरूमाथि लागेका लाञ्छनाहरूको बचाउ गर्न हामीले हाम्रा आफ्ना नातागोतासमेत चिढ्यायौँ। यति हुँदाहुँदै पनि जनताको सहिष्णुतालाई लात मारेपछि यो भन्दा फरक नतिजा अरू के नै आउँथ्यो र?

चेतना एक पलकमै प्राप्त हुने कुरा होइन। लामो हण्डर र ठक्कर खाएर बल्ल हामीले आफूलाई क्रान्तिकारी साबित गरेका छौँ। भोट परिवर्तनसमेत गर्न नसकेको पृष्ठभूमिमा अहिले जे भएको छ, यसलाई ‘क्रान्ति’ भन्नु सायद उपयुक्त नै हुन्छ।

पुराना राजनीतिक ‘नायक-नायिका’हरूलाई यतिविघ्न अनुदार र अकर्मण्य बनाउन अरू कसैको हात थिएन, हाम्रै हात थियो। हामीले नै उनीहरूलाई ‘देउता’ बनायौँ, तर हामीले स्थापना गरेका ती देउताहरू ढुङ्गाका मूर्ति जस्तै कठोर बनिरहे।

जनताका दुःखले उनीहरूलाई कहिल्यै छोएन। उनीहरूले चिथोरेका घाउहरू अझै आलै छन्। शक्ति आर्जन र त्यसको आडमा कुकृत्य गर्नु मात्र उनीहरूको सपना थियो । गर्नुपर्नेभन्दा नगर्नुपर्ने काम बढी भए ।

समयले आफैँ ल्याएको परिवर्तनलाई आफ्नो ‘योगदान’ सम्झेर फलाक्नु बाहेक उनीहरूले केही गरेनन्। कसैले ‘व्यवस्था त परिवर्तन गरे नि’ भन्नुहोला, तर त्यो परिवर्तन जनतालाई भन्दा बढी उनीहरूकै लागि फलदायी भएको त देख्नुभयो नि?

अभिभावकविहीन अवस्थामा रहेका आम नेपालीले बालेनलाई ‘हिरो’ बनाउन खोज्नुमा अनौठो मान्नुपर्ने केही छैन । दशकौँदेखि सत्ताको वरिपरि रहेका आसेपासेले बाहेक अरुले ‘यो राज्य हाम्रो पनि हो’ भनेर महसुस गर्न नपाएको झोक चुनावी मतमार्फत व्यक्त भएको मात्र हो ।

बालेन सक्षम भएकै कारण मात्र उसलाई जिताइएको होइन, बरु उनीमा सम्भावना बढी देखेर जनताले एउटा आँटिलो पाइला चालेका हुन् । भोलि बालेन असफल हुन सक्ने सम्भावना पनि रहला, तर यदि षड्यन्त्र भएन भने केही परिवर्तन चाहिँ अवश्य हुन्छ। जादु नै त नहोला, तर अब समाज यथास्थितिमा रहन सक्दैन, यो सत्य हो।

म हाल संसारमा कुनै समय राज गरेको देश पोर्चुगलमा बस्छु। पोर्चुगल युरोपेली मुलुकहरूमध्ये गरिब देशका रूपमा चिनिन्छ, तर यहाँ जे-जति विकास र पद्धति छ, त्यसको केही प्रतिशत मात्र नेपालमा भइदिएको भए हामी जस्ता लाखौँ पौरखी नेपालीले विदेसिनु पर्ने थिएन ।

श्रमको सम्मान गर्ने संस्कार, इमानदार नागरिक र कल्याणकारी राज्य संयन्त्र भयो भने नागरिकले कति सहज जीवनयापन गर्न पाउँछन् भन्ने कुरा यहाँ भोग्न पाइन्छ। राजनीतिप्रति जनताको अनावश्यक चासो नहुने वातावरण बनाउने एकमात्र उपाय रोजगारीको सिर्जना नै हो ।

नेपालका चतुर नेताहरूलाई यो कुरा राम्रोसँग थाहा छ, त्यसैले उनीहरू बेरोजगारीको समस्या समाधान गर्न चाहँदैनन्। मैले यहाँका चुनावहरू नजिकबाट देखेको छु— यहाँ कुनै तामझाम हुँदैन, किनकि राजनीति यहाँ प्रतिष्ठाको विषय होइन, नितान्त समाजसेवा हो।

जब आम मानिसले राजनीतिलाई जीविकोपार्जनको माध्यम बनाउँदैनन्, तब राजनीतिज्ञहरू यसरी मरिहत्ते गरेर लाग्ने थिएनन् होला ।

‘उत्पादन’ जीवनको पहिलो सर्त नबनुन्जेल देशले विकासको गति समात्छ भनेर सोच्नु पागलपन मात्र हो। सत्ताको आडमा कानुन हातमा लिँदै गलत बाटोबाट सम्पत्ति आर्जन गर्नु अहिलेसम्मको चलन बनेको छ। शिक्षक, पत्रकार, वकिल, व्यवसायी सबैले यही गलत बाटो रोजेका कारण अहिलेको विकराल अवस्था सिर्जना भएको हो ।

यसैको असरस्वरूप आम मानिसले पनि सुरक्षित हुन राजनीतिक दलको ओत लाग्नुपरेको छ। त्यसैले प्रणालीमा सुधार र कानुनको अक्षरसः पालना नै अबको नयाँ सत्ताको मुख्य कार्यभार हुनुपर्छ।

देखिने स्रोतसहितको आम्दानीबाट मात्र विलासी जीवन बाँच्न पाउने वातावरण तयार होस् भन्ने कामना गरेर जनताले मत दिएका हुन् । यो कुरा अबको नेतृत्वले बुझोस् । कसैले गैरकानुनी धम्कीबाट डराएर व्यवसायबाट पलायन हुन नपरोस् ।

धम्क्याएर बाँचिरहेकाहरू ओत खोज्न नेताका घर धाउने चलन बन्द होस्। बिचौलियाहरूको रजगज अन्त्य होस्। कसैले अनाहकमा गाली खानु नपरोस्। दोषीलाई कानुनी कारबाही होस्, तर विनादोष कसैलाई लाञ्छना लगाउनेलाई पनि कानुनले समातोस्। योग्यताको कदर होस् र अयोग्यले योग्यमाथि शासन गर्ने प्रणालीको अन्त्य होस्।

सरकारी कामकाजमा जाँदा विना झन्झट काम बन्छ भन्ने ग्यारेन्टी नभएसम्म जुनसुकै व्यक्ति वा व्यवस्था आए पनि जीवन सरल बन्दैन ।

‘घुस नखाई इन्जिनियरले योजना मूल्याङ्कन गर्दैन’ भन्ने भाष्यले अब बिदा पाउनुपर्छ। सञ्चारमाध्यमहरू राजनीतिबाट प्रभावित छैनन् भन्ने कुरा जनताले अनुभूति गर्न पाउनुपर्छ। लोकतन्त्रलाई विकृत बनाउने तत्त्वहरूलाई निस्तेज नपारेसम्म फराकिला सडक बन्दैमा देश विकसित भएको मानिँदैन। नागरिक सर्वोच्चता कुलीनहरूका लागि मात्र होइन भन्ने प्रत्याभूति भए मात्र सबै अटाउने देश बन्न सक्छ ।

आम नेपालीले समृद्धिका हजारौँ कल्पना गरेका छन्। पीडा लुकाएर बाँचेका निरीह दाजुभाइले जे अपेक्षा गरेका छन्, त्यो पूरा हुन समय लाग्ला, तर एउटा नयाँ बाटो कोरिएकोमा हामी खुसी हुनै पर्छ।

अवसरको खोजीमा विदेसिएका लाखौँ नेपालीले आफ्नै जन्मभूमिमा आफूले हासिल गरेको ज्ञान र सीप सदुपयोग गर्ने वातावरण बनोस्। भौतिक विकासभन्दा ठूलो प्रणालीगत सुधार गरेर समतामूलक समाज बनाउने महाअभियान नयाँ सत्ताले थालोस्। हामी आम नागरिकले पनि खबरदारी गर्न नछोडौँ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?