+
+

गण्डकीमा दादुरा रुबेला खोप अभियान फागुन १३ गतेदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १८:२५

१० फागुन, पोखरा । गण्डकी प्रदेशमा फागुन १३ गतेदेखि दादुरा-रुबेला खोप अभियान सुरु हुने भएको छ । मनाङ र मुस्ताङ जिल्ला बाहेक २ लाख ५३ हजार ३५ जना बालबालिकालाई दादुरा, रुबेला खोप दिने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहीबार जानकारी दिएको छ ।

सरकारले सन् २००४ देखि प्रत्येक ४-४ वर्षको अन्तरालमा यो अभियान सञ्चालन गर्दै आएको छ । यो वर्ष गण्डकीका हिमाली जिल्ला मनाङ र मुस्ताङबाहेकका ९ जिल्लामा उक्त खोप अभियान गर्न लागिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा हेमन्त शर्माले जानकारी दिए ।

डा शर्माका अनुसार ९ जिल्लामा ९ महिना पूरा गरेका र ५ वर्ष भित्र उमेर समूहका सबै बालबालिकाहरुलाई खोप लगाइने छ । नवलपरासी बर्दघाट सुस्ता पूर्वमा भने ९ महिनादेखि १५ वर्ष मूनिका बालबालिकाहरुलाई खोप दिँदै छ ।

प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी नवलपरासी पूर्वमा १ लाख २२ हजार बालबालिकालाई खोप लक्षित गरिएको छ भने सबैभन्दा कम म्याग्दीमा ६५०० बालबालिकालाई खोप लक्षित गरिएको छ ।

कास्कीमा ३४ हजार ९२५, लमजुङ ९ हजार ८१५, तनहुँ २० हजार ४८०, पर्वत ८ हजार ६११, बागलुङ २० हजार, गोरखा १४ हजार ७०४ र स्याङ्जामा १६ हजार जना बालबालिकालाई लक्षित गरिएको छ ।

यो अभियान अन्तगर्त प्रदेशका २८८९ वटा खोप सेसनबाट २ लाख ५३ हजार ३५ जना बालबालिकालाई खोप लगाउन २८८९ जना स्वास्थ्यकर्मी र ५७७८ स्वयंसेवक परिचालित हुँदै छन् ।

फागुन १३ बाट गण्डकीसँगै देशैभर सञ्चालन हुने यो खोप अभियान चैत ७ गतेसम्म सञ्चालन हुने छ । नेपाल सरकारले २०२६ सम्म नेपालबाट यो रोग निवारण गर्ने लक्ष्य राखेको छ ।

गण्डकीमा यो वर्ष तनहुँको शुक्लागण्डकीमा ३ जनालाई दादुरा देखिएपछि विशेष सावधानी अपनाइएको शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?