+
+

नवनियुक्त उपकुलपति बरालले सुनाए त्रिभुवन विश्वविद्यालय सुधार्ने ३ प्राथमिकता

‘राजनीतिक समन्वय र सहयोगविना विश्वविद्यालय सुधार्न सकिँदैन’

बराल भन्छन्– विश्वविद्यालयको सबैभन्दा डिस्टर्बिङ फ्याक्टर्स नै विभिन्न दलका भातृ संगठन छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८० फागुन ११ गते ९:२०

११ फागुन, पोखरा । देशकै प्रमुख विश्वविद्यालय कसरी सुधार्ने र कसरी यसको गुमेको साख फर्काउने भन्ने बहस सिर्जना भइरहेका बेला त्रिभुवन विश्वविद्याल (त्रिवि) मा उपकुलपति नियुक्त भएका छन्, प्रा.डा. केशरजंग बराल ।

राजनीतिक हस्तक्षेपमुक्त विश्वविद्यालय बनाउन प्रतिस्पर्धाबाट नेतृत्व छानिनुपर्ने प्राज्ञिक व्यक्तिहरुको दबाबकाबीच ४३ जनाबाट १४ जना, ३ जना हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उपकुलपतिमा बराल नियुक्त भएका छन् ।

विश्वविद्यालयलाई राजनीतिमुक्त गराउने, गुमेको साख फर्काउने, अनुसन्धान केन्द्रित शैक्षिक कार्यक्रम चलाउने, सम्बन्धन र बजेटलाई व्यवस्थित गर्ने काम नगरी सजिलै त्रिवि नसुध्रने प्राज्ञिक जगतले आवाज निकालिरहेका बेला बराल नेतृत्वमा आइपुगेका छन् ।

पाल्पामा जन्मिएर अहिले पोखरा घर भएका बरालले २०३९ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन सुरु गरेका थिए । त्यसपछि पोखराकै पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन थाले । पोखराबाटै भारत गएर विद्यावारिधी गरी फर्केका बरालले विभिन्न दातृ नियोगको वित्त क्षेत्रमा जागिर खाँदै फेरि त्रिवि सेवामै फर्किए  ।

२०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएर अनुभव लिएका बराल २०६८ मा कार्यक्रम पूरा गरेपछि फेरि त्रिविमै फर्किएर सेवा थालेका हुन् । प्रोफेसरकै रुपमा विभिन्न देशमा पुगेका बराल २०७७ मा निवृत्त भएपछि विश्वविद्यालय क्षेत्रकै विभिन्न आयोग र समितिमा बसेर विशेषज्ञका रुपमा काम गरिरहेका थिए । यही शिलशिलामा बराल त्रिभुवन विश्वविद्यालयको २० औं उपकुलपति हुन आइपुगेका छन् ।

विश्वविद्यालयका बेथिति सुधार्न कतिपय आन्तरिक व्यवस्थापन र कतिपय बाहिरी वातावरणबाट काम हुने बरालले बताए ।

प्रधानमन्त्री प्रचण्डले उपकुलपतिमा नियुक्त गर्दा बराल पोखरामै थिए । नियुक्ती पत्र ग्रहण गर्न काठमाडौं उड्नुअघि बराललाई चुनौतिमा चाङमा उभिएको त्रिभुवन विश्वविद्यालय सुधार्ने योजनाबारे सोधेका थियौं । राजनीतिले ग्रसित, शैक्षिक कार्यक्रम नै अस्तव्यस्त र विद्यार्थीबाटै साख गिरिरहेको त्रिविलाई सुधार्न उपकुलपति एक्लैले नसक्ने बरालले बताए ।

‘विश्वविद्यालय चुनौतिको चाङमा छ, यो सत्य कुरा हो । यो चुनौति समाधान गर्न एउटा भिसीले मात्रै गर्न सक्ने कुरा हुँदैन । सबै राजनीतिक दलको संयोजन र सहयोगविना सुधार्न सकिँदैन,’ बरालले अनलाइनखबरसँग भने, ‘किनभने विश्वविद्यालयको सबैभन्दा डिस्टर्बिङ फ्याक्टर्स नै विभिन्न दलका भातृ संगठन छन् । ती भातृ संगठनले टियुको पक्षमा शैक्षिक वातावरण बनाउनका निम्ति विभिन्न राजनीतिक दलहरुको सहयोगविना सम्भव छैन ।’

राजनीतिक दलहरुमा त्रिभुवन विद्यालयलाई एउटा राम्रो वातावरण बनाउँ र सुधारौं भन्ने भावना विकास नहुँदासम्म भिसी एक्लैले मात्रै सुधार्न सम्भव नभएको उनको निश्कर्ष छ । विश्वविद्यालयका बेथिति सुधार्न कतिपय आन्तरिक व्यवस्थापन र कतिपय बाहिरी वातावरणबाट काम हुने बरालले बताए ।

विश्वविद्यालयलाई गति दिन अहिलेसम्मका अनुभव लगाएर विश्वास गर्न लायक बनाउने बरालले बताए । विश्वविद्यालयमा शैक्षिक वातावरण बनाउन एक जना उपकुलपतिले धेरै गर्न नसक्ने तर सहकार्य र समन्वयनमा सुधारको रिजल्ट भने दिने उनको भनाइ थियो ।

‘शैक्षिक वातावरण उपकुलपतिलेमात्रै बनाउन सक्दैन । यसमा सरकार, विभिन्न राजनीतिक दलको पनि सहयोग चाहिन्छ,’ बरालले भने, ‘सधैंभरि सबैलाई शंकामात्रै गरेर हुँदैन, रिजल्टबाटै त्यो शंका हटाउने हो ।’

त्यसो हो भने चुनौतिको चाङबाट त्रिविलाई निकाल्न कहाँबाट सुरु हुन्छ त ? बरालले उपकुलपति भएसँगै सुरु गर्ने ३ वटा प्राथमिकता सुनाए । बरालले पहिलो प्राथमिकता शैक्षिक क्यालेन्डर बनाउने बताए ।

‘मेरो पहिलो प्राथमिकता के हो भने एकेडेमिक क्यालेन्डर बनाएर कार्यान्वयन गर्ने र शैक्षिक कार्यक्रमलाई ट्र्याकमा ल्याउने हुनेछ,’ बरालले भने, ‘विद्यार्थीले शैक्षिक क्यालेन्डर मागिरहेका छन्, त्यसको कार्यान्वयन भइराखेको छैन । जसका कारण समयमै शैक्षिक कार्यक्रम हुन सकिरहेका छैनन् ।’

बरालको दोस्रो प्राथमिकतामा परीक्षाको नतिजा समयमै निकाल्ने छ । परीक्षाको नतिजामा समयमै नआउँदा पनि विश्वविद्यालयप्रति धेरैको विश्वास घटेको उनको भनाइ छ । समयमै नतिजा प्रकाशन गर्न नसक्नुमा विभिन्न कारणहरु रहेको र त्यसको पुनर्संरचना गर्नुपर्ने बरालले बताए । केही संस्थागत विकास पनि गर्ने योजना बरालले सुनाए ।

बरालले तेस्रो प्राथमिकतामा पाठ्यक्रम सुधारलाई राखेका छन् । ‘त्रिभुवन विश्वविद्यालयमा मेरो तेस्रो प्राथमिकताको विषय पाठ्यक्रमको सुधार हो । धेरै वर्षसम्म पनि पाठ्यक्रम अध्यावधिक भइराखेको छैन,’ बरालले भने, ‘श्रम बजार र मागअनुसार पाठ्यक्रमलाई अध्यावधिक गर्नुपर्ने छ । यी ३ कुरा हुनेवित्तिकै विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्छ ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?