+
+

चितवनबाट १०५ जनाले लिए गैरआवासीय नेपाली नागरिकता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते ७:२४

११ फागुन, चितवन । चितवनबाट हालसम्म १७ जना महिलासहित १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालले दिएको जानकारी अनुसार गत कात्तिक १५ गतेदेखि हालसम्म १०५ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका हुन् ।

गैरआवासीय नेपाली नागरिकता लिनेमा अष्ट्रेलिया र अमेरिका गएकाहरु धेरै छन् । ढकालले दिएको जानकारी अनुसार गैरआवासीय नेपाली नागरिकता लिनेमा चितवन जिल्ला देशभरीका जिल्लामा शीर्ष पाँच जिल्ला भित्र पर्दछ । ‘कहिलेकाहिँ दिनमै ४५ जना नै गैरआवासीय नागरिकता लिनका लागि आउने गर्दछन्,’ प्रशासकीय अधिकृत ढकालले भने ।

सरकारले २०८० असोज ३० गतेदेखि गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिन थालेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत ३० असोजमा गैरआवासीय नेपाली संघका तत्कालीन अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्षहरु कुल आचार्य र बद्री केसीबाट गैरआवासीय नेपाली नागरिकता वितरण सुरु गरेका थिए । आचार्यको जिल्ला प्रशासन कार्यालय पर्वतबाट र केसीको काठमाडौंबाट नागरिकताको प्रमाणपत्र जारी भएको थियो ।

एनआरएन नागरिकता लिएपछि नेपालमा लगानी गर्न, व्यापार व्यवसाय गर्न र पैतृक सम्पत्ति उपभोग तथा बेचबिखन गर्न पाइन्छ ।

नागरिकता लिन के गर्नुपर्छ ?

गैरआवासीय नेपाली नागरिकता लिन जुन देशको नागरिक हो सोही देशको पासपोर्ट र नागरिकता लिएर आउने र नेपाली नागरिकता त्यागेको अनुसूची फारम ९ भर्नुपर्ने प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । एकाघरको तर विदेशी नागरिकता नलिएको ब्यक्तिले सनाखत, वडाबाट सनाखत गरेको व्यक्तिसँगको नाता प्रमाणित गरेर अनुसूची ८ (ग) को फारम भरेर जिल्ला प्रशासन कार्यालयमा आउनुपर्ने ढकालले बताए ।

गैरआवासीय नेपाली नागरिकता वितरण शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँग एनआरएनएका तत्कालीन अध्यक्षहरु कुल आचार्य र बद्री केसी ।

सबै कागजात पूरा गरेर आएको खण्डमा एकैदिनमा पनि नेपाली नागरिकता त्यागेर गैरआवासीय नेपाली नागरिकता लिन सकिने ढकालले जानकारी दिए । गैरआवासीय नागरिकता लिने व्यक्तिले प्रमुख जिल्ला अधिकारीको अगाडि उभिएर नेपालको संविधानप्रति पूर्ण वफादार रही गैरआवासीय नेपाली नागरिकको रुपमा कर्तव्य पालना गर्छु भन्ने आशयको सपथ खानुपर्ने प्रावधान छ ।

साथै, अनुसूची ८ (घ) अनुसारको संविधान र प्रचलित कानुनबमोजिम गैरआवासीय नेपाली नागरिकलाई प्राप्त अधिकारबाहेक अन्य कुनै पनि अधिकार उपयोग गर्ने छैन भन्ने प्रतिबद्धता पनि जनाउनुपर्ने प्रावधान रहेको प्रशासकीय अधिकृत ढकालले बताए ।

राहदानी बनाउनेहरु पनि बढे

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पासपोर्ट (राहदानी) बनाउन आवेदन दिनेहरुको संख्या पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको माघ महिनासम्म राहदानीका लागि आवेदन फारम भर्नेको संख्या १८ हजार ५७६ छ । अघिल्लो आर्थिक वर्ष यही अवधिभित्र पासपोर्ट लागि फारम भर्नेको सख्या ११ हजार ८०६ थियो ।

कार्यालयका अनुसार गत आर्थिक वर्षभरीमा २६ हजार ५६२ जनाले आवेदन दिएका थिए । त्यसअघि अघिल्लो आर्थिक वर्ष जम्मा १३ हजार ६५० जनाले आवदेन दिएका थिए । अघिल्लो आर्थिक बर्षको तुलनामा गत वर्ष झण्डै दोब्बर संख्याले राहदानीका लागि आवेदन भरेको देखिएको छ । चालु आर्थिक वर्ष ५ महिना बाँकी नै रहँदा यस्तो संख्या बढ्न सक्ने अनुमान जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुको छ ।

चालु आर्थिक वर्षको माघ महिनासम्म १७ हजारभन्दा बढी पासपोर्ट वितरण गरिसकेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?