+
+

सामाजिक सञ्जालले पठन संस्कृति ओझेलमा पार्दैछ : हरिवंश आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १७:१४

काठमाडौं । अभिनेता हरिवंश आचार्यले साहित्यबिना समाज बन्दै नबन्ने भएकाले साहित्य संस्कृतिको जगेर्ना गर्नु हरेक जनप्रतिनिधिको कर्तव्य भएको बताएका छन् । बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सव-२०८० को उद्घाटन मन्तव्य दिने क्रममा आचार्यले उक्त विचार व्यक्त गरे ।

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको दुईदिने महोत्सवमा पठन संस्कृतिबारे बोल्दै उनले भने, ‘हिजोआज साहित्य र पठन संस्कृतिलाई सामाजिक सञ्जालले ओझेलमा पार्दै लगेको छ । पठन संस्कृतिको जगेर्ना गर्न भावी पुस्तामा किताब संस्कृतिको महत्व बुझाउनुपर्ने आवश्यकता छ ।’

स्थानीय जनप्रतिनिधिबाट पठन संस्कृति बिस्तारका लागि देशका विभिन्न क्षेत्रका साहित्यकारलाई जुटाएर बुढानीलकण्ठ नगरपालिकाले सांस्कृतिक सद्भाव झल्किने आयोजना गरेको प्रयासको उनले प्रशंसा गरे ।

कुनै पनि कला र कलाकार साहित्यभन्दा पर रहन नसक्ने भन्दै आफू र मदनकृष्ण श्रेष्ठको काम पनि सधैं साहित्यकै नजिक रहेको बताउँदै उनले भने, ‘हामी पनि नपत्याउँदो किसिमले साहित्यिक सेवक हौं । हामीले जानेको काम पनि यही हो ।’ शुक्रबार र शनिबार चल्ने दुईदिने महोत्सवमा कलाकार आचार्यले लेखक झमक घिमिरेलाई सम्मान प्रदान गरे ।

स्थानीय विषय, पहिचान र प्रतिनिधित्वलाई केन्द्रमा राखिएको महोत्सवको उद्घाटन समारोहमा ७० जना जनप्रतिनिधि सहभागी थिए । स्थानीय सांस्कृतिक झाँकी गाजाबाजाबाट सुरू भएको महोत्सवमा दर्जनौं राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि लेखक र विज्ञको उपस्थिति रहने बताइएको छ ।

महोत्सवमा डा. भगवान कोइराला, मल्ल के सुन्दरदेखि लक्ष्मी बर्देवा, बुद्धि तामाङ र सुविन भट्टराई वक्ताका रुपमा सहभागी हुँदैछन् । महोत्सवमा ‘आहा बुढानीलकण्ठ’ र ‘बुढानीलकण्ठ महफिल’जस्ता नगरपालिका विशेष सत्र पनि समावेश छन् ।

स्थानीय पहिचानका कुरा उठाउने र जगेर्ना गर्ने हेतुले महोत्सवमा म्ह फुलारु, सेवारो, भुइँजसी, फल्चा व चिनाखँ, चुनिख्यँ, नांगसाल, म्हेन्दोजस्ता मौलिक शीर्षकका सत्र पनि छन् । दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिर परिसरमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?